मुख्यमन्त्री भट्ट डोटीबाट प्रतिनिधिसभाकाे लागि सर्वसम्मत सिफारिस

धनगढी । आसन्न निर्वाचनका लागि नेकपा ‘माओवादी केन्द्र’का पोलिटब्यूरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति डोटीको बैठकले मुख्यमन्त्री भट्टलाई सर्वसम्मत सिफारिस गरेको हो ।

जिल्लाबाट प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ त्रिलोचन भट्ट,डम्बर घर्तिमगर, जंग विक ‘शैलेन्द्र’,जगत सोव र अञ्जिता श्रेष्ठको नाम सिफारिस गरी प्रदेश कमिटीमा पठाइएको (माओवादी केन्द्र) डोटीका संयोजक कमलबहादुर गड्सिलाले जानकारी दिए । डोटीमा एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । मुख्यमन्त्री भट्ट २०७४ को निर्वाचनमा डोटी (ख) बाट प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएका हुन् । अहिले उनलाई माओवादी केन्द्र डोटीले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक दुबै तर्फ उम्मेदवारका लागि सिफारिस गरेकोमो प्रत्यक्षतर्फ भने सर्वसम्मत सिफारिस भएका छन् ।

दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रदेश सभा (क) का लागि प्रत्यक्षतर्फ भरत बोहरा,रमेश नागरी र बल बहादुर ओली तथा (ख) का लागि शिवसिंह ओली, मीनबहादुर घर्तीमगर र प्रेम कँुवरको नाम सिफारिस गरिएको (माओवादी केन्द्र) डोटीले जनाएको छ ।

समानुपातिकतर्फ प्रदेश सभा (क)बाट गीता सोव नेपाली, पूर्णराज जोशी र कृष्ण विक तथा प्रदेश सभा (ख)बाट सिद्धराज विक विश्वप्रकाश, प्रेमा ओली, नन्दलाल विक, दिलीप कठायत, लक्ष्मणलाल योगी, चन्द्रा भूल, कर्ण नेपाली, शान्ति चुनारा र शारदा विक सिफारिस गरिएको जनाइएको छ ।

प्रतिक्रिया