लहान । लहान–५ स्थित रहेको हाटबजारको घरटहरा भत्काउँदा झडप भएको छ । आफ्नो गरी खाने ठाउँ नै नगरपालिकाले भत्काउन थालेकाले स्थानीयवासीले अवरोध गर्दा झडप भएको हो । जहाँ नगरपालिकाले हाटबजारमा रहेको घरटहरा हटाउँदा/भत्काउँदा अर्को व्यवस्था गरी मात्रै तोडफोड गर्ने सम्झौता गरेका थिए । अर्कातर्फ अदालतको निर्णय विपरीत तथा सम्झौता भंग गरी १२ असोजमा लहान नगरपालिकाका मेयर मुनी साहको निर्देशनमा दर्जनाँै नागरिकमाथि नगर प्रहरीले कुटपिट गरेका छन् । नगर प्रहरीको लाठी प्रहारबाट गुडिया खातुन, रामऔतार शर्मा गरी दर्जनबढीको हातखुट्टा तथा टाउकोमा गम्भीर चोट लागेको छ ।
प्रहरीको प्रहारबाट बालबालिका र महिलासमेत घाइते भएका छन् । अधिकांशको टाउकोमा प्रहार गर्दा दर्जनौ टाँका लागेको एकीकृत समाजवादीका नेता सत्यनारायण यादवले बताए । बुधबार बिहान नगरप्रहरी, सशस्त्र प्रहरी, जनपद प्रहरीको संरक्षणमा लहान–५ स्थित रहेको हाटबजारको घरटहरा भत्काउँदा स्थानीयवासीसहित चार राजनीतिक दलका प्रतिनिधिले प्रतिकार गरेका थिए । ‘हामी विकास विरोधी होइन, जनताको रोजीरोटीको व्यवस्था गरेर भत्काउने बनाउने काम गरेको भए प्रतिकार गर्ने आवश्यकता नै छैन । हामी विकास निर्माण कार्यको स्वागत गर्छौं’, नेपाली काँग्रेसका लहान नगर समितिका अध्यक्ष सुनिल महतोले बताए ।
‘विकास हामीलाई चाहेको छ, आज ४० वर्षदेखि गुजारा गरिरहेका त्यस हाटबजारका मानिस अब बेरोजगार हुने अवस्था पुगे । यिनीहरूको व्यवस्थापन गर्न नगरप्रमुखको दायित्व हो कि होइन ? जहाँ रोजगारी दिनुपर्ने हो तर, मेयर मुनीले बेरोगार बनाउँने गरेकोले प्रतिकार गर्न बाध्य भए’, लहान उद्योग वाणिज्य संघका अब्दुल करिमले बताए । नेकपा माओवादी लहान नगर कमिटीका अध्यक्ष विजय गुप्ताले मेयर मुनीले आफ्नै घरको पछाडि रहेको सार्वजनिक जग्गा कब्जा गरेर राखेका छन् । त्यो सार्वजनिक जग्गामा व्यवस्थापन गरी यिनीहरूलाई रोजगारी दिएको भए हामी प्रतिकारमा उत्रिने कुनै बाध्यता नै छैन । मेयर जस्तोले जग्गा कब्जा गरेर जनतालाई दुःख दिनु लजास्पद हो गुप्ताले बताए ।
नगरपालिकाका एक कर्मचारीका अनुसार मेयर मुनी साहको कार्यवधि केही महिनामा सकिने भएपछि यो काम अधुरो नै रहने भएकोले हतारमा निर्माण विकास गर्नुपर्ने जरुरी रहेको बताए । विकास निर्माणप्रति सबैको मनसाय सकारात्मक नै रहन्छन् । तर, वर्षौंदेखि गरिखाँदै आएका व्यक्तिलाई रोजीरोटी मारिदिएपछि आक्रोशित हुनु स्वभाविक नै हो ।
प्रतिक्रिया