गुरुमन्त्र’ सुन्न प्रचण्डदेखि सेनापतिसम्म

काठमाडौं, १६ मंसिर । विवादमा रुमल्लिरहेका नेपाली राजनीतिका शीर्षस्थ हस्तिहरू शुक्रबार अनायास एकै ठाउँ भेला भए । तर, उनीहरूको यो जमघट राजनीतिक सहमतिको मिलनबिन्दु खोज्नलाई होइन, एक छिमेकी पाहुनाको ‘आशीर्वचन’ प्राप्त गर्नलाई थियो ।
भारतीय दूत करण सिंहको स्वागतमा आयोजित एक भोजमा एमाओवादी अध्यक्ष प्रचण्डदेखि प्रधानसेनापति गौरवशमशेर राणासम्म पुगेका थिए । व्यस्त कार्यतालिकासहित नेपाल आएका भारतीय कांग्रेस (आई)का नेता सिंहले पनि राजनीतिक सहमतिका लागि नेताहरूलाई ठूलै डोज प्रवचन दिए ।
राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले सिंहको स्वागतमा आºनै निवास महाराजगन्जमा शुक्रबार बेलुकी मदिरासहितको भोज आयोजना गरेका हुन् । सो रात्रिभोजमा सिंहले दिल्लीमा भएको १२ बँुदे सहमतिलाई आधार बनाएर जान सुझाव दिएको स्रोतले बतायो । नेपालको राजनीतिक विषयलाई भारतले कहिल्यै हस्तक्षेप गर्न नचाहेको भन्दै उनले आन्तरिक मालिलालाई दलहरूले आफँै मिलाउनुपर्ने बताउन चुकेनन् ।
‘सरकार कस्तो बन्छ नेपालका राजनीतिक दलले गर्ने निर्णय हो,’ सिंहलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘एमाओवादी, मधेसवादी र यहाँका संसद्वादी दलहरू मिलेर जानुको विकल्प छैन ।’ विशेष गरेर उनले एमाओवादीलाई बाहिर राखेर नजान संसद्वादी ठूला दलहरूलाई सुझाव दिएको स्रोतको भनाइ छ । घुमाउरो भाषामा एमाओवादीलाई सरकारको नेतृत्व दिनुपर्ने बताएका उनले मधेसवादी दल र संसद्वादी दललाई सहमतीय सरकारमा सहभागी हुन सल्लाह दिए ।
वैशाख वा जेठसम्म निर्वाचन हुनेमा आफू विश्वस्त रहेको सिंहले बताए । आºनो नेपाल भ्रमण सामाजिक र सांस्कृतिक हुनुका साथै केही निजी कामको सिलसिलामा आएको स्पष्ट पार्ने कोसिस उनले गरेका थिए ।
जवाफमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दलहरूबीच सहमतीय सरकारबारे परामर्श जारी रहेको बताए । दलहरूबीच सहमति हुनेमा आफू आशावादी रहेको उनको भनाइ थियो ।
एमाले अध्यक्ष झलनाथ खनालले एमाओवादीले लचकता देखाउने हो भने सहमतिमा कुनै समस्या नहुने धारणा राखे । उनले एमाओवादीलाई सबैको भावना बुझेर जानुपर्ने सुझाव दिए ।
सुरुमा राप्रपा अध्यक्ष राणाले रात्रिभोजमा आएका सबै सहभागीलाई स्वागत गरेका थिए । राष्ट्रपति, प्रधानमन्त्री, एमाओवादी, कांग्रेस, एमाले, मधेसवादी दललगायतका शीर्ष नेतालाई भेट गर्ने जनाएका सिंहले पूर्वराजा ज्ञानेन्द्र शाहसँग पनि परामर्श गर्ने स्रोतको भनाइ छ । पूर्वराजपरिवारसित भारतीय नेता सिंहको पारिवारिक सम्बन्ध छ ।
नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने भारतले राजनीतिक अन्योल बढ्दा उच्च नेताहरूलाई पठाउने गर्छ । दोस्रो जनआन्दोलन चरम उत्कर्षमा पुगेका बेला पनि भारतले नेता सिंहलाई काठमाडौं पठाएको थियो । नेता सिंह स्वदेश फिर्ता भएलगत्तै भारतीय पूर्वविदेश–सचिव श्याम शरण नेपाल आउने स्रोतको दाबी छ । रात्रिभोजमा भरतीय नेता सिंह, नेपालका लागि भारतीय राजदूत जयन्त प्रसाद, भारतीय गुप्तचर संस्थाका नेपाल प्रमुख प्रभाकर कुमारको उपस्थिति थियो ।
पूर्वप्रधानमन्त्री एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राप्रपा अध्यक्ष राणा, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्द, राप्रपाका नेता विश्वबन्धु थापा, राजेश्वर देवकोटा, प्रधानसेनापति गौरवशमशेर राणालगायतको सहभागिता रहेको स्रोतले बतायो । प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भने बोलाइएको थिएन । यसअघि १५ वटा विपक्षी दलका नेतालाई बोलाउने तयारी भए पनि सिंहको सुझावमा मुख्य दलका शिर्ष नेतालाई मात्र बोलाइएको थियो ।

कसले के खाए ?

नेपाली राजनीतिका खेलाडीहरूले भारतीय आगन्तुकसित बसेर शुक्रबार अबेर रातिसम्म मदिरासहित उच्चस्तरीय खानपिनको स्वाद लिए । त्यहाँ राखिएका परिकार तारे होटलबाट मगाइएका थिए ।
ग्यास हिटरको ताप र रापमा भारतीयसँग नेपाली राजनीतिक दलका नेताहरूले कुखुराको रोस्ट र खसीको मासुसहित अबेरसम्म मदिरा सेवन गरेका थिए । पारिवारिक जमघटजस्तो देखिने सो रात्रिभोजमा नेताहरू रमाइलो र ठट्यौली शैलीमा प्रस्तुत भएको स्रोतले जनायो ।
राणा खानदानी शैलीको खानपिनमा विशेष गरेर भारतीय परिकार एवं राजस्तानी परिकार राखिएका थिए । नेपाली खानामा दाल, भात तरकारी, रोटी, कुखुराका साप्रा, खसीको मासु र नानको व्यवस्था थियो । रात्रिभोजमा नेताहरूले रोजीरोजी परिकार खाएका थिए । भारतीय र नेपाली नेताहरूले सागसब्जी भन्दा पनि मासु र मदिरातर्फ नजर दौडाए । नेताहरूको खवाइका कारण वेटरहरूलाई भ्याइनभ्याई भयो ।
एमाओवादी अध्यक्ष दाहालले वाइन पिएको स्रोतको भनाइ छ । कांग्रेस सभापति कोइराला र एमाले वरिष्ठ नेता नेपालले भने मदिरा सेवन गरेनन् । एमाले अध्यक्ष खनालले थोरै मदिरा सेवन गरे । खनालले ह्विस्की पिए वा वाइन स्रोतले पत्तो पाएन ।
पूर्वप्रधानमन्त्री देउवाले भने ह्विस्की पिएका थिए । सबैभन्दा धेरै ह्विस्की पिउनेमा नेता देउवा नै रहेको स्रोतको दाबी छ । सधैँ बियर पिउने देउवाले चिसोका कारण ह्विस्की पिएका हुन् ।
खानपिनको अन्त्यमा मुख मीठो बनाउन अध्यक्ष राणाले दही र जेरी राखिदिएका थिए । भारतीय नेता सिंह र नेपालका नेताहरू अन्त्यमा दही र मिठाई खाएर बिदावारी भए ।
नेताका सुरक्षाकर्मी र सहयोगीहरूलाई अलग्गै खानाको व्यवस्था गरिएको थियो । शीर्ष नेताहरूले खाने ठाउँमा ड्राइभर, सुरक्षाकर्मी र सहयोगीहरूलाई प्रवेशमा रोक लगाइएको थियो । नेताहरूले आफूहरूको खानपिनबारे पत्रकारले पत्रपत्रिकामा लेखिदिने हुन् कि भनेर हाँसोसहित भनेको स्रोतको भनाइ छ । सेनापति मदिरा सेवन नगरी सिंहको कुरा मात्रै सुनेर खाना खाएर बाहिरिएका हुन् ।
विशेष काम भएमा मात्रै आयोजकको सहयोग र सल्लाहमा सहयोगीहरूले सम्बन्धित नेताहरूलाई भेट्न पाउने व्यवस्था मिलाइएको थियो । शीर्ष नेताहरूलाई ग्यासको तातो राप भए पनि सुरक्षाकर्मी र सहयोगीहरूले भने शक्रबारको चिसो अबेर रातसम्मै खेप्नुपर्‍यो ।

प्रतिक्रिया