धरान । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले धरान उपमहानगरपालिकाभित्र एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने तयारी गरेका छन् । धरानमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरूले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन् । नेताहरूका अनुसार एउटै चुनाव चिन्हबाट निर्वाचनका जानका लागि कानुनी जटिलता समाधानका बारेमा छलफल भइरहेको छ ।
मंगलबार धरानमा गठबन्धनको बैठक बसेको थियो । बैठकले वडा तहको भागबण्डामा लगभग सहमति गरेको छ । नेपाली कांग्रेस र अन्य दलले ६०÷४० का आधारमा भागबण्डा गर्ने विषयमा लगभग सहमति भएको हो । ‘मेयर र उपमेयरमा आआफ्नै चुनाव चिन्हबाट लड्नुहुन्छ, वडामा अध्यक्षदेखि सदस्यहरू जुनसुकै दलबाट भए पनि एउटै चुनाव चिन्हबाट लड्ने तयारी छ’, गठबन्धनका एक नेताले भने, ‘माओवादीले टिकट पाएको वडामा गठबन्धनका सदस्यले हँसिया हतौडाबाटै उम्मेदवारी दिन्छन्, कांग्रेसले टिकट पाएको वडामा रुखबाटै वडाध्यक्ष र सदस्यको उम्मेदवारी दिन्छन् ।’
नेपाली कांग्रेस धरानका नगरसभापति श्याम पोखरेलका अनुसार गठबन्धनको बैठकमा एउटै चुनाव चिन्हबाट उम्मेदवार बन्ने विषयमा छलफल भए पनि निर्णय भएको छैन । ‘कानुनी जटिलताका विषयमा परामर्श भइरहेको छ,’ उनले भने, ‘निर्वाचन आयोगसँग पनि परामर्श गरेका छौँ ।’
वडामा छुट्टा–छुट्टै चुनाव चिन्हबाट उम्मेदवार बन्दा मत बदर हुने सम्भावना बढी भएका कारण एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन् । कांग्रेस सभापति पोखरेल भने सहमति भइनसकेको बताउँछन् । धरानमा कांग्रेसले मेयरसहित १५ वटा वडामा दाबी गरेको बताउँदै उनले निष्कर्षमा पुग्न बाँकी रहेको बताए ।
धरानको मेयरमा गठबन्धन दल नेपाली कांग्रेसबाट तिलक राई, किशोर राई, उमेश थापालगायतको दाबेदारी छ । माओवादी केन्द्रबाट आइन्द्रबिक्रम बेघा, सभासद् किरण राईको दाबी छ ।नेकपा एमालेबाट उपमेयर मञ्जु भण्डारीसहित आधा दर्जन आकांक्षी छन् । एमाले नेताहरूका अनुसार धरानको मेयरमा मुरारी सुवेदी, बिजय राई, मोतीराज सुनुवार, प्रकाश राई, पूर्व मेयर मनोज मेन्याङ्बोलगायत दाबेदार छन् । ०७४ को निर्वाचनमा धरानमा नेकपा एमाले मेयर उपमेयरसहित १४ वटा वडामा विजयी भएको थियो । नेकपा माओवादी केन्द्रले एक र कांग्रेसले पाँच वटा वडा जितेको थियो । मेयर तारा सुब्बाको मृत्युपछि भएको उपनिर्वाचनमा भने कांग्रेसबाट उम्मेदवार बनेका तिलक राई मेयरमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया