पाँचथर । फिदिममा ‘६७औँ प्रहरी दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । सो दिवसको अवसरमा आज जिल्ला प्रहरी कार्यालय पाँचथरको आयोजनामा डिएसपी हरि खतिवडाको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी गणेश गैरेको प्रमुख आतिथ्यमा विभिन्न जग्गा दाता, शहिद परिवार, प्रहरी कर्मचारी सञ्चारकर्मी समाजसेवीलगायतलाई सम्मान, तथा पुरस्कार वितरण गरि मनाइएको हो ।
सो समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्ला न्यायधिवक्ता, पूर्व प्रहरी संगठनका पदाधिकारीहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा अमर प्रहरी स्मारकमा प्रमुख अतिथिलगायत उपस्थित सम्पूर्णबाट शहिदहरुलाई पुष्पहार अर्पण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सिडिओ गणेश गैरेबाट अमर प्रहरी परिवारका सदस्यहरु, जिल्ला प्रहरी कार्यालय पाँचथर तथा मातहत प्रहरी कार्यालयहरुका लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाता, प्रहरी कार्यमा सहयोगी व्यक्ति, संघ संस्थालगायतलाई दोसल्ला ओढाएर सम्मान तथा प्रशंसा पत्र प्रदान गरेका थिए ।
साथै, कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरुमा कार्यरतमध्ये उत्कृष्ट कार्यसम्पादन गर्नेहरुलाई कौशिला देवी घिमिरे स्मृति उत्कृष्ट प्रहरी पुरस्कार तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो ।
प्रहरी दिवसकै अवसरमा सञ्चालित ब्याडमिन्टन तथा टेबलटेनिस खेलकुद प्रतियोगिताका बिजेता एवं उप बिजेता खेलाडीहरु समेतलाई पुरस्कृत गरिएको थियो ।
प्रहरी दिवसकै अवसर पारी यसअघि विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु समेतबाट सार्वजनिक स्थानको सरसफाई, सार्वजनिक स्थानमा सचेतनामूलक श्रव्यदृश्य सामग्रीको प्रदर्शनी, वृक्षरोपण, रक्तदानलगायतका कार्यक्रमहरु गरी दिवस सम्पन्न गरिएको थियो ।
प्रतिक्रिया