चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा स्थगित

काठमाडौं । करिब साढे तीन सय वर्षदेखि प्रत्येक वर्ष हुँदै आएको चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगित गरिएको छ । जात्रा नभए पनि अमालकोटबाट हुने पूजालगायत मन्दिरभित्रका विधि भने पूरा गरिने जात्रा समन्वय समितिका संयोजनक नवीन गोर्खालीले जानकारी दिए । पशुपतिनाथ अमालकोट कचहरीका द्वारेले पहिलो दिन चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुरु हुने परम्परा छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्गशीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चाबहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको सुरुआत गराएको विश्वास गरिन्छ । जात्राको पहिलो दिन ‘मलजा नकेगु’ अर्थात् कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाउने परम्परा छ । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यतासमेत छ ।

पूर्णिमाका दिन बेलुकी सोमबार मन्दिर परिसरमा धुनी जगाउने विधिसमेत गरिनेछ । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउने परम्परा छ । मार्ग शीर्ष कृष्ण प्रतिपदाका दिन बिहान श्री चन्द्रविनायक र श्री भैरवनाथको खट उठाइन्छ । जात्राको दोस्रो दिन गणेशलाई ‘हलमली’ अर्थात् मकै, गहुँ, भटमास, सखरखण्ड, पिँडालु, लड्डु, पेडा र लावा चढाइन्छ । यी चढाइएका चीज प्रसादका रूपमा बेलुकी जात्रालु एवं भक्तजनलाई बाँडिन्छ । यसैगरी दोस्रो दिन श्री चन्द्रविनायक तथा श्री भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गंगाहिटीमा लगेर स्नान गराउने विधि छ । स्नानपछि दुवै खटलाई बेलुकी चारुमती बिहारमा लगेर बिसाइन्छ । मार्ग शीर्ष कृष्ण द्वितीयाका दिन दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराएर त्यहीँदेखि चुच्चेपाटीसम्मका मूल चोकहरूमा घुमाउने जात्रा विधि छ । बेलुकी भने चारुमती बहालमै रथ नचाई टसी अर्थात् बिमिरो प्रसादका रूपमा वितरण गरिन्छ ।

मार्ग शीर्ष कृष्ण तृतीयाका दिन बिहान अमालकोट कचहरीका द्वारेले श्री चन्द्रविनायक र श्री भैरवनाथलाई अबिर चढाएपछि जात्रा समापन हुन्छ । चार दिने जात्रा सफलतापूर्वक समापन भएको खुसीयालीमा तृतीयाका दिन दिनभर चाबहिल क्षेत्रमा सिन्दूर जात्रा गरिन्छ ।

कोरोनाका कारण गत वर्ष चैतदेखि नै चन्द्रविनायक मन्दिर बन्द गरिएको छ । ०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । एक महिनामा मन्दिर पुनर्निर्माण सम्पन्न हुने काठमाडौं महानगरपालिका–७ का अध्यक्ष शुद्धकुमार डंगोलले जानकारी दिए । पुनर्निर्माण सम्पन्न भएपछि भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खुला गर्ने तयारी भएको जनाइएको छ ।

प्रतिक्रिया