सिन्धुपाल्चोक, १० मंसिर । लामो समयदेखि छात्रामा मासहिस्टेरिया देखिएपछि विद्यालयले पूजापाठ गर्ने भएको छ । माँखा–७ स्थित कुपकन्या माध्यमिक विद्यालयले विद्यालयका छात्राको मासहिस्टेरिया नियन्त्रणका लागि यस्तो प्रयास गरेको हो ।
शैक्षिक सत्र सुरु भएदेखि नै प्रत्येक दिनजसो छात्रा बिरामी हुने क्रम नरोकिएपछि धार्मिक मान्यताअनुरूप सुरुमा लामा पढाइने र त्यसपछि पनि रोग नियन्त्रणमा नआए पण्डितद्वारा पाठ गराइने तयारी भइरहेको रोग नियन्त्रणका लागि गठित समितिका अध्यक्ष श्रीबहादुर पराजुलीले जानकारी दिए ।
मासहिस्टेरिया रोगका कारणका तीसभन्दा बढी छात्रा बिरामी परिसकेका छन् । विद्यालयमा पाँच कक्षामाथिका विद्यार्थीमा रोग देखा परेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपालले जानकारी दिए । बिरामी हुनेको उमेर १२ वर्षभन्दा बढी भएको उनले बताए ।
विद्यालयमा रोगको प्रकोप बढ्दै गएपछि पठनपाठनमा समस्या आइरहेको विद्यालयका शिक्षक बताउँछन् । विद्यालयको समस्यालाई ध्यानमा राख्दै १ मंसिरमा बसेको अभिभावक भेलाले रोग नियन्त्रणका लागि समितिसमेत बनाएको हो । अभिभावकले प्रस्ताव गरेमा सुरुमा काउन्सिलिङ, त्यसपछि लामा पढाइने र पण्डितद्वारा पाठ गराइने तयारी भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर पराजुलीले जानकारी दिए ।
विद्यार्थी सुरुमा छटपटाउने, मूर्छा पर्ने, काम्ने र बेहोस हुने गरेका छन् । यो क्रम हरेक दिन दिउँसो १२ बजेदेखि १ बजेसम हुने गरेको प्रधानाध्यापक नेपालले जानकारी दिए । बिरामीको संख्या बढेपछि नियमित रूपमा पठनपाठन सञ्चालनमा समस्या छ । ‘बिहान राम्रैसँग विद्यालय आउँछन्, दिउँसो एक्कासि के हुन्छ थाहै हुँदैन,’ उनले भने, ‘हामीलाई पढाउनसमेत समस्या भइसक्यो ।’
बिरामी छात्रा सरिता नेपालीले भनिन्, ‘कतिबेला के हुन्छ थाहै हुँदैन ।’ माँखा– ७ की नेपालीले भनिन्, ‘स्कुल जाने बेला केही हुँदैन, पछि साथीहरूले भनेपछि मात्रै बिरामी भएको थाहा पाउँछु ।’ उनकी आमा पार्वती नेपालीले भने घरमा छोरीलाई कहिल्यै यस्तो नभएकाले पत्याउन गाह्रो भएको बताइन् ।
रोगको प्रकोप दिनानुदिन बढेपछि स्वास्थ कार्यालयले रोग नियन्त्रणका लागि चासो नदेखाएकामा विद्यालयले गुनासो गरेको छ । जिल्ला स्वास्थ कार्यालयले जिल्लामा पर्याप्त डाक्टर नभएको भन्दै पन्छिरहेको विद्यालयका प्रधानाध्यापक नेपालले बताए । अहिले पनि दैनिक १०–१५ छात्रा बिरामी हुने गरेको नेपालले जानकारी दिए ।
प्रतिक्रिया