काठमाडौं । गहुँको मूल्य बढ्दै गएपछि भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएको छ । गहुँलाई प्रतिबन्धित वर्गमा राखिएको छ । भारत सरकारले देशको खाद्य सुरक्षालाई ध्यानमा राख्दै यो कदम चालेको सूचनामा उल्लेख गरेको छ ।
रुस र युक्रेनबीच चलिरहेको युद्धका कारण विश्वभर गहुँको मूल्य ह्वात्तै बढेको छ । भारतमा पनि गहुँको मूल्य ह्वात्तै बढ्नुका साथै गहुँबाट उत्पादन हुने सह उत्पादनहरु पिठो, मैदालगायतका उत्पादनको अभाव हुनुका साथै मूल्य अत्याधिक बढेपछि निर्यातमा प्रतिवन्ध लगाएको हो ।
भारतको वैदेशिक व्यापार महानिर्देशनालयले विज्ञप्ति जारी गर्दै विभिन्न कारणले अन्तर्राष्ट्रियस्तरमा गहुँको मूल्यमा अचानक वृद्धि भएको जनाएको छ । जसका कारण भारतका साथै छिमेकी राष्ट्र र अन्य धेरै देशको खाद्य सुरक्षामा खतरा उत्पन्न भएको र यसका कारण सरकारले गहुँ निकासी बन्द गर्नुपरेको बताइएको छ । गहुँलाई स्वतन्त्र वर्गबाट प्रतिबन्धित वर्गमा सारिएको छ । रुस र युक्रेनबीच जारी युद्धका कारण गहुँको अन्तर्राष्ट्रिय मूल्य झण्डै ४० प्रतिशतले बढेको छ । यसले भारतबाट निर्यात बढेको छ । माग बढेपछि स्थानीय तहमा गहुँ र पिठोको मूल्य ह्वात्तै बढेको हो ।
भारतमा यसवर्ष १० करोड ५० लाख टन अनुमानको तुलनामा ९ करोड ५० लाख टन गहुँ उत्पादन हुने व्यापारीहरूले बताएका छन् । जसका कारण आपूर्ति चुस्त र भाउ बढिरहेको छ । काण्डला बन्दरगाहमा गहुँको मूल्य प्रतिक्विन्टल २ हजार ५ सय ५० रुपैयाँमा चलिरहेको छ । भारत सरकारले निर्यात रोक्ने डरले निर्यातकर्ताले हतारमा ढुवानी पठाउन थाले ।
गहुँ खरिदका लागि न्यूनतम समर्थन मूल्य भारु २,०१५ प्रति क्विन्टल छ । भारतमा गहुँ र पिठोको खुद्रा मुद्रास्फीति मार्चमा ७.७७ प्रतिशतबाट अप्रिलमा बढेर ९.५९ प्रतिशत पुगेको छ । खुला बजारमा गहुँको मूल्य एमएसपीभन्दा धेरै महँगो भएकाले यस वर्ष सरकारी गहुँ खरिद करिब ५५ प्रतिशतले घटेको छ । रुस–युक्रेन युद्धका कारण काला सागर क्षेत्रबाट गहुँको निर्यात प्रभावित भएको छ । विश्वको एक चौथाई गहुँको व्यापार त्यहीँबाट हुने गरेको छ । यो खाडल भारतले भर्दै आएको छ । यही कारण मुलुकबाट गहुँको निर्यात बढेको हो ।
भारतले गहुँ निकासी रोक्नुमा छिमेकी र गरिब देशहरूलाई सहयोग गर्न यो कदम आवश्यक रहेको उल्लेख गरेको छ । भारतको यो निर्णयले नेपाललाई असर गर्ने जानकारहरु बताउँछन् । भारतले रोक लगाएपछि अब नेपालमा पनि गहुँको अभाव हुने र पीठोलगायत गहुँबाट बन्ने विभिन्न वस्तुमा मूल्यवृद्धि हुनसक्ने आँकलन गर्न सकिन्छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो नौ महिनामा भारतबाट नेपालमा ५ अर्ब ९७ करोड २२ लाख २५ हजार रुपैयाँको गहुँ भित्रिएको थियो । उक्त मूल्यमा भारतबाट नेपालमा १८ करोड ९ लाख २० हजार ५६४ केजी गहुँ आएको थियो ।
प्रतिक्रिया