काठमाडौं । नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटीले शनिबार राजधानीमा आफ्नो शक्ति प्रदर्शन गरेको छ । स्थानीय निर्वाचनको मुखमा आएर गरिएको यो शक्ति प्रदर्शन सो पार्टी गठन भएपछि आयोजना गरिएको पहिलो सभा हो ।
उक्त सभामा बोल्दै सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले कुनै पार्टीको रुपमा नरहेको र एउटा गुटका रुपमा रहेकोले नयाँं पार्टी खोल्नुको विकल्प नभएको बताए । नेपालले एमाले पार्टी नभएर ओलीको प्राईभेट कम्पनी भएको आरोप लगाए । उनले अहिले जनताले कलम र एकीकृत समाजवादी भन्न थालेको दावी गरे ।
कर्यक्रममा बोल्दै सो पार्टीका सम्मानित नेता झलनाथ खनालले समाजवाद भविष्य भएको बताए । विगतमा आफूहरुले दुई तिहाई बहुमत प्राप्त गरेको र सरकार बनाएको दावी गर्दै एमाले नेतृत्वको सरकारले कुनै काम गर्न नसकेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको छोडेर बिदेशीको सेवा गर्न थालेको आरोप लगाए ।
खनलले आफूहरुको पार्टीलाई ढक भनेकोमा त्यसको प्रतिवाद गर्दै भने, ‘एकीकृत समाजवादी पार्टी देशभरी ढक होइन, क्विन्टल बन्दै छ ।’ साथै, उनले निर्वाचन आयोगले जारी गरेको चुनाव आचारसंहिता कार्यान्वयनमा जोड दिए । खनालले काठमाडौं जिल्लालाई आगामी चुनावमा लाल किल्ला बनाउने घोषणा गरे ।
सो पार्टीको सभालाई सांसद जीवनराम श्रेष्ठ, काठमाडौं जिल्ला कमिटी अध्यक्ष कुशुमकुमार कार्की, जिल्ला ईन्चार्ज बशन्त मानन्धर, लगायतले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया