गैरकानुनी रुपमा होटल र अस्पताल एउटै भवनमा

काठमाडौं, १९ साउन । नियमानुसार अस्पताल र होटल एउटै भवनमा सञ्चालन गर्न पाइँदैन । तर राजधानीको धुमवाराही चोकमा रहेको एउटा भवनमा बकाइदा दुईवटा बोर्ड तेर्सिएका छन्– एउटा होटल र अर्को अस्पतालको ।

अनमोल अस्पताल एन्ड रिसर्च सेन्टरले सरकारी नियम तोडेर होटल भएको भवनमा अस्पताल सञ्चालन गर्न आँटेको हो । निजी तथा गैरसरकारी स्वास्थ्य संस्था स्थापना, सञ्चालन नीति, मापदण्ड एवं पूर्वाधार निर्देशिका– २०६१ मा कुनै पनि निजी अस्पताल सञ्चालनका लागि छुट्टै भवन हुनुपर्ने स्पष्ट व्यवस्था छ । तर अनमोल सो निर्देशिकाविपरीत होटल रहेको भवनमै अस्पताल सञ्चालनका लागि ठिक्क परेको छ ।
एक सय शय्या क्षमताको तयारी गरिरहेको सो अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट त्यस स्थानमा सञ्चालनको स्वीकृतिसमेत पाएको छैन । मन्त्रालयले अनुगमन गरेर सो स्थान उपयुक्त छ भनेपछि मात्र अस्पतालले सञ्चालन प्रक्रिया अगाडि बढाउनुपर्ने हो । तर अनमोलले मन्त्रालयको स्वीकृतिबेगर नै अस्पतालमा आवश्यक उपकरणलगायतका पूर्वाधारको निर्माणकार्य अगाडि बढाइरहेको छ । स्रोतका अनुसार सो अस्पतालले यसअघि राजधानीको बूढानीलकण्ठमा सञ्चालन स्वीकृति लिएको थियो ।

‘नियमअनुसार स्थान परिवर्तनको स्वीकृतिसहित भवनको उपयुक्ततालगायतका प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ‘तर अनमोलले मन्त्रालयको स्वीकृति नै नलिई अस्पतालको काम अगाडि बढाइरहेको छ ।’ नियमअनुसार अस्पतालले स्थान परिवर्तन गर्दा पनि नयाँ अस्पताल खोलेसरह सबै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
मन्त्रालयको अनुगमन महाशाखाका प्रमुख श्रीकृष्ण भट्टले पनि अनमोल अस्पताललाई धुमवाराहीमा सञ्चालन स्वीकृति नदिएको बताए । उनका अनुसार अस्पताल र होटल एकै भवनमा सञ्चालन गर्नु गैरकानुनी हो । ‘नियममा स्पष्टरूपमा अस्पताल सञ्चालनका लागि छुट्टै भवन हुनुपर्ने कुरा उल्लेख छ,’ उनले भने, ‘त्यसकारण एउटै भवनमा होटल र अस्पताल दुवै चलाउनु भनेको सरासर गलत काम हो ।’ उनले अनमोलले सञ्चालन गर्छु भनेको भवनका विषयमा मन्त्रालयले अध्ययन गरिरहेको बताए ।
नियमअनुसार अस्पताल भवन सञ्चालन गर्नुपूर्व पूर्वाधार निर्माणका लागि वातावरण संरक्षण ऐन, २०५३ तथा नियमावलीबमोजिम प्रारम्भिक वातावरणीय परीक्षण (इआइई) गर्नुपर्ने हुन्छ । तर अस्पतालले सो प्रावधानलाई समेत पूर्णरूपमा बेवास्ता गरेको छ । अस्पतालले भवनको चौथो तलामा होटल सञ्चालन भएकाले इआइईमा पास नहुने डरले परीक्षण नगराएको मन्त्रालय स्रोतको भनाइ छ । धुमवाराहीमा सञ्चालन हुने भनिएको अस्पतालको सो पाँचतले भवनको चौथो तलामा भिवोर नामक होटल सञ्चालनमा रहेको छ ।
अस्पताललाई सो भवनमा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त नभएको अस्पतालका निर्देशक अबुल हसन अन्सारीले समेत स्वीकार गरे । उनले अस्पताललाई सो भवनमा सञ्चालन गर्न स्वीकृति दिन मन्त्रालयमा फाइल पठाइएकोमा अहिलेसम्म नआएको बताए ।
‘कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएकोले स्वास्थ्यले कहिले स्वीकृति दिन्छ भनेर कुरेर बस्ने हो भने त वर्षांैसम्म पनि अस्पताल सञ्चालनमा आउन सक्दैन,’ उनले भने, ‘त्यसैले स्वास्थ्यको स्वीकृति आउनुपूर्व नै अस्पतालको काम अगाडि बढाइएको हो ।’ उनले स्वास्थ्यले सञ्चालन स्वीकृति दिनेमा आफू शतप्रतिशत विश्वस्त रहेको समेत बताए ।

प्रतिक्रिया