उत्पादन घट्ने डरले किसान चिन्तित

मलको हाहाकार कायमै

पाल्पा । यहाँका बालीनाली समयमा नै रासायनिक मल दिन नसक्दा सप्रेका छैन । विशेषगरी मकै बालीको समय रहेको हुँदा यतिबेला खेतबारीमा मकै छरेको समयदेखि नै युरिया मलको अभाव हुँदा बाली सप्रन नपाएको कृषक दुर्गा आचार्यले बताए । ‘कालोबजारीमा बिक्री भएको युरिया मल महँगो मूल्यमा (प्रतिकिलो ४२ रुपैयाँमा) किनेर एकपटक मकैमा प्रयोग गरियो, दोस्रोपटक पुनः मल दिन नपाउँदा सुत्ला नै निस्किएन, अब उत्पादन लिन पाइएला भन्ने आशै भएन, खेती गरेर उत्पादन नपाउँदा हामीलाई दुःख मात्रै भयो,’ उनले भने । ‘अर्का कृषक शारदा रेग्मीले मकैको बोट हुर्कंनै नसक्ने अवस्था भएपछि प्रतिकिलो ५० रुपैयाँमा युरिया खरिद गरेर राखेका छन् । मकैबालीमा दुईपटक रासायनिक मल प्रयोग गर्छन् किसान ।

कालोबजारीकै मुल्यमा भए पनि दोब्बर बढी मूल्य तिरेर किसानले मकै बालीमा राख्न बाध्य भएका छन् । ‘एकपटक त कालोबजारीकै भए पनि धेरै मूल्यमा मल खरिद गरियो तर अर्कोपटक महँगो नै भए पनि किन्न खोज्दा बजारमा कतै पाएनौँ,’ रेग्मीले गुनासो गरे । सहकारीमार्फत वितरण गर्ने युरिया मलको मूल्य प्रतिकिलो २० रुपैयाँ पर्छ । कतिपय व्यापारीले मल अभावको मौका छोपेर कालोबजारीमा महँगो मूल्यमा बिक्री गर्दा किसान मर्कामा परेका छन् । मकै बाली मात्रै नभएर व्यावसायिक पशुफार्म सञ्चालन गरेका किसान पनि मलको अभावमा मारमा परेका छन् । घाँसमा मल राख्न नपाउँदा पशु आहारमा समस्या परेको लक्ष्यधेनु उन्नत गाईफार्मका सञ्चालक गणेश आचार्यले गुनासो गरे ।

‘ठूला पशुफार्म चलाएका व्यवसायीलाई उचित समयमा घाँसबालीमा मल दिन नपाउँदा पशु आहारमा संकटमा परेको छ, महँगो मूल्यमा खरिद गरिएको दानाले मात्रै पशु आहार धान्नसक्ने अवस्था छैन, घाँस उत्पादन कम भएपछि पशु आहार कसरी व्यवस्थापन गर्ने चिन्ताले सताएको छ,’ उनले भने । होलस्टिक गाईभैँसी फार्मका सञ्चालक विष्णुमाया खड्काले पशु आहारका लागि मात्रै करिब ४० रोपनी जग्गामा घाँस र मकै लगाएका छन् । मलको समस्याले घाँस र मकै सप्रन नसक्दा पशु आहार कसरी धान्ने भन्ने चिन्ताको भारी थपिएको उनले बताए । घाँस राम्ररी सप्रन नपाउँदा यतिबेला ठूला पशुफार्म सञ्चालकलाई पशु आहार व्यवस्थापनमासमेत सकस परेको छ ।

भारतीय कम्पनीले नेपाललाई दिने भनेको मल ‘फास्ट्र ट्रयाक’मा ल्याउने सम्बन्धमा सरकार लागिरहेको र यसका लागि प्रक्रिया अगाडि बढेको कृषि सामग्री कम्पनी लिमिटेड पाल्पाका प्रमुख सुमन पन्थीले बताए । उनले भने, ‘भारतीय कम्पनीमार्फत नेपाललाई आवश्यकपर्ने रासायनिक मल दिने कुरा भइरहेको छ तर कसरी आयात गर्ने भन्ने विषयमा निधो छैन, ‘फास्ट्र ट्रयाक’मा १५ दिनभित्र मल ल्याउन सकिन्छ ।’

उनका अनुसार पाल्पालाई आवश्यकपर्ने मल कृषि सामग्री कम्पनी लिमिटेड भैरहवा, साल्टटे«डिङ कम्पनी रुपन्देहीमा जानकारी गराइएको छ । मकै बालीमा युरिया मलको अभाव परिपूर्ति गर्न प्रांगारिक मल प्रयोग गर्न सकिन्छ तर धान रोप्ने समयमा मल आइपुगेन भने ठूलो समस्या निम्तिने हुँदा किसानले जतिसक्दो चाँडो मल व्यवस्थापन गर्न अनुरोध गरिरहेका छन् ।

तीन महिनादेखि युरिया मलको अभाव भएको विजयपुर कृषि सहकारी संस्था रामपुरका अध्यक्ष ओमप्रकाश रेग्मीले बताए । सहकारीमा दैनिकजसो किसानले मलका विषयमा गुनासो लिएर आउने गरेको र असारको दोस्रो हप्तासम्म मल आइपुग्ने आश्वासन पाएको उनले बताए । पाल्पामा ५३ वटा संस्थाले अनुमति लिएर रासायनिक मलको कारोबार गरिरहेका छन् । जिल्लामा हरेक वर्ष मलको खपत बढ्दै गएको पाइएको छ । आजभन्दा पाँच वर्षअघि वार्षिक एक हजार मेट्रिकटन मल खपत हुने गरेकोमा गत वर्ष दुई हजार मेट्रिकटन खपत भएको छ ।

प्रतिक्रिया