प्रगतिशील स्रष्टामा वैचारिक स्पष्टताको अभाव छ

डा. धनप्रसाद सुवेदी

माक्र्सवादी चिन्तक डा. धनप्रसाद सुवेदी अखिल नेपाल लेखक संघका केन्द्रीय अध्यक्ष हुन । नेपालको प्रगतिवादी/प्रगतिशील सांस्कृतिक आन्दोलनमा तीन दशकदेखि सक्रिय सुवेदीसँग यसै विषयमा केन्द्रित रहेर सौर्य दैनिकका लागि देवेन्द्र थुम्केलीले गरेको संवाद :

नेपाली साहित्यको अवस्था कस्तो छ ?

अहिलेको नेपाली साहित्यमा बजारको जबर्जस्त प्रभाव देखिन्छ । बजारमा के बिकाउन सकिन्छ भन्ने कुरामा प्रकाशकहरूको मुख्य ध्यान छ, साहित्यकार पनि त्यतैतिर लहसिन लागेका छन् । यो अहिलेको एउटा मुख्य पाटो हो । हतार हतार लेख्ने, प्रकाशनमा लगिहाल्ने र राताराता साहित्यकार बन्ने, चर्चा बटुल्ने र त्यसैलाई भर्याङ बनाएर अरु फाइदा लिनेहरूको वर्चस्व छ । फुर्सदमा रहेकाहरूले आत्मतुष्टिका लागि लेख्नेहरू पनि छन्, ती जहिलेसुकै हुन्छन् । गम्भीर ढङ्गमा साहित्य साधना गर्ने र साहित्यको गरिमा र गहनतालाई आत्मसात् गर्ने तरिकाले साहित्य लेख्नेहरू पनि नभएका होइनन् तर कम छन् । आजको विश्व व्यवस्था, उत्पादन प्रणाली, प्रविधिको विकासले पारेको प्रभावका कारण पनि साहित्यमा गहनता र गुरुताभन्दा टापटिपेपन र तत्कालको फाइदातर्फ साहित्यकारको ध्यान खिचिएको देखिन्छ ।

नेपालमा फरक फरक धार र प्रवृत्तिका लेखन देखिए पनि नेपाली मानक निर्माण गर्ने साहित्यको कमी नै हो त ?

हो, नेपाली लेखनमा फरक फरक धार र प्रवृत्ति पाइन्छ । खासगरी नेपाली साहित्यमा ३ ओटा धार छन्, संस्कृत साहित्य परम्पराबाट आएको धार, पश्चिमा फेरोलाई समातेर अन्तर्राष्ट्रिय एवम् अत्याधुनिक साहित्यकार बन्न खोज्ने धार र नेपाली मौलिकताको खोजी गरी नेपालीत्व वा तपाईंको प्रश्नमा भनेजस्तै नेपाली मानकको निर्माण गर्न खोज्ने धार । यी तीन धारमध्ये अघिल्ला दुई धार सत्तासीन धार हुन्, राजनीतिक व्यवस्थामा सत्तापक्ष र प्रमुख प्रतिपक्ष जस्तै यी दुई धार आलोपालो सत्तामा पुग्छन् । नेपाली मौलिकता वा मानक स्थापना गर्न चाहने धारको अवस्था भने मुख्य पार्टीसँग गठबन्धनमा जोडिन आउने तेस्रो पार्टीको अवस्था जस्तै छ ।

जसरी नेपालको राजनीति, नेपाली नेता स्वनिर्णयमा चल्न सक्तैनन् वा खोज्दैनन्, हामी आफैँ आफ्नै खुट्टामा हिँड्न सक्छौँ भन्ने उनीहरूमा विश्वास छैन । नेपाली साहित्यको जग पनि ठिक त्यस्तै छ । कि त पूर्वमा यस्तो छ, कि त पश्चिममा यस्तो छ भन्दै तीमध्ये कुनै एकलाई टेकेर आफ्नो कुरा भन्ने प्रवृत्ति छ । हाम्रो भूगोल, समाज, परम्परा, लोकसाहित्य, आर्थिक प्रणाली आदिको वैज्ञानिक अध्ययन, विश्लेषण गरेर त्यसको जगमा साहित्यको मूल्य, सौन्दर्यको खोजी गर्ने, त्यसकै जगमा साहित्य सिर्जना गर्नेतिर हाम्रो ध्यान जान सकेको छैन

जसरी नेपालको राजनीति, नेपाली नेता स्वनिर्णयमा चल्न सक्तैनन् वा खोज्दैनन्, हामी आफैँ आफ्नै खुट्टामा हिँड्न सक्छौँ भन्ने उनीहरूमा विश्वास छैन । नेपाली साहित्यको जग पनि ठिक त्यस्तै छ । कि त पूर्वमा यस्तो छ, कि त पश्चिममा यस्तो छ भन्दै तीमध्ये कुनै एकलाई टेकेर आफ्नो कुरा भन्ने प्रवृत्ति छ । हाम्रो भूगोल, समाज, परम्परा, लोकसाहित्य, आर्थिक प्रणाली आदिको वैज्ञानिक अध्ययन, विश्लेषण गरेर त्यसको जगमा साहित्यको मूल्य, सौन्दर्यको खोजी गर्ने, त्यसकै जगमा साहित्य सिर्जना गर्नेतिर हाम्रो ध्यान जान सकेको छैन ।

नेपाली कवितामा एकथरी संस्कृतका छन्दका पछि लागेका छन्, अर्काथरी मुक्तलयमा छन् अनि अर्काथरी कोही गजलमा छन् । नयाँ प्रयोग गर्न खोज्नेहरू जापानी हाइकुको फेरो समातेर शीत, साइनो आदि केके भनेर कति न मौलिकताको खोजी गरेको ढ्वाङ फुकेका छन् । जोसमनी सन्त समुदायले लहरी काव्य लेखे, लक्ष्मीप्रसाद देवकोटाले झ्याउरेमा मुनामदन लेखेबाहेक नेपाली लोकछन्दमा कविता लेख्नेतिर कसैको ध्यान गएन । पछिल्लो समयमा जातीय पहिचानको स्वर चर्को छ तर कुन चाहिँ पहिचानवादी कविले आफ्नो जातीय छन्दमा कविता लेखेको छ ? मुन्दुमको लयमा कविता लेख्न सकिँदैन ? सेलोको लयमा खण्डकाव्य, महाकाव्य कसैले लेखेको छ ? संस्कृतका ‘यमाताराजभानसलगा’ को सूत्र घोकेर कनीकुथी कविता लेख्न तम्सिनेहरूले राजमती, देउडा, सँगिनी, साकेला जस्ता नेपाली लोकछन्दमा कविता, काव्यहरू लेखेको खै ? रामायण, महाभारतका कथा, पात्रको पुनसिर्जन गरेर कथा, उपन्यास, नाटकहरू लेख्न तम्सिनेहरू अहिले पनि उत्तिकै छन् तर तिनीहरूको ध्यान हाम्रो लोककथा, मिथक, इतिहास आदिका कथा, पात्रहरूतर्फ जाँदैन । हामीमा रहेको यही परजीवी र दास मानसिकताले गर्दा तपाईंले भनेको नेपाली मानक निर्माणको जग अत्यन्त कमजोर छ । धन्न, जनयुद्धले सिर्जना गरेको चेतनाको जगमा पछिल्लो समयमा नेपाली मौलिकताको खोजी गर्ने काम भएको छ । यसलाई अँध्यारोको जुनकिरी भन्न सकिन्छ ।

यहाँ लामो समयदेखि प्रगतिशील साहित्यमा सक्रिय हुनुहुन्छ । यसको अवस्थालाई कसरी नियाल्नु भएको छ ?

अधिकांश नेपाली साहित्यकारहरू आफूलाई प्रगतिशील अझ कम्युनिस्ट भन्छन् । आफूलाई प्रजातान्त्रिक भन्न रुचाउने साहित्यकारहरू पनि पटक पटकका राजनीतिक परिवर्तनको आन्दोलनमा संलग्न रहँदै आएका छन् । यसले गर्दा नेपालमा प्रगतिशील साहित्यको अवस्था नराम्रो छैन । तर नेपाली साहित्यको जग भने मूलतः शास्त्रीय, धार्मिक, पौराणिक, भाग्यवादी र अरूको अनुकरणमा आधारित छ । नेपालको कम्युनिस्ट आन्दोलन झन्डा र नारामा प्रगतिशील तर वास्तविकतामा भने मूलतः यथास्थितिवादी र अझ कतिपय सन्दर्भमा त भाग्यवादी, सामन्ती र वर्तमान सन्दर्भमा दलाल पुँजीवादी, उपभोक्तावादी छ भने आफूलाई सच्चा कम्युनिस्ट भन्नेहरू गुटगत सङ्कीर्णता, यान्त्रिकता र कम्युनिस्ट विचारलाई व्यवहारमा उतार्ने नभएर ‘रामनाम’ जस्तै जप्ने कामलाई सच्चा कम्युनिस्ट ठानिरहेका छन् । यसको प्रभाव नेपालको प्रगतिशील साहित्यमा स्पष्ट देखिन्छ ।

प्रगतिशील आन्दोलनमा लागेका स्रष्टाहरूमा वैचारिक स्पष्टताको अभाव छ । एकथरी स्रष्टाहरू अन्तर्वस्तुमा जोड दिने नाममा नारा लेखनमा छन्, अर्काथरी कलामा जोड दिने नाममा रूपको जालोमा अल्झिएका छन्, प्रयोगमै हराएका छन् । नेपाली प्रगतिशील साहित्यको अर्को समस्या वैचारिक अडानमा नअडिनु र वैचारि विचलनको हो । सुरुमा खरो प्रगतिवादी देखिएका स्रष्टाहरूमा केही समयपछि नै विचलन देखिन्छ । आफूलाई प्रगतिशील भन्ने, कम्युनिस्ट नामका पार्टीको नेता बन्ने तर लेखनमा र व्यवहारमा भने यथास्थितिवादी हुने अवस्थाले गर्दा नेपाली प्रगतिशील साहित्यको अवस्था अपेक्षित रूपमा सन्तोषजनक छैन ।

कतिपयले यसलाई नेपालको मूलधारको भनेर दावी गरिरहँदा प्रभावकारी हस्तक्षेप त देखिएको छैन नि !

नेपाली साहित्यको मूल प्रवृत्ति यथार्थवादी साहित्य लेखन हो र प्रगतिशील लेखनको जग पनि यथार्थवादी लेखन नै हो । यसरी हेर्दा प्रगतिशील साहित्यलाई नेपाली साहित्यको मूलधार भनेर दावी गर्नु ठिकै हो । माथि जस्तै नेपालमा वाम र प्रजातान्त्रिक राजनीतिक विचारका मानिसहरूको बाहुल्य छ । सामन्ती व्यवस्थाको अवशेष अझै बाँकी रहेको र पुँजीवादको विकृत रूपको बोलवाला रहेको हाम्रो अवस्थामा समाजवादी विचार भनेको उन्नत प्रकारको प्रगतिशीलता हो । त्यसमाथि आफूलाई कम्युनिस्ट भन्न रुचाउनेहरू सिद्धान्ततः समाजवादी यथार्थवादी हुन्, अर्को शब्दमा भन्नुपर्दा प्रगतिवादी हुन् । यसरी हेर्दा नेपाली साहित्यको मूलधार प्रगतिशीलता हो भन्नु अत्युक्ति होइन । तर सतहमा हेर्दा यस्तो देखिए पनि वास्तविकता भने फरक छ ।

लेखक तथा सांस्कृतिक कर्मी चेतनाका वाहक हुन्, बजारिया माल होइनन् । अबको हाम्रो बाटो समाजवादको बाटो हो । त्यसैले समाजको सबैभन्दा सचेत वर्ग लेखक, कलाकारलाई बजारिया मालका बन्ने छुट हुँदैन

आर्थिक प्रणालीले चेतनाको निर्माण गर्छ अर्थात् आर्थिक उत्पादन प्रणालीकै जगमा साहित्य, कला, संस्कृतिको निर्माण हुन्छ । नेपाल लामो समय सामन्ती उत्पादन प्रणालीबाट गुज्रियो । नेपाल अझै पनि पूर्ण रूपमा स्वतन्त्र र सार्वभौम बन्न सकेको छैन । गणतन्त्रको स्थापनासँगै सामन्तवादको मूल जग भत्किए पनि हाम्रा संस्कार, चिन्तन, व्यवहारमा सामन्तवाद अझै जीवितै छ । विश्वव्यापीकरण, प्रविधिको अत्याधुनिक विकास, वित्तीय पुँजीवादको दबदबा, रातारात धनी हुने र मोजमस्तीमा रमाउने लोभ आजको यथार्थ हो । यस सामु हाम्रो बोक्रे प्रगतिशीलता कति टिक्न सक्छ ? यो गम्भीर प्रश्न हो । यही प्रश्नको सेरोफेरोबाट हामीले नेपालको प्रगतिशील साहित्यको अवस्था र यसले गर्न सक्ने प्रभावकारी हस्तक्षेपको विषयलाई मनन गर्नुपर्ने हुन्छ ।

पछिल्लो समय कविता र समालोचनामा बाहेक देखिने गरी प्रगतिशील वा प्रगतिवादी साहित्यको प्रभाव कमै देखिन्छ त ?

तपाईले भने जस्तै पछिल्लो समयमा प्रगतिशील साहित्यमा अलिक सशक्त रहेको विधा कविता हो । समालोचना पनि सन्तोषजनक नै छ भन्न सकिन्छ । तपाईंको प्रश्नको आशय पछिल्लो समयका आख्यान, नाटक, निबन्धहरूमा प्रगतिशीलताको पक्ष कमजोर भयो भन्ने होला सायद । तर मलाई भने ठ्याक्कै त्यस्तो लाग्दैन । पछिल्लो समयमा प्रगतिशील फाँटमा मात्र नभएर समग्र साहित्यमै नाटक लेखनको अवस्था उत्साहजनक छैन । निबन्धात्मक विधाको क्षेत्र फरकालिो भएको छ । आज निबन्ध मात्र भनेर पुग्दैन, आख्यानेतर गद्य भन्नु उचित हुन्छ । संस्मरण, नियात्रा, आत्मकथा जस्ता आख्यानेतर विधाको बढोत्तरी छ । यसमा प्रगतिशील फाँट पनि कमजोर छैन । तर पछिल्लो समयमा आख्यानमा एकप्रकारको बाढी आएको छ, यसमा चाहिँ प्रगतिशील फाँट अलिक सुस्त देखिएको छ ।

अहिलेको आख्यान कि त खोजमूलक बन्दै छ, कि त नयाँ र राम्रो बनाउने नाममा प्रयोगको दलदलमा भासिएको छ । स्वैरकल्पना, जादुदरी यथार्थ जस्ता प्रविधिको प्रयोग गरेर लोकप्रिय हुने लोभले प्रगतिवादी खेमामा कतिपय आख्यानकारहरू नराम्रोसँग असफल भएका छन् ।

साथै नेपालको प्रगतिवादी/प्रगतिशील साहित्य क्रमशः भुत्ते बन्दै गइरहेको मान्न सकिन्छ ?

प्रगतिवादी साहित्य माक्र्सवादी साहित्य हो । माक्र्सवादी राजनीतिक आन्दोलन जति सशक्त बन्छ, प्रगतिवादी साहित्य पनि त्यति नै सशक्त बन्छ । अहिले नेपालमा माक्र्सवादी राजनीति अलिक अल्मलिएको अवस्थामा छ, त्यसको प्रभाव नेपाली प्रगतिवादी लेखनमा पनि परेको छ । नेपालका कम्युनिस्टहरू कम्युनिस्ट जस्ता नभएर अरू नै केही जस्ता भएकाले नेपालको प्रगतिवादी साहित्य पनि प्रगतिवादी नभएर अरू नै केही जस्तो भएको छ । त्यसैले यो भुत्ते हुँदै गइरहेको छ । तर यो साँध लगाउनै नमिल्नेगरी भुत्ते भएको भने होइन, साँध लगाएर धारिलो बनाउने ठाउँ भने जति पनि छ ।

किन यसप्रति रुचि कम हुँदै गइरहेको छ ?

मैले माथि नै भनेँ प्रगतिवादी साहित्य माक्र्सवादी साहित्य हो । त्यसैले यसको सम्बन्ध माक्र्सवादी दर्शनमा आधारित आर्थिक प्रणाली, राजनीति, संस्कृति आदिसँग हुन्छ । पछिल्लो समयमा नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको विचलन, अकर्मण्यता, सिद्धान्तहीनता, नेतृत्वमा हावी हुँदै गएको व्यक्तिवाद, परिवारवाद, उपभोक्तावाद आदिबाट जनतामा, स्रष्टामा कम्युनिस्ट विचार, नीतिप्रति वितृष्णा जन्मिँदै गएको छ । यसको प्रभाव लेखनमा पनि पर्ने नै भयो ।

हामीमा रहेको यही परजीवी र दास मानसिकताले गर्दा तपाईंले भनेको नेपाली मानक निर्माणको जग अत्यन्त कमजोर छ । धन्न, जनयुद्धले सिर्जना गरेको चेतनाको जगमा पछिल्लो समयमा नेपाली मौलिकताको खोजी गर्ने काम भएको छ । यसलाई अँध्यारोको जुनकिरी भन्न सकिन्छ

पुँजीवादी, उत्तरआधुनिकता, उपभोक्तावादी प्रवृत्तिको हावाहुरीले हामीलाई पनि उडाउन थालेको छ, हाम्रा लेखक पनि त्यसबाट प्रभावित नहुने कुरै भएन । आज सेलिब्रेटीको जमाना छ, बजारले कसैलाई रातारात लेखक बनाइदिन सक्छ । पुँजीवादी बजारका बिक्न सक्ने लेखक दिन दोगुना, रात चौगुना मालामाल हुन सक्छ । यस्तो अवस्थामा मालामालको माल बन्न छाडेर प्रगतिशीलतार्फको रुचि घट्नु अस्वाभाविक होइन ।

समाज रूपान्तरणमा संस्कृतिकर्मीको भूमिका विशिष्ट हुनुपर्नेमा केबल भजनमण्डली बन्नेमै सीमित भइरहेको छ नि !

हो, सामाजिक रूपान्तरणमा संस्कृतिकर्मीको महत्त्वपूर्ण भूमिका हुन्छ । संस्कृतिकर्मीको मुख्य दायित्व पनि त्यही हो । यो कुरा बुझ्ने र आत्मसात् गर्ने सांस्कृतिक कर्मी, लेखकहरू भजनमण्डलीतिर लाग्दैनन् । अब दायित्वबोध नगर्ने, आफ्नो भूमिका र महत्त्व थाहा नपाउने र थाहा पाएर पनि लोभ लालचामा फस्नेहरूलाई के भन्नु र खै ? मैले माथि नै भनेँ, लेखक, कलाकार बन्ने कि पुँजीबजारमा बिक्ने माल बन्ने त्यो आआफ्नो रोजाइ हो क्यारे !

अझ प्रगतिवादी संस्कृतिकर्मीमा आलोचनात्मक चेत त भुत्ते बन्दै गइरहेको छ’ नि ।

आलोचनात्मक चेत नभएको संस्कृतिकर्मी प्रगतिवादी हुन सक्तैन । कम्युनिस्ट नाम र हँसिया–हथौडावाला झन्डाका पछि दौडिएर निजी स्वार्थका लागि व्यक्तिविशेष, गुटविशेषको चाकडी बजाउने काम प्रगतिवाद होइन । प्रगतिवादी सांस्कृतिक आन्दोलनमा लेखन र कर्मका बिचको बेमेल देखिन्छ । लेखन र कर्मका बिचमा मेल भएन भने त्यसले अन्ततः आन्दोलनलाई नै घाटा हुन्छ ।

प्रगतिवादी सांस्कृतिक आन्दोलनले आगामी दिनमा समात्नुपर्ने दिशा कस्तो हुनुपर्ला ?

नेपाल अर्धसामन्ती, अर्ध–औपनिवेशिक देश भनेर हिजो भनियो र त्यही अनुसार सिर्जना आए । त्यो विश्लेषण सही रहेछ त त्यति बेलाको साहित्य, सङ्गीत, कलाले जनताको मन छोयो । लेखक, कलाकारहरू जनताको मनमनमा रहन सफल भए । त्यसले परिवर्तनको आन्दोलनमा ठुलो सहयोग पु¥यायो । आज हामी नयाँ ठाउँमा छौँ । अब हामीले आजको युगको वास्तविकता र भावी यात्राको सही आँकलन गर्न सक्नुपर्छ । त्यो भनेको समाजवादी यात्रा नै हो । नेपालमा एउटा सुखद पक्ष पनि छ, अहिलेको संविधानमा नेपाललाई समाजवादउन्मुख लेखिएको छ जसलाई राप्रपाले समेत स्विकारेको छ ।

आज सेलिब्रेटीको जमाना छ, बजारले कसैलाई रातारात लेखक बनाइदिन सक्छ । पुँजीवादी बजारका बिक्न सक्ने लेखक दिन दोगुना, रात चौगुना मालामाल हुन सक्छ । यस्तो अवस्थामा मालामालको माल बन्न छाडेर प्रगतिशीलतार्फको रुचि घट्नु अस्वाभाविक होइन

यसरी बुझाइ र बाटो फरक भए पनि सैद्धान्तिक रूपमा नेपालका सबैजसो पार्टी समाजवादमा जान चाहनु सुखद कुरा हो । यसमा हाम्रो भूमिका भनेको समाजवाद स्थापनाको सही बाटो पहिल्याउनु हो, सांस्कृतिक आन्दोलनबाट समाजवादी यात्रामा सहयोग गर्नु हो ।

यहाँ अखिल नेपाल लेखक संघको अध्यक्ष हुनुहुन्छ । यसको संगठनात्मक अवस्था र समातेको प्रगतिवादी बाटो के हो ?

अखिल नेपाल लेखक संघ समाजवादी विचारमा आधारित, साम्यवादी विचारमा आधारित लेखकहरूको संगठन हो । यो नेपालका प्रगतिवादी लेखकहरूको मूल प्रवाह हो । हाल यो संगठन नेपालका सबै प्रदेश र जिल्ला तहमा पुगेको छ र निकट भविष्यमा पालिका तहमा पुग्दै छ । द्वन्द्वात्मक भौतिकवाद यस संगठनको आधारभूत सिद्धान्त हो । अहिलेको पुँजीवादी प्रणाली आम मानिसको हितमा छैन, हामी यहाँ अल्झिनु हुँदैन, हामी अघि बढ्नुपर्छ । हाम्रो गन्तव्य समाजवाद हुँदै साम्यवादतर्फको हो । अबको प्रगतिवादी मूल बाटो भनेको त्यही समाजवाद हुँदै साम्यवादतर्फ जाने बाटो हो ।

यसले नेपालभित्रको साहित्यिक तथा भाषिक आन्दोलनलाई कसरी अगाडि बढाइरहेको छ ?

अखिल नेपाल लेखक संघले संगठन निर्माण, वैचारिक तथा सिर्जनात्मक लेखनसम्बन्धी प्रशिक्षण, साहित्यिक गोष्ठीहरू, प्रकाशन, अनुसन्धान, समालोचना आदि कार्यक्रम गरिरहेको छ । नेपालका सबै भाषाको संरक्षण, संवर्धन र विकास हुनुपर्छ । वर्र्गीय, जातीय, लैङ्गिक, क्षेत्रीय लगायत सबै प्रकारका उत्पीडन र विभेदको अन्त्य हुनुपर्छ भन्ने विचारमा आधारित भएर जनचेतना जगाउने, सिर्जना र अनुसन्धानको पनि त्यही दिशातर्फ उन्मुख गराउने आन्दोलनमा लेखक संघ आफ्नो बलबुताले भ्याएसम्म लागिरहेको छ, लागिरहने छ ।

संघका आगामी कार्यक्रम र योजना के छन् ?

पालिका र सम्भव भएसम्म वडातहसम्म संगठन विस्तारको अभियानमा छौँ । मासिक रूपमा ‘बातलाबा’ नामको वैचारिक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन हुँदै आएको छ । प्रगतिवादी कविता, समालोचना आदिका प्रतिनिधि कृतिहरू प्रकाशनको क्रममा छन् । प्रदेश तथा जिल्ला समितिहरूले वैचारिक तथा सिर्जनात्मक कामहरु गरिरहेका छन्, प्रकाशनका काम हुँदै छन् ।

अन्त्यमा ।

लेखक तथा सांस्कृतिक कर्मी चेतनाका वाहक हुन्, बजारिया माल होइनन् । अबको हाम्रो बाटो समाजवादको बाटो हो । त्यसैले समाजको सबैभन्दा सचेत वर्ग लेखक, कलाकारलाई बजारिया मालका बन्ने छुट हुँदैन । अन्त्यमा, मेरा विचार राख्ने अवसरका लागि सौर्य परिवारलाई धेरै धेरै धन्यवाद ।

प्रतिक्रिया