काठमाडौं : लोकगायक खेम गुरुङले लोकगीतको अडियो र पुस्तक एकसाथ बजारमा ल्याएका छन् । ‘ढाक्र’ नाम दिइएका यी दुवै कृति आइतबार राजधानीको प्रज्ञा–प्रतिष्ठानमा विमोचन गरिए । संखुवासभा–काठमाडौं जर्नालिस्ट एसोसिएसनको आयोजनामा संगीतकार प्रकाश गुरुङले यी कृति विमोचन गरे । संगीतकार गुरुङले दुवै कृतिको सफलताको कामना गरे भने साहित्यकार श्रवण मुकारुङले खेम गुरुङमा गायक, कवि र संगीतकार तीनैवटा क्षमता रहेको चर्चा गरे । खेमले ढाक्रे एल्बममा आफ्नै समाज–समुदायका भोगाइलाई उतारिएको बताए ।
आयोजक संस्थाका अध्यक्ष तथा पत्रकार दीपेन्द्र वान्तवाले नेपाली सांगीतिक क्षेत्रमा प्रयोग नभएको ढाक्रेहरूको जीवनलाई कृतिमा उतारिएको चर्चा गरे । कार्यक्रममा गीतकार वीरेन्द्र राई, संगीतकार महेश खड्कालगायतको पनि उपस्थिति थियो । खेमले आफ्नै शब्द, संकलन, रचना, लय, संगीत र स्वरमा १० वर्षपछि यो एल्बम बजारमा ल्याएका हुन् । (सौस)
प्रतिक्रिया