ओलम्पिकमा स्वर्ण ल्याउनेलाई एक करोड

काठमाडौं : ओलम्पिक खेलबाट स्वर्ण पदक ल्याउने खेलाडीलाई सरकारले पुरस्कार स्वरूप एक करोड रुपियाँ दिने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले रजत पदक ल्याउनेलाई ७५ लाख र कास्य पदक ल्याउनेलाई ५० लाख रुपियाँ दिने निर्णय पनि गरेको छ । त्यस्तै, समूहगततर्फ ओलम्पिकमा स्वर्ण पदक ल्याउनेलाई ४० लाख, रजत पदक ल्याउने लाई ३५ लाख र कास्य पदक ल्याउनेलाई २० लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । मन्त्री यादवका अनुसार व्यक्तिगत प्रतिस्पर्धामा दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण जितेबापत पाँच लाख रुपियाँ, रजत पदक जिते तीन लाख र कास्य पदक जितेबापत दुई लाख रुपियाँ दिने निर्णय गरेको छ । एसियाडमा स्वर्ण जितेबापत २५ लाख, रजत पदक जितेबापत १५ लाख र कास्य पदक जितेबापत दस लाख रुपियाँ दिने निर्णय गरेको छ ।
प्रशिक्षण र सहयोग गर्ने संस्थालाई पनि पुरस्कृत गर्ने बैठकले निर्णय गरेको छ । पदक जितेका खेलाडीले सन्न्यास लिएमा २५ लाख रुपियाँँको आवास सुविधा पाउने पनि व्यवस्था गरिएको मन्त्री यादवले जानकारी दिए ।
त्यसैगरी, बैठकले नेपाली सेनाका सहायक रथी रमिन्द्र क्षेत्रीसहित १० जना, महासेनानी रमेशराज महतसहित १४ जना र उपरथी पवन पाण्डेसहित आठजनालाई सरुवा गर्ने निर्णय पनि गरेको छ । सहायक रथी राजेन्द्र विक्रम शाहलाई उपरथीमा बढुवा गरी मध्यपश्चिम पृतनामा पदस्थापन गरिएको छ ।
बैठकले सुदूरपश्चिम विकास आयोग गठन गर्ने निर्णय पनि गरेको छ । सशस्त्र प्रहरी बलका लागि दुई हजार दुई सय ५० दरबन्दीसहित औद्योगिक र राजस्व सुरक्षा बल गठन गर्ने निर्णय बैठकले गरेको छ । यसैगरी, बैठकले केन्द्रीय हज कमिटीलाई ८१ लाख रुपियाँ दिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया