सविनाका संवेगात्मक चित्र

काठमाडौं । प्रा.डा. सविना श्रेष्ठका समाज, संस्कृति, प्रकृति, मानवीय मनोविज्ञान तथा विज्ञान लगायतका विविध पक्ष समेटिएका कलाकृतिको एकल प्रदर्शनी भएको छ । ‘भाइव्रेसनस्’ शीर्षकमा बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भएको प्रदर्शनीको शुभारम्भ गर्दै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले कलाले मानिसलाई संवेगात्मक रुपमा समेट्ने बताए । उनले कलाकार सविनाले मानवीय संवेगलाई कलात्मक रुपमा क्यानभासमा उनेको बताउँदै आगामी दिनमा अझ सशक्त रुपमा अगाडि बढ्न आग्रह गरे । उनले भने, ‘कलाले मानिसको सम्बन्ध र भावनालाई जोड्ने भएकाले यसको महत्व र सिर्जनाशक्तिमा कलाकार तथा चिकित्सक सविनाले आफूलाई समाहित गरेको देखिन्छ ।’

अग्रज कलाकार हरिप्रसाद शर्माले कलाले मानिस, समाज र इतिहासलाई सधैं उठाउने भएकाले कलाकार सविनाले भविष्यमा नेपाली कलाक्षेत्रलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले कलाकार सविनाका कलामा विषयको विविधता र भावनात्मक पक्ष सशक्त रुपमा आएको बताए । अग्रज कलाकार तथा ललितकला क्याम्पसका पूर्वप्रमुख गोविन्द डंगोलले कलामा समाज, संस्कृति, मानव, प्रकृति आदि विषयलाई कलाकार सविनाले निकै आकर्षक र कलात्मक रुपमा उतारेको बताए । उनले सिर्जनामार्फत विचार र संवेगलाई उतारेर कलाकारले आफूलाई सवल रुपमा प्रस्तुत गरेको धारणा राखे ।

सो कार्यक्रममा आरभ बिजुक्छे र आयुष श्रेष्ठले कलाकार सविनाका कलाकृतिका बारेमा चर्चा गर्दै कलामार्फत आफूभित्रको सिर्जनाशक्तिलाई प्रकट गरेका बताए । जीवन र जगतका शाश्वत पक्षलाई रङ र रेखाका माध्यमबाट आफूलाई अभिव्यक्त गरेको कलाकार प्रा.डा. श्रेष्ठले बताइन् । उनले कलाको सिर्जनात्मक शक्तिले आफूलाई सदैव सकारात्मक बनाउन अभिप्रेरित गरेको बताउँदै भनिन, ‘कलाले जीवनलाई अर्थपूर्ण र क्रियाशील बनाउन निकै सहयोग पुग्छ ।’ प्रा.डा. श्रेष्ठ एक चिकित्सक तथा आँखा रोग विशेषज्ञसमेत हुन् । बंगलादेशबाट चिकित्साशास्त्र अध्ययनपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालबाट आँखा विषयमा विशेषज्ञता हासिल गरेकी प्रा.डा. श्रेष्ठले लामोे समय नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा नेत्र विशेषज्ञको रुपमा काम गरिसकेकी छन् । साथै सोही अस्पतालमा डेढ वर्ष मेडिकला डाइरेक्टरको रुपमा काम गरेको अनुभव छ । हाल काठमाडौं मेडिकला कलेजमा प्राध्यापकका रुपमा कार्यरत् श्रेष्ठले भारतबाट बाल आँखा रोगमा थप तालिमसमेत लिएकी छन् । साहित्यमा पनि सक्रिय डा. श्रेष्ठका दुईवटा कविता संग्रह प्रकाशित छन् ।

प्रतिक्रिया