धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले पनि मुख्य बजार क्षेत्रमा सडक अधिकार क्षेत्रभित्र पर्ने भौतिक संरचना भत्काउन सुरु गरेको छ ।
उपमहानगरपालिकाले सडक फराकिलो बनाउन सडक अधिकार क्षेत्रभित्र पर्ने भौतिक संरचना हटाउन सुरु गरेको हो । उपमहानगरपालिकाले वडा नं.–१ स्थित सेती प्रादेशिक अस्पतालको कोभिड प्रयोगशाला रहेको भवनको बुधबार पर्खाल भत्काएर भौतिक संरचना हटाउने काम सुरु गरेको छ ।
सडक अधिकार क्षेत्रभित्र पर्ने संरचना हटाउने अभियान सुरु भएकोे उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले बताए ।
उनले भने, ‘सुरुवातमा सरकारी र सार्वजनिक संरचना भत्काउने काम अघि बढेको छ ।’
‘सडक अधिकार क्षेत्रभित्र पर्ने भौतिक संरचना भत्काउने अभियान सुरु भयो’, हमालले भने, ‘यो अभियान निरन्तर चल्छ, रोकिँदैन ।’
क्रमिक रुपमा सडक अधिकार क्षेत्रभित्र पर्ने सबै भौतिक संरचना हटाइने नगरप्रमुख हमालको भनाइ छ । उपमहानगरपालिकाले वडा नं. १ को कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक हुलाकी सडकसम्मको मुख्य सडकको केन्द्रदेखि दायाँबायाँ १५–१५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने संरचना हटाउन थालेको हो ।
उपमहानगरपालिकाले सो मुख्य सडकका भत्किने भौतिक संरचनाको लगत संकलन गर्ने काम पनि सुरु जनाइएको छ । सडक फराकिलो पार्नका लागि सडक अधिकार क्षेत्रभित्र परेर भत्किन लागेका घरका घरधनी र उपमहानगरका प्राविधिकहरुको वार्ता टोली गठन पनि गरिएको नगरप्रमुख हमालले बताए ।
उपमहानगरपालिकाले सडक अधिकार क्षेत्रभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउन यसअघि सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो ।
उपमहानगरपालिकालले मुख्य सडकलाई चौडा पारी नयाँ निर्माण गर्न भन्दैे सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५–१५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने घर, टहरा तथा अन्य संरचना असोजमसान्त भित्र हटाउन सम्बन्धित घर तथा जग्गा धनीलाई अनुरोध गरेको थियो ।
तोकेको समयभित्र कुनै पनि संरचना नहटाइएकाले उपमहानगरपालिकाले आफै भत्काउन सुरु गरेको जनाइएको छ ।
कैलाली
प्रतिक्रिया