गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : दुई अन्तर्राष्ट्रिय जहाज अवतरण

काठमाडौं । नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबारदेखि व्यावसायिक रूपमा औपचारिक उडान प्रारम्भ भएको छ । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु गरिएको हो । उक्त विमानस्थलमा सोमबार नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज अवतरण गरेका हुन् ।

नेपालको यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हो । यसअघि नेपालमा एउटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र थियो ।
विमानस्थल कार्यालयका अनुसार सोमबार बिहान ६ बजेर ५५ मिनेटमा नेपाल वायुसेवा निगमको पहिलो जहाज अवतरण गरेको थियो । उक्त विमानले देशको संघीय राजधानी काठमाडौंबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो कमर्सियल उडान गरेको हो । यसैगरी सोमबार नै जजिराको जहाज पनि विहान ७ बजेर ८ मिनेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे थियो । जजिराको उक्त विमान दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको बताइएको छ ।

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार नै भैरहवा पुगेका थिए । तर, उक्त विमानस्थलबाट नियमित व्यवसायिक उडान भने २९ जेठदेखि हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि २४सै घण्टा सञ्चालनमा आउने बताइएको छ । हवाई उडानको सुरक्षाका लागि आवश्यक पर्ने अत्याधुनिक उड्ययन उपकरणसहितको उक्त विमानस्थलमा तीन हजार मिटर लामो धावनमार्ग रहेको छ ।

भारतले भैरहवा उडानका लागि सिधा हवाई मार्ग नदिँदा जजिरा एयरवेज सिमरा हुँदै भैरहवा प्रवेश गरेको थियो । नेपालले यसअघि भारतसँग भैरहवा र नेपालगञ्जको हवाई प्रवेश बिन्दु दिन माग गरे पनि भारतले आलटाल गर्दै आएको छ ।

उक्त विमानस्थलमा बोइङ ७७७, एयरबस ३३० र त्यही क्षमताका बाइडबडी विमान पनि अवतरण गर्न सक्ने क्षमता छ । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन तथा प्राधिकरणले तोकेको मापदण्डअनुसार निर्माण भएको उक्त विमानस्थललाई नेपाल नागरिक उड्ययन प्राधिकरणले गत २१ वैशाखमा प्रमाणीकरण गरेको थियो । उद्घाटनका क्रममा प्रधानमनत्री देउवाले यो विमानस्थल सञ्चालनमा आएपछि मुलुकको बढ्दो हवाई चाप कम हुने र अन्तर्राष्ट्रिय हवाइ यात्राका लागि काठमाडौं नै पुग्नुपर्ने बाध्यता हटेको बताए । यो विमानस्थल सञ्चालनमा आएपछि मुलुकको आर्थिक विकासमा पनि ठूलो सहयोग पुग्ने दाबीसमेत उनले गरे ।

०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उक्त विमानस्थल आयोजनाको शिलान्यास गरेका थिए । तीन वर्षमा निर्माण सम्पन्न भइसक्नुपर्ने उक्त विमानस्थल आयोजनाको निर्माण अवधि मुख्य ठेकेदार कम्पनी र सहठेकेदार कम्पनीबीच विवाद, मधेस आन्दोलन, भारतको नाकाबन्दी, निर्माण सामग्रीको आपूर्तिमा असहजता र कोभिड–१९ जस्ता कारणले लम्बिएको थियो । यसैगरी प्रधानमन्त्री देउवाले सोमबार नै बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण गरिएको बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको पनि उद्घाटन गरे । पाँच हजार जना अट्ने क्षमता भएको उक्त हल बनेपछि त्यहाँ हुने विभिन्न सम्मेलन र समारोह सञ्चालनमा सहज हुनेछ ।

भारतले भैरहवा उडानका लागि सिधा हवाई मार्ग नदिँदा जजिरा एयरवेज सिमरा हुँदै भैरहवा प्रवेश गरेको थियो । नेपालले यसअघि भारतसँग भैरहवा र नेपालगञ्जको हवाई प्रवेश बिन्दु दिन माग गरे पनि भारतले आलटाल गर्दै आएको छ । कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग साताको तीन उडान गर्ने अनुमति पाएको छ । जजिरा एयरवेजले काठमाडौंमा भइरहेको उडानलाई नियमित राखी भैरहवामा पनि थप उडान गरेको हो । ७४ वर्षसम्म नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको थियो ।

प्रतिक्रिया