नासिँदै बिसाउने चौतारी

पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरूको थकाइ मेटाउने थलो चौतारीहरू अहिले नासिँदै जान थालेका छन् । गर्मीमा दौँतरीहरू बसेर शीतल हावा लिँदै माया प्रेमका कुरा गर्ने तथा बागचाल खेल्ने थलोका रूपमा रहेका चौतारीहरू पछिल्लो समय नासिँदै गएका हुन् । चौतारी, पोखरी ग्रामीण जीवनको मौलिकता दिने संरचना पनि हुन् । यी मौलिकताका पहिचानहरू हराएसँगै यसबाट लिन सकिने आनन्दबाट पनि अहिलेको पुस्ता वञ्चित हुन पुगेको छ ।

पहिले अहिलेको जस्तो यातायातका साधनहरू नहुँदा भरियाबाट नै सामानहरू बोक्ने काम हुन्थ्यो । ती भरियाले भारी बिसाउने ठाउँ पनि चौतारी नै थिए । भरिया तथा लामो बाटो हिँड्नुपर्ने बटुवाहरूको थकान मेटाउने उचित स्थान पनि यिनै चौतारी नै थिए । यति मात्र नभएर युवायुवतीको माया प्रेम दर्शाउने, पाकापुस्ताहरू एकै ठाउँमा जम्मा भएर यसो दुःखसुखका कुराकानी गर्ने ठाउँ हो, चौतारी । त्यसै गरी चौतारीमा चौपाया हेर्न गएका गोठाला तथा घरायसी काम सेकर फुर्सदिला व्यक्तिहरू पनि भेला भएर बागचाल खेली दिन बिताउन प्रयोग गर्ने गर्दथे ।

आध्यात्मिक दर्शनमा पनि चौतारीको ठूलो महत्व रहेको छ । यसलाई मानिसले पूण्य कमाउने एक संरचनाका रूपमा पनि लिने गर्छन् । मानिसहरूले पहिले बाटोघाटो बनाउने, चौतारी चिन्ने, पोखरी खन्नेजस्ता कार्यलाई पूण्य कमाउने कामका रूपमा पनि लिने गर्दथे । ती चौतारीमा वरपीपल सार्ने भएकाले पीपलले अन्य बोटवृक्षको तुलनामा बढी अक्सिजन दिने र उकालो ओरालो हिँडेर र भारी बोकेर स्वाँस्वाँ भई सास फेर्न गाह्रो भएका मानिसलाई चौतारीमा बस्दा त्यहाँबाट आउने अक्सिजनले थकाइ मेट्ने गर्दछ । यसरी यी संरचनाहरू मानिसको स्वास्थ्यसँग पनि जोडिएका छन् ।

नेपालमा पछिल्लो समयमा विकासका नाममा मोटरबाटो खन्ने होडबाजी सुुरु भएपछि भौतिक र आध्यात्मिक जीवनका यी महत्वपूर्ण सम्पदा नास हुँदै गएका छन् । मोटरबाटोको सुविधा र सवारी साधनको प्रयोगसँगै चौतारीहरू बिर्सिंदै जान थालिएको छ । मान्छेहरू हिँडडुल गर्न छाडेसँगै चौतारीको महत्व पनि कम हुन थाल्यो । तर, चौतारी अस्तित्व र महत्व विकाससँग मात्र होइन पर्यावरण र मान्छेको जीवनसँग पनि जोडिएको हुनाले चौतारीको महत्व र गरिमा कालजयी बनेर रहने पं. नीलकण्ठ शर्मा आचार्यले बताए ।

उनका अनुसार चार कुना मिलाएर बनाइएको चौतारीमा वर र पीपलसँगै (नजिकै) रोपिने हुँदा वर र पीपलको बीचबाट हिँड्न नमिलेर दाहिने पारेर हिँड्ने व्यवस्था मिलाइएको बाटो, छेउमा नै कुवा वा धारो र आनन्दसँग बस्न मिल्ने ठाउँमा बागचाल खेल्ने कोठा परम्परागत चौतारोकोे विशेषता हुने गर्दछ ।

गर्मी महिनामा गुन्द्री बिछ्याएर आराम गर्दा पाइने ‘स्वर्गीय आनन्द’को एउटै आश्रयस्थल चौतारी हुन् । अब के फेरि पनि पहिलेको जस्तै ब्युँतिएलान् त पुर्खाले बनाएको थकान भुलाउने चौतारी ? अन्यत्र यसप्रति कुनै चासो राखेको नपाइए पनि म्याग्दीमा भने केही जनप्रतिनिधि र सर्वसाधारणले बचेका चौतारीहरूको मर्मत र संरक्षण तथा नयाँ चौतारी निर्माणमा चासो देखाएका छन् । गण्डकी प्रदेश सरकारले पनि पुर्खाले बनाएको चौतारो ब्युँताउने अभियान नै चलाएको छ ।

गण्डकी प्रदेश सरकार ऐन नै बनाएर चौतारी संरक्षण गर्ने अभियानमा लागेको छ । गण्डकी प्रदेशसभाले २०७५ माघ २७ गते स्वीकृत गरेको विधेयकले प्रदेशको मातहतभित्रका कुनै पनि चौतारोमा भौतिक क्षति पु¥याउनुलाई कानुनी रूपमा दण्डनीय कार्यका रूपमा परिभाषित गरेको छ । यसको संरक्षण गर्नु सबैको कर्तव्य भन्दै कसैले यसमा क्षति पु¥याए प्रचलित कानुनबमोजिम दण्ड दिइने व्यवस्थासमेत गरिएको छ । उक्त ऐनले वर, पीपल, समी र चौतारोको संरक्षणमा जोड दिएको छ । ऐनले पुराना चौतारोलाई पुनर्जीवन दिन र नयाँ चौतारो निर्माणमा समेत तीव्रता दिनका लागि एउटा कोषको समेत व्यवस्था गर्न भनेको छ ।

सो कोषमा नेपाल, सरकार, प्रदेश सरकार, स्थानीय तह, विभिन्न व्यक्ति तथा संस्थाले दिएको सहयोग रकमलाई समेत राख्न सकिने र त्यसरी प्राप्त भएको रकम वरपीपल र समी रोप्न, चौतारो निर्माण, चौतारो वरिपरि कुवा कुण्ड वा पोखरी निर्माण गर्न तथा जीर्ण चौतारोको मर्मतबाहेक अरू काममा खर्च गर्न नपाइने स्पष्ट उल्लेख ऐनमा नै गरेको छ ।

यसरी चौतारो निर्माण कार्य सुरु गरेसँगै गण्डकी प्रदेश मातहत गत आर्थिक वर्षमा मात्रै झन्डै २० वटा चौतारो निर्माण भइसकेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार एउटा चौतारो निर्माणका लागि एक लाख रुपैयाँ विनियोजन गर्ने गरिएको छ ।

म्याग्दीका स्थानीयतह र समुदाय पनि पर्यावरणीय र धार्मिक महत्वका चौतारीहरूको संरक्षण, मर्मत र निर्माण कार्यमा जुटेका छन् । विकास र सुविधाको नाउमा नासिँदै गएका ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरूको संरक्षणका लागि यहाँका केही स्थानीय तहहरूले समुदायसँगको सहकार्यमा सामूहिक अभियान सुरु गरेका छन् ।

धार्मिक मान्यता र पर्यावरणीय शुद्धतासँग साइनो गाँसिएका वर–पीपल र चौतारी–पोखरीको संरक्षण र मर्मतसंहारका लागि म्याग्दीका विभिन्न गाउँहरूमा अभियान नै सञ्चालन गरिएको छ । छवटा स्थानीय तह रहेको म्याग्दीका धौलागिरि गाउँपालिकाबाहेक बेनी नगरपालिका, मंगला, मालिक, रघुगंगा र अन्नपूर्ण गरी पाँच वटा स्थानीय तहका १४ वटा वडामा वर–पीपल लगाउने र चौतारी–पोखरी निर्माण गर्ने कामले तीव्रता पाएको छ ।

बेनी नगरपालिकालगायत केही स्थानीय तहका वडाहरूले बजेट नै छुट्याएर वर–पीपल र चौतारी–पोखरी संरक्षण, मर्मत तथा निर्माण कार्य गरेका छन् भने कुनै वडामा स्थानीय सामुदायिक वन उपभोक्ता समूह, समुदाय र व्यक्तिगत रुपमा समेत वरपीपल लगाउने र चौतारी पोखरी निर्माण गर्ने काम भइरहेको छ ।

बेनी नगरपालिका–६ ले गत वर्षदेखि वडाभित्र रहेका पुराना वरपीपल, चौतारी–पोखरी र पँधेरा–कुवाको संरक्षण अभियानमा करिब पाँच लाख रुपैयाँ बजेट खर्च गरेको बेनी नगरपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँले बताए । पुराना सम्पदाको संरक्षणसँगै नयाँ पुस्तालाई जानकारी गराउने गरी वडाभित्र रहेका दशकाैं अगाडिका वरपीपल, चौतारी, पोखरी र धाराको संरक्षण गरिएको उनले बताए । ग्रामीण वस्तुको महत्व र यसको सुन्दर कायम राख्न वर्षौंपहिले रोपिएका वरपीपल र निर्माण गरिएका चौतारी, पोखरी, कुवा र धारा (पँधेरा) को संरक्षण र मर्मतमा स्थानीयवासीको चासो बढेको अध्यक्ष बानियाँले बताए ।

उनका अनुसार एक सय वर्षभन्दा पुराना वरपीपलका रूख रोप्नेहरूको विवरण संकलन गरी परिवारबाटै संरक्षणको प्रयास गरिएको छ । गत वर्ष पोखरी संरक्षणका लागि गण्डकी प्रदेशबाट प्राप्त वरपीपल संरक्षण तथा रोपणका लागि तीन लाख रुपैयाँ र चौतारी तथा कुवाका मर्मतसंहारका लागि दुई लाख बजेट खर्च गरिएको उनले बताए । उक्त बजेटबाट थानकपोखरी, जरबुटामा वरपीपल रोपन र चौतारी निर्माण, छापको घोतघोतको पोखरी संरक्षण गरिएको थियो । वरपीपल रोप्ने, चौतारी पोखरी बनाउनेको अभिलेख राख्ने र वडामा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्यांक राख्ने कामसमेत वडाले गरेको छ ।

वडामा अहिलेसम्मको तथ्यांकअनुसार ५० भन्दा बढी वरपीपल र चौतारी छन् । त्यसैगरी ५० भन्दा धेरै पानीका कुवा र पोखरी पुरिएको अवस्थामा भेटिएको वडाले जनाएको छ । स्थानीयवासीको सहयोगमा वरपीपल मास्न, काट्न, रूखको मौलिकतालाई बिगार्न नदिने र पुरानो भएर जोखिमपूर्ण अवस्थामा पुगेका रूखको वडा कार्यालयबाट अनुमति लिएर हाँगा काँटछाँट गर्ने जिम्मेवारी दिइएको छ ।

त्यसैगरी बेनी नगरपालिका–५ पुलाचौरको देउपुर्ने, आँटी पानीपँधेरा सामुदायिक वनमा १ सय ८ वरपीपलका बिरुवा रोपिएको छ । बढ्दै गइरहेको अक्सिजन अभाव र वातावरणीय प्रदूषण कम गर्ने उद्देश्यले सामुदायिक वन क्षेत्रमा १ सय ८ वरपीपलसहित स्वामी र बेलका गरी १ सय ३७ वटा बिरुवा रोपिएको हो ।

देउपुर्ने र आँटी पानीपँधेरा सामुदायिक वन उपभोक्ता समिति र विश्व हिन्दू महासंघ बेनी नगरपालिका–५ को सहकार्यमा बिरुवा रोपण कार्यक्रम गरिएको देउपुर्ने र आँटी पानीपँधेरा सामुदायिक वन उपभोक्ता समितिका सदस्य चिरञ्जीवी सुवेदीले जानकारी दिए । यता बेनी नगरपालिका–२ ज्यामरुककोटमा स्थानीयवासी चन्द्रबहादुर कार्कीले आफ्नै निजी लगानीमा १७ वटा चौतारी निर्माण, १ सय ७४ ठाउँमा वरपीपल रोपण र आठवटा पोखरी निर्माण गरेका छन् । ‘मैले यो काम धर्म कमाउने लोभले नभई वातावरणको शुद्धता र बटुवालाई शीतलता प्राप्त होला भनेर गरेको हुँ,’ ५६ वर्षीय कार्कीले भने ।

प्रतिक्रिया