खाली हुँदै पालिकाका आइसोलेसन

चितवन । जिल्लाका सात पालिकाले सञ्चालन गरेको आइसोलेसनमा कोरोना संक्रमित आउन छाडेपछि खाली भएका छन् । यहाँका पालिकाले गत चैतदेखि सञ्चालनमा ल्याएको आइसोलेसनमा अहिले बिरामीको संख्या शून्य भएसँगै आइसोलेन खाली भएका हुन् । कोरोना संक्रमण दर बढ्दै जाँदा गत जेठ र असारमा ती आइसोलेसनमा दैनिक ५० भन्दाबढी बिरामीको उपचार गराइएको चितवन स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार जिल्लाका सात पालिकामा १ सय २५ शय्याको आइसोलेसन स्थापना गरिएको थियो ।

भरतपुर महानगरपाकिलामा ३०, माडी नगरपालिकामा–१०, खैरहनी नगरपालिकामा–२०, राप्ती नगरपालिकामा–२०, कालिका नगरपालिकामा–१२ रत्ननगर नगरपालिकामा–आठ र इच्छाकामना गाउँपालिकामा २५ शय्याको आइसोलेसन सञ्चालनमा ल्याइएको थियो ।
विगत केही समयदेखि राप्ती र खैरहनीकोे आइसोलेसनमा बिरामीको संख्या शून्य हुँदै आएकामा अहिले सबै आइसोलेसनमा बिरामीको संख्या शून्य भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गत फागुनमा सबै स्थानीय तहलाई आइसोलेसन स्थापनाका लागि अनुरोध गरेकामा सोहीअनुसार सञ्चालनमा आएको आइसोलेसन अहिले बिरामी शून्य भएपछि सञ्चालनमा आउन सकेका छैनन् । ‘सञ्चालनमा नआए पनि बिरामी बढ्दै गए त्यहाँ राख्न सकिनेछ’, उनले भने, ‘आइसोलेसन बन्द गरिएको छैन । अहिले सञ्चालनमा मात्र नल्याइएको हो ।’ कतिपय आइसोलेसन अस्पतालमा नै सञ्चालन भइरहेकाले आवश्यकतानुसार सञ्चालन गर्न सकिने उनको भनाइ थियो । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ६० रहेकामा ५ सय २१ होम आइसोलेसनमा छन् भने ३९ अस्पतालमा उपचाररत छन् । जिल्लामा हालसम्म २५ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ४ सय १२ को मृत्यु भइसकेको छ भने २४ हजार ८ सय ५३ निको भएर घर फर्किसकेका छन् । यहाँका अस्पतालमा अहिले ५२ संक्रमितको उपचार भइरहेको छ । यहाँका अस्पतालमा ५ सय ९२ शय्या कोभिडका बिरामीको लागि छुट्याइएको थियो ।

प्रतिक्रिया