मल र मजदुर अभावमा कृषकलाई समस्या

म्याग्दी । म्याग्दीमा मल र मजदुर नपाउँदा हाँका कृषकलाई धानबाली लगाउन समस्या भएको छ । प्रमुख खाद्यबाली धान लगाउने याम सुरु भए पनि रासायनिक मलको आपूर्ति नहुँदा कृषक चिन्तित भएका हुन् । उच्च पहाडी र सिँचाइको सुविधा पुगेको क्षेत्रमा जेठको अन्तिम सातादेखि धान रोपाइँ सुरु भएको छ । मल अभावमा यसपाली मकै र धानको उत्पादन प्रभावित हुने मंगला गाउँपालिका–२ का कृषक रामकुमारी खत्रीले चिन्ता गरिन् । ‘मकैमा रासायनिक मल हाल्न पाइएन’, उनले भनिन्, ‘धान रोप्ने समय भए पनि मल नपाउँदा उत्पादन घट्ने चिन्ता छ ।’

गाउँमा युवा जनशक्ति नहुँदा धानलगायत खेतीबाली लगाउन मजदुर अभावको समस्या देखिएको छ । अर्म, पर्मजस्ता खेतीबाली लगाउने गरिने सामाजिक परम्परा हराउँदै गएको मंगला–५ का मनबहादुर मगरले बताए । ‘मजदुर पाइन छाडेपछि समथर फाँटमा गोरुको विकल्पमा ट्रयाक्टर र मिनिट्रेलरले खेतबारी खनजोत गर्न थालेका छाँै’, उनले भने, ‘खेतीबाली लगाउन र भित्र्याउन मजदुर नपाएर दुःख हुन थाल्यो ।’ मजदुरलाई ज्याला दिएर लगाएको खेतीबाली मल अभाव, असिना, रोगकीराले उत्पादन बढाउन चुनौती भएको कृषक मगरको भनाइ छ ।

म्याग्दीको रणवाङ, छिसवाङ, पीपलबोट, घतान, पिप्ले, भगवती, घार, बरञ्जा, देविस्थान, ताकम लगायतका ठाउँका कृषक धानबाली लगाउन मलको प्रतिक्षामा छन् । धानसँगै बारीमा कोदो रोप्न थालेका छन् । ३ हजार ८ सय ८५ हेक्टरमा धान खेती हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष १३ हजार ३ सय ६० मेट्रिक टन धान उत्पादन भएको थियो । नियमित वर्षा भएकाले सिँचाइ सुविधा पुगेको र पहाडी क्षेत्रमा कृषक धान रोपाइँमा जुटेका कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले बताए । वर्षा नियमित भएकाले कृषकलाई धान रोप्न सजिलो भएको उनको भनाइ छ ।
म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण–३, खुमल–४, खुमल–१०, लुम्ले–२ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ ।

प्रतिक्रिया