बसपार्कको सदुपयोग नहुँदा बजार क्षेत्र अस्तव्यस्त

पाँचथर । पाँचथरको फिदिममा तीन वर्ष अघिबाट सञ्चालनमा आएको स्थायी बसपार्कको सदुपयोग हुन सकेको छैन । व्यवस्थित संरचना निर्माण गर्दै नयाँ सहरको रूपमा विकास गर्ने योजनाका साथ सरकारी निकाय अगाडि बढे पनि निर्माण भएकै संरचना प्रयोगमा नआउँदा बजार क्षेत्र अस्तब्यस्त बन्ने गरेको छ । फिदिमको बजारी क्षेत्रको सवारी चापलाई नियन्त्रित र व्यवस्थित गर्दै स्वच्छ, सफा र सुन्दर सहर निर्माणका लागि विगतमा बसपार्क निर्माण यहाँका सबै सरोकारवालाको साझा भावना थियो । ०७५ साल मंसिरबाट सञ्चालनमा आएको बसपार्कको अहिलेसम्म सदुपयोग हुन सकेको छैन । बजार क्षेत्रमा सवारी चाप दिनानुदिन बढ्दै जाँदा व्यवस्थापनमा चुनौती थपिँदै गएका छन् ।

अहिले लामो दुरीका सवारीका साधन पार्किङ तथा यात्रु चढाउने, उतार्ने कामसमेत बजार क्षेत्रबाटै भइरहेको छ भने छोटो दुरीका सवारीका साधन प्रायजसो बसपार्क नै पुग्दैनन् । ०७१ र ०७५ साल गरी दुईपटक उद्घाटन गरिएको बसपार्क नियमित सञ्चालन नभएको जनाउँदै स्थानीयवासी चिन्तित छन् । स्थानीयवासीले सोमबार मात्रै फिदिम नगरपालिकासहित सम्वद्ध सरोकारवाला निकायहरूमा ज्ञापनपत्र बुझाएका छन् । स्थानीयवासी कमलराज नेम्वाङले भने, ‘एकातर्फ तीन वर्षअघि निर्माण पूरा भएको खाली छ, बसपार्कको सदुपयोग भएको छैन । अर्कातर्फ बजार क्षेत्रमा जामले अस्तब्यस्तता बढाएको छ ।’

बसपार्क सञ्चालन नहुँदा सरकारी लगानी सदुपयोग नभएको, निःशुल्क जग्गा उपलब्ध गराएका स्थानीयवासी लाभ प्राप्त गर्न नसकेको तथा बजार क्षेत्रमा अस्तव्यस्तता बढेको छ । सरकारी लगानीको उपयोग गराउन तथा बजार क्षेत्रको समस्या हल गर्न प्रभावकारी रूपमा बसपार्क सञ्चालनमा ल्याउन आफूहरूले माग गरेको उनले बताए । ‘स्थानीय सरकारले आफ्नो सम्पत्तिका रूपमा लिएर बसपार्कको प्रभावकारी सञ्चालन गराउनुपर्छ’, उनले भने, ‘यसमा स्थानीय सरकारको इच्छाशक्ति नभएको देखिन्छ ।’

सम्बद्ध निकाय भने बसपार्कको कार्यान्वयनमा प्रतिवद्ध रहेको बताउँछ । यद्यपि तालुकदार निकायसँग स्पष्ट खाका नहुँदा बसपार्कको सञ्चालन र बजार क्षेत्रका समस्या समाधानमा मार्गचित्र स्पष्ट छैन । फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले नगरपालिका स्थायी बसपार्कको प्रभावकारी सञ्चालनमा प्रतिवद्ध रहेपनि व्यवसायीले सहयोग नगरेको गुनासो गरे । ‘यातायात व्यवसायी र फिदिम बजारका व्यापारीहरूले नगरपालिकालाई साथ नदिएको भान भएको छ’, उनले भने, ‘अब सबै पक्षलाई राखेर एकपटक म छलफल गराउँछु । त्यहाँबाट निष्कर्ष निकालेर अगाडि बढ्ने योजना छ ।’ पल्लोटारमा बसपार्क सञ्चालन हुँदैमा फिदिमको बजार नसर्ने र व्यवसायीहरूलाई समस्या नपर्ने भए पनि मनाउन नसकिएको नगरप्रमुख नेम्वाङको भनाइ छ ।

विगतमा समेत बसपार्कको कार्यान्वयनका लागि पटकपटक पहल भएका थिए । बसपार्कमा पार्किङ गर्ने तथा बसपार्कको बाटो हुँदै अगाडि बढ्ने लामो दुरीका सवारी साधनका चालकलाई स्वागतसमेत गरिएको थियो । बसपार्क कार्यान्वयनका बल प्रयोगसमेत भएको थियो । बजारबाट डेढ किलोमिटर टाढा रहेको बसपार्क सवारीका पार्किङ, सवारी साधनका यात्रुको किनमेल तथा बजारसँग सम्बन्धित कार्य गर्न तथा सवारी साधनका चालक तथा कामदारका आवश्यकता पूरा गर्न नसक्ने भएपछि नियमित सञ्चालन हुन सकिरहेको छैन । विगतमा बसपार्कको बाटो प्रयोगलाई अनिवार्य गर्दासमेत यहाँ पार्किङ गर्ने सवारीको संख्या निकै न्यून हुने गरेको थियो ।

यात्रु तथा आफ्नो सहजताका लागि सवारी चालकले सवारीलाई बजार क्षेत्रमा पार्किङ गर्ने र बजार क्षेत्रबाट मानिस चढाउने तथा उतार्ने गरेका छन् । बढ्दो सुविधासँगै यात्रु बसपार्क पुगेर सवारीका साधन प्रयोग गर्न तयार नहुँदा ब्यवसायी तथा चालक चेपुवामा पर्ने गरेका छन् । बढ्दो मानवीय तथा सवारी साधनको चापलाई व्यवस्थित गर्न ०५१ सालबाट फिदिम–२, पल्लोटारमा स्थायी बसपार्क निर्माण थालिएको थियो । १० जना स्थानीयवासीले निःशुल्क प्रदान गरेको नौ रोपनी जमिनमा करिब तीन करोड लगानीमा सुविधायुक्त बसपार्क निर्माण गरिएको छ ।
बसपार्कको प्रभावकारी सञ्चालन नहुँदा बजार क्षेत्रमा भने सवारी चाप बढ्दो छ । साँघुरो सडकमा मापदण्डविपरीत हुने सवारी पार्किङ, लोड अनलोड तथा यात्रु चढाउने, उतार्ने कार्यले ट्राफिक व्यवस्थापन अस्तब्यस्त बन्ने गरेको छ । सबै पक्षको जोडबलले २० वर्षमा बनेको बसपार्कसमेत कार्यान्वयन नहुँदा नयाँ सहरको रूपमा विकास गर्ने सरकारी लक्ष्यअनुसारका काम फिदिममा हुनेमा धेरैले शंका व्यक्त गर्ने गरेका छन् ।

प्रतिक्रिया