फुङलिङ बजारका पसलहरुमा अनुगमन

ताप्लेजुङ, १६ भदौ । ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङ बजारका अधिकांस व्यवसायीहरुले पसलमा मूल्य सूचि नराखेर उपभोक्तालाई ठगी गरेको अनुगमनका क्रममा खुलेको छ । जिल्ला बजार अनुगमन उप–समितिले आज गरेको अनुगमनका क्रममा त्यस्तो पाएको जनाएको हो ।
सूचि नभएका कारण पसलै पिच्छे एउटै सामानको मूल्यमा फरक रुपियाँ लिने गरेको उपसमितिले जनाएको छ । विशेष गरेर बोइलर कुखुरा तथा माछा, मासु व्यवसायीले फरक फरक दरमा विक्री गर्ने गरेको पाइएको छ ।
व्यवसायीहरुले पसलमा मूल्य सूचि नराख्दा उपभोक्तहरु ठगिने गरेको स्थानीयको गुनासो छ ।
अनुगमनमा निस्किएको उपसमितिले मूल्य सूचि नराख्ने व्यवसायीहरुलाई आज पहिलो पटक चेतावनी सहित पसलमा सूचि राख्न आग्रह गरेको छ ।
व्यवसायीहरुले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा दर्ता नगराएको, लामो समय सम्म ढक तराजु एउटै प्रयोग गरेको, साइन बोर्ड नराखेको, स्थाई लेखा तथा भ्याट दर्ता नगराएकोलगायतका समस्या पसलहरुमा फेला परेको उपसमितिले जनाएको छ ।
वासी मासु बिक्री गर्ने व्यापारीलाई आगामी दिनमा त्यस्ता मासु बेचविखन नगर्न र गरेको पाइएमा आवश्यक कावाही गर्ने घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय ताप्लेजुङका अधिकृत नवीनकुमार पौडेलले बताए ।
मासु व्यवसायीले पसल सफा सुग्घर राख्नुपर्ने, झिङ्गा भन्कन नदिन झुलको प्रयोग गर्नु पर्ने तथा बिक्री भइनसकेको ताजा मासु भण्डारण गर्नलाई फ्रिजको व्यवस्था गर्न सुझाव दिएको छ ।
बजारका मीठाई पसलमा झिङ्गा परेको रसबरी अनुगमनका क्रममा फेला परेका छन् । मुन्ना भाइ चटपटे तथा मीठाई पसलमा झिङ्गा परेका रसवरीलाई टोलीले नष्ट गरेको छ ।
फ्रेस हाउस सञ्चालकले फ्रेस हाउससंगै सागसब्जी तथा फलफूललगायतको व्यपार गरेको भन्दै उपसमितिले त्यस्ता कार्य पनि रोक्न चेतावनी दिएको छ ।
बजारमा हुनसक्ने कालोबजारी नियन्त्रण तथा उपभोत्ता ठगीलाई नियन्त्रण गर्न उपसमितिले अनुगमनलाई तिब्र पारेको हो ।

प्रतिक्रिया