दसैँका लागि नब्बे हजार भेडा च्यांग्रा भित्रिँदै

पोखरा, २ कात्तिक । पोखरामा मुस्ताङ, डोल्पा र तिब्बतबाट भेडा/च्यांग्रा भित्रिन थालेका छन् । दसँैका लागि यो वर्ष करिब ९० हजार भेडा/च्यांग्रा भित्रिने अनुमान गरिएको छ । पशुसेवा कार्यालय मुस्ताङका अनुसार डोल्पाबाट ४० हजार, मुस्ताङबाट २५ हजार र तिब्बतबाट २५ हजार हाराहारीमा भेडा/च्यांग्रा पोखराका लागि झारिएका छन् ।
अहिलेसम्म करिब ३० हजार भेडा/च्यांग्रा कास्की प्रवेश गरिसकेका छन् भने अन्य आउने क्रम जारी रहेको पशुसेवा कार्यालय पोखराले जनाएको छ । पोखरा र यस आसपासका जिल्लाका लागि मुस्ताङ, डोल्पा र तिब्बतबाट भेडा/च्यांग्रा आयात गरिँदै आएको छ । गत वर्षका तुलनामा यो वर्ष भेडा/च्यांग्राको खपत बढ्ने अनुमान छ । दसैँका लागि मात्र गत वर्ष ५९ हजार आठ सय भेडा/च्यांग्रा पोखरा भित्रिएका थिए ।
डोल्पा, तिब्बत र मुस्ताङबाट पोखरा ल्याइपुर्‍याउँदा यो वर्ष प्रतिच्यांग्रा १५ हजारभन्दा बढी मूल्य पर्ने व्यापारी बताउँछन् । अहिले मुस्ताङमै भेडा/च्यांग्राको मूल्य बढेको छ । भेडा/च्यांग्रा मुस्ताङ र डोल्पाबाट पोखरा ल्याइपुर्‍याउन करिब १० देखि १२ दिन लाग्ने भएकाले सो क्रममा चोरी हुने, हराउने र मर्ने भएकाले मूल्य झनै बढ्ने उनीहरूको भनाइ छ । मुस्ताङमा ११ हजार रुपियाँ पर्ने भेडा/च्यांग्रा पोखरा ल्याइपुर्‍याउँदा पाँचभन्दा बढी स्थानमा विभिन्न प्रकारका कर तिर्नुपर्दा यहाँका उपभोक्ताले बढी मूल्यमा खरिद गर्नुपर्ने बाध्यता छ ।
कास्की, पर्वत, बाग्लुङ, स्याङ्जा र तनहुँलगायत जिल्लामा दसैँंको अवसरमा मात्रै एक लाखभन्दा बढी च्यांग्रा खपत हुने गरेको अनुमान छ । हिमाली भेगमा बहुमूल्य जडीबुटी खाएर हुर्किएका भेडा/च्यांग्राको मासु स्वास्थ्यका लागि निकै उपयोगी हुने भएकाले पनि यसको माग बढी छ ।
दसँैको अवसरमा भेडा/च्यांग्रा बिक्रीका लागि मात्रै पोखरा–१ टुँडीखेलमा विशेष स्टलको व्यवस्था गरी बिक्रीवितरण हुने गरेको छ । च्यांग्रा पोखरा भित्रिने नाका कास्कीको हेम्जा देखिनै कारोबारका लागि विभिन्न स्टल नै राखेर बिक्री गरिन्छ । बिक्रीका लागि व्यापारीअनुसार सबै च्यांग्राको मूल्य समान रहेको छ । पश्चिमाञ्चल विकास क्षेत्रमा नेपालकै सबैभन्दा बढी मासुको खपत हुने गरेको क्षेत्रीय पशुसेवा निर्देशनालय पोखराले जनाएको छ । औसतमा नेपालको मासु खपत दर १३ केजी प्रतिव्यक्ति प्रतिवर्ष रहे पनि यस क्षेत्रमा प्रतिव्यक्ति प्रतिवर्ष २० केजी मासुको खपत हुने गरेको क्षेत्रीय पशुसेवा निर्देशनालयका निर्देशक डा. वंशी शर्माले बताए ।
पश्चिमाञ्चलमा वार्षिक एक लाख एक हजार नौ सय ९१ मेट्रिकटन मासु उत्पादन हुने गरेको तथ्यांक छ । यो दर वार्षिक ३.६ प्रतिशतले बढ्दै गएको शर्मा बताउँछन् । सामान्य अवस्थामा पोखरामा दैनिक ३१ हजार किलो मासु खपत हुने गरेको भए पनि दसैँंको बेला त्यसको माग बढेर दोब्बर भन्दा धेरै हुने गरेको छ । अन्य अवस्थामा पोखरामा कुखुराको मासु दैनिक १६ हजार पाँच सय, खसी बोका पाँच हजार, राँगो सात हजार र बंगुरको मासु दुई हजार पाँच सय किलो खपत हँुदै आएको छ ।
पोखरामा मात्र दैनिक ८४ लाख बराबरको मासुको कारोबार हुने तथ्यांक छ । यस क्षेत्रमा कुखुराको मासु दैनिक ४१ लाख, खसीको ३० लाख, राँगो सात लाख, बंगुर ६ लाख रुपियाँको कारोबार हुने क्षेत्रीय पशुसेवा निर्देशक डा. शर्माले जानकारी दिए । पोखरामा दर्ता भएका मासु पसलको संख्या चार सय ५० रहेको छ ।

च्यांग्रा आयात बढ्यो
हुम्ला : हुम्ला सदरमुकाम सिमीकोटमा चीनबाट च्यांग्रा आयात बढेको छ । तिब्बतको सिमाना हुँदै हिल्सा र लिमी नाकाबाट मोटरबाटो केही नजिक परेपछि अघिल्लो वर्षका तुलनामा यो वर्ष स्थानीय बजारमा च्यांग्राको संख्यामा उल्लेखनीय देखिएको छ । दसैँका लागि हुम्लासँग जोडिएका हिल्सा र चुवा खोला नाका हुँदै हुम्ला, मुगु र बाजुराको माथिल्लो क्षेत्रबाट ल्याइने चिनिया खसी च्यांग्राको आयातमा बढको व्यापारी बताउँछन् । अघिल्ला वर्षमा हिल्ला र चावाखोलाबाट अधिकांश खसी तथा च्यांग्रा ल्याउने गरेको भए पनि यो वर्ष लिमी, हिल्सा र चावा खोलाबाट ल्याइएको छ । खसी व्यापारी जगवीर सार्कीले मोटरबाटो बनेपछि केही सहजता भएको बताए । उनका अनुसार लिमी नाकाबाट मात्रै यो वर्ष पाँच सय बढी च्यांग्रा आयात भएका छन् ।
गत वर्षमा एक सयदेखि दुई सयसम्म आयात हँुदै आएको भए पनि अहिले लिमी, लाप्चा, सिमीकोट मोटरबाटोअन्तर्गत सिमीकोटदेखि २२ किमिमा अवस्थित सल्लीसम्म मोटर आएपछि सहज भएको अन्य व्यापारी बताउँछन् । यसैगरी हिल्सा, सिमीकोट नाकाबाट यो वर्ष करिब एक हजार पाँच सय र चावा खोलाबाट पाँच सय च्यांग्रा आयात भएको अनुमान छ । गत वर्षभन्दा यो वर्ष चिनिया नाकामा सुरक्षा व्यवस्था कडा पारिएको भए पनि हुम्ला र चीनको नाकाभन्दा केही यतासम्म मोटर सुविधा पुगेको छ ।

प्रतिक्रिया