धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानको कार्यान्वयन गर्ने कुरा महत्वपूर्ण भएको बताए । उनले संविधानले परिकल्पना गरेका कुराहरुलाई कार्यान्वयन गरेर सम्पूर्ण नागरिकहरुको चाहना अनुसार काम गर्दै जाने कुरा महत्वपूर्ण भएको बताए । सोमबार सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा आयोजना गरेको संविधान दिवस २०७९ मूल समारोह कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री भट्टले भने ‘संविधानमा उल्लेखित राष्ट्रियता, गणतन्त्र, सुशासन, संघीयता, मौलिक हकहरुलगायतको पूर्णरुपमा कार्यान्वयन गर्नु नै हामी सबैको जिम्मेवारी हो ।’
उनले भने ‘यो जिम्मेवारीलाई साझारुपबाट अगाडि बढायौँ भने हामी सफल हुन्छौँ,नेपालको गणतन्त्र,संविधान सफल हुन्छ,नेपालको गणतन्त्र संविधान सफल हुनु भनेको आम नेपाली जनता सफल हुनु हो’ । ‘संविधानको पूर्णरुपमा कार्यान्वयनका लागि अझ बढी मेहनत गर्नुपर्ने,साझा भावना अगाडि सार्नुपर्ने, एकचोटी फेरि राष्ट्रिय एकता देखाउनु पर्ने आवश्यता छ’ मुख्यमन्त्री भट्टले भने । उनले भने ‘हाम्रो संविधानको मुलमर्म भनेको संघीय लोकतान्त्रिक गणतन्त्र हो, मूल मेरुदण्ड भनेको प्रदेश हो र प्रदेशलाई जति सक्षम बनाउन सकियो त्यति नै यो संविधानको कार्यान्वयनमा अगाडि बढ्न सकिन्छ, संविधानमा लेखेका कुराहरुलाई अगाडि बढाउन सकिन्छ ।’
नेपालको संविधान धेरै उत्कृष्ट संविधान रहेको उनले जिकिर गरे । संविधान जारी गर्दा अधिकतम सहमती,एकता र जनताले चुनेका प्रतिनिधिहरुले आफ्नो मेहनत गरेर संविधान जारी गरिएकाले उत्कृष्ट संविधान रहेको मुख्यमन्त्री भट्टले बताए । उनले नेपालको संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र,धर्म निरपेक्षता,समानुपातिक समावेशिता, मौलिक अधिकार, राष्ट्रियतालगायतका कुराहरु उल्लेख भएको बताए । कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी, सभामुख, उपसभामुख प्रदेशका मन्त्रीलगायतको उपस्थिति रहेको थियो ।
कैलाली
प्रतिक्रिया