पूजाको उजुरी

काठमाडौं । टिभी कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले अभिनेत्री पूजा शर्माको विषयमा गरेको टिप्पणीप्रति चलचित्रकर्मीले तीव्र विरोध जनाएका छन् । यसैबीच अभिनेत्री शर्माले चलचित्र कलाकार संघमा सुवेदीविरुद्ध उजुरी दिएकी छन् । सुवेदीले टिभी कार्यक्रममा पूजाप्रति लक्षित गर्दै ‘महानायिका बनाइदिनुपर्ने, त्यो पनि दाह्रा निस्किएको अनुहारलाई’ भन्दै टिप्पणी गरेका थिए ।

उक्त टिप्पणीपछि अभिनेत्री पूजासँगै ऋचा शर्मा, चलचित्रकर्मी प्रदीप भट्टराई, दिपेन्द्र के खनाल, रवीन्द्र सिंह बानियाँ, अर्जुन कुमार लगायतले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आपत्ति जनाएका छन् । अभिनेत्री पूजाले आफूले अन्तर्वार्ता दिन अस्वीकार गर्दा उक्त टिप्पणी गरिएको र आफू लक्षित रहेको जिकिर गरेकी छन् ।

निर्देशक सुदर्शन थापासँगै कलाकार संघ पुगेकी अभिनेत्री पूजा उजुरी दिँदा निकै भावुक भएकी थिइन् । उनले भनिन्, ‘तीन महिना भइसकेको थियो । अघिल्लो ट्रोललाई मैले सहिरहेको थिएँ । फेरि मलाई अन्तर्वार्ताका लागि बोलाउनुभयो, मैले आउँदिन भने । मान्छेलाई कहिले पनि ह्यारेसमेन्ट गर्नका लागि बलात्कार नै गर्नुपर्छ भन्ने छैन ।

उहाँले मलाई हरेक हप्ता गिराएर बोलिरहनुभएको छ । पछिल्लो भाग हेरेपछि मलाई नराम्रो लाग्यो, उहाँले मलाई भनेको शब्दले मलाई निकै भावुक बनायो । यसपछि, मैले अब लड्छु भन्ने निर्णय गरेँ ।’ उनले आज आफूलाई परे पनि भोली सबैलाई यस्तो ह्यारेसमेन्ट हुने भन्दै सबैका लागि न्याय खोज्ने बताइन् ।

अभिनेत्री पूजाले चलचित्र पत्रकार संघ, एपिवान टेलिभिजनमा समेत उजुरी दिएको जनाइन् । उनले प्रेस काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र निर्माता संघ, चलचित्र विकास बोर्डमा पनि उजुरी दिने जानकारी दिइन् । चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले पूजालाई न्याय दिने बताए । उनले भने, ‘भोली प्रकाशजीले कसैको नाम लिएको छैन भन्नुहोला । तर, उहाँले कसैको नाम नलिए पनि सिंगो चलचित्र क्षेत्रलाई होच्याउनुभएको छ ।

हामी आकस्मिक बैठक बसेर कसलाई के गर्नुपर्छ निर्णय गर्छौ ।’ त्यस्तै, निर्देशक सुदर्शन थापाले ट्रोल सहेर भर्खरै शान्त भइरहेको अवस्थामा फेरि पूजामाथि हमला भएको भन्दै दुखेसो पोखे । उनले भने, ‘अभिनेत्री पूजामाथि त उहाँले पटक पटक कार्यक्रममार्फत ह्यारेसमेन्ट गर्नुभएको छ । तर, अहिले उहाँले भनेको कुनै पनि मानिसले सुन्न सक्दैन ।

यो समय अति नै भयो । कोही मानिसलाई शारीरिक खोट लगाएर ह्यारेसमेन्ट गर्न पाइदैन ।’ थापाले पूजालाई मात्र नभएर सञ्चारकर्मी प्रकाशले सिंगो चलचित्र क्षेत्रका अभिनेत्रीमाथि हमला गरेको जिकिर गरे । उनले भने, ‘अब सबै कलाकारहरु एकजुट नभए कहिले हुने ?’ यसैबीच अभिनेत्री ऋचा शर्माले प्रस्तोता सुवेदीको उक्त अभिव्यक्तिप्रति रोष प्रकट गरेकी छन् । उनले कार्यक्रम प्रस्तोताले आत्मसमीक्षा गर्नेबेला भएको जनाएकी छन् ।

सो टिभी कार्यक्रमप्रति व्यंग्य गर्दै भनेकी छन्, ‘मैले बुझेको रजतपटको अर्थ–चलचित्र घरको पर्दा हो । तर हिजोआज मैलो हुँदै गएको छ, सायद धुनेबेला आएको छ । सायद फेर्ने बेला आएको छ ।’ शर्माले एउटा अभिनेत्री र त्योभन्दा पहिला एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनुपर्ने, समाजमा अटाउन कस्तो देखिनुपर्ने, कस्तो लगाउनुपर्ने, कसरी हिँड्नु, बोल्नु, खानुपर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाइदिएको देख्दा, आक्रोश, हिनता र अस्थिरताले सताउने गरेको बताइन् ।

निर्माता अर्जुन कुमारले सुवेदीलाई सामान्य नैतिकतासमेत नभएको भन्दै गालीगलौज टिभी कार्यक्रममा गर्नु अनुचित भएको जिकिर गरेका छन् । त्यस्तै, निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँले अभिनेत्री फिल्म क्षेत्रका चेली भएको बताउँदै परिवारको सदस्यमाथिको घटिया टिप्पणी गर्नु आफूमाथिको हमला भएको बताएका छन् ।

समीक्षक गोकर्ण गौतमले पत्रकारिता दम्भ र कसैको अपमान गर्ने हतियार नभएको बताए । उनले सञ्चारकर्मी सुवेदीले कार्यक्रममा प्रयोग गरेको ‘महानायिका बनाइदिनुपर्ने, त्यो पनि दाह्रा निस्किएको अनुहारलाई’ वाक्यांशले लज्जाबोध भएको जिकिर गरेका छन् ।

उनले भनेका छन्, ‘मिडियाले तथ्यगत आलोचना गर्न पाउँछ, तर यो अव्यवसायिक गाली हो, बडी स्यामिङ’ हो । स्त्रीद्वेषी मानसिकता हो ।’ निर्देशक दीपेन्द्र के खनालले चलचित्र क्षेत्रमा घृणा र रिस बढेको बताएका छन् । उनले भनेका छन्, ‘उसले उसलाई घोचेको छ । कस्ले कसलाई पेलेको छ । निचोरेको छ, बटारेको छ, पछारेको छ, चिमोटेको छ, कोतरेको छ । क्षमा माग्ने र क्षमा दिने संस्कृतिको विकास कहिले होला ?’

प्रतिक्रिया