बागलुङ । बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटी घर भई हाल जापानमा कार्यरत श्याम शर्मा गैरेको उपचारार्थ निलुवा समाज चमुवा जापानले रु आठ लाख ६३ हजार सहयोग गरेको छ । मुटु र फोक्सोमा गम्भीर समस्या देखिएपछि गैरे जापानको टोकियोस्थित अस्पतालको सघनकक्षमा उपचाररत छन् । समाजका पदाधिकारी र जापानमा रहेका नेपालीहरुबाट सहयोग जुटाई मङ्गलबार गैरेलाई हस्तान्तरण गरिएको हो ।
अर्थाभावका कारण उपचारमा समस्या आउने देखिएपछि सहयोग संकलन गरिएको समाजका अध्यक्ष थमबहादुर क्षेत्रीले जानकारी दिए । उपचार खर्चिलो हुँदै गएपछि सहयोगको याचना गर्नुपरेको गैरेकी श्रीमती पवित्राले बताइन् ।जापानमा रहेका नेपालीले ‘श्याम शर्मा गैरे बचाउ’ अभियान नै चलाएर रकम जुटाएका हुन् । गलकोट नगरपालिका–४ देखि अध्ययन र रोजगारीमा जापान पुगेकाहरुले स्थापना गरेको सो समाज सामाजिक सेवाका काममा क्रियाशील छ ।
प्रतिक्रिया