काठमाडौं । भारतले सडक निर्माणका क्रममा गराइएको विस्फोटबाट दार्चुलाका एक बालकको मृत्यु भएको घटना गल्ती भएको स्वीकार गरेको छ । भारतीय पक्षले सडक निर्माणका क्रममा विस्फोट गराउँदा दार्चुलामा नेपाली बालक पवन महराको मृत्यु भएको घटना गल्ती भएको भारतले स्वीकार गरेको हो । पीडित परिवारसँगको छलफलका क्रममा शनिबार भारतीय पक्षले गल्ती स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए । उनले भने, ‘अहिले हामी छलफलमै छौँ, भारतीय कम्पनीले गल्ती स्वीकार गरेको छ । अरु बालबच्चालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने भनेका छन्, पीडित परिवारले भने उचित क्षतिपूर्ति माग गरेका छन् ।’
विस्फोट गराउने निजी कम्पनी भएकाले आफूहरुलाई रोजगारीभन्दा पनि उचित क्षतिपूर्ति दिइनुपर्ने पीडित परिवारको माग रहेको उनले बताए । महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रबार विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय पवन महराको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बिनासूचना विस्फोट गराउँदा दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत पवनको मृत्यु भएको हो । ढुंगा लागेर हिक्मतकी १४ वर्षीया छोरी सरिना घाइते भएकी छन् । खुट्टामा चोट लागेकी उनको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ । व्यास–२ का वडाध्यक्ष धिरेनसिंह बुढाथोकीले बिहान साढे ९ बजेतिर तम्बाकुनजिक थीबाट फर्कने क्रममा पारिबाट आएको ढुंगा लागेर पवनको ज्यान गएको बताए ।
उनका अनुसार भारतीय पक्षले जानकारी नदिई विस्फोट गराएकाले उक्त घटना भएको हो । टाउकोमा गम्भीर चोट लागेका पवनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले बताए । उनको शव पोस्टमार्टमका लागि शुक्रबार साँझै जिल्ला अस्पताल खलंगा पु¥याइएको छ ।
अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एकअर्कालाई असर पु¥याउने काम गर्न पाउँदैनन् । विस्फोट गराउनैपर्ने भए विस्फोट अवधिभर प्रभावित क्षेत्रमा मानिसलाई आवतजावतमा रोक लगाउनुपर्छ । त्यसका लागि एकअर्का देशका प्रशासनबीच समन्वय हुनुपर्छ तर शुक्रबार भारतीय पक्षले विस्फोट गराउनुअघि त्यस क्षेत्रका बासिन्दालाई सूचना नै दिएन ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीर्घराज उपाध्यायले विस्फोटअघि भारतीय पक्षले सूचना प्रवाह नगरेकै कारण बाटोमा हिँडिरहेका बालकले ज्यान गुमाउनुपरेको बताए ।
प्रधानमन्त्री मौनता कहिलेसम्म ? : ओली
पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय पक्षबाट नेपालीको हत्या भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले मौनता साँधेको आरोप लगाएका छन् । नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा दार्चुला व्यास गाउँपालिका–२ का बालक पवन महराको मृत्यु हुँदासमेत प्रधानमन्त्री देउवा मौन बसेको ओलीको आरोप छ ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले बालक महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी भएको भन्दै घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । सडक विस्तार गर्नेक्रममा विस्फोट गराउँदा ढुंगाले लागेर महराको निधन भएको छ भने १४ वर्षीया बालिका सरिना महरासहित घाइते भएका छन् ।
प्रतिक्रिया