काठमाडौं । सरकारले दिगो विकास लक्ष्य प्राप्तिका लागि स्तनपानलाई एक प्रमुख आधारका रूपमा लिँदै सन् २०३० सम्म स्तनपान गराउने नेपाली आमा (९० प्रतिशत) पु¥याउने लक्ष्य राखेको छ ।
पछिल्लो समय स्तनपान गराउने आमाको संख्या घट्दै जाँदा उक्त लक्ष्यअनुसार अगाडि बढ्न ठूलो चुनौतीसमेत खडा भएको छ । हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाइँदै आएको पाइन्छ । यसवर्ष ‘आमा–बाबुको सक्षमता, स्तनपानको सफतला’ भन्ने नाराका साथ नेपालमा पनि बिहीबारदेखि स्तनपान दिवस मनाउन सुरु गरेको हो ।
पूर्ण स्तनपान भन्नाले शिशुको जन्मेको घण्टादेखि पाँच वर्षसम्मको स्तनपानलाई जनाउँछ । स्वास्थ्यसेवा विभागको परिवार कल्याण महाशाखाको सन् २०११ को पूर्ण स्तनपानको तथ्यांकलाई हेर्दा ६९.९ प्रतिशत आमाले गराउने गरेकोमा सन् २०१६ मा आइपुग्दा उक्त संख्या घटेर ६६.१ मा आइपुगेको छ ।
बिगौती दूध एकदमै पोषिलो हुने तथा शरीरको प्रतिरक्षा प्रणालीका लागि शक्तिशाली हुने भएकाले यसलाई शिशुको ‘पहिलो खोप’ का रूपमा पनि लिइन्छ ।
त्यस्तै पालिका तथा प्रदेश कार्यालयले अनिवार्य आफ्ना भवनमा स्तनपान कक्षको व्यवस्था गर्नुपर्ने प्रावधान सरकारले कार्यान्वयनमा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रजनन स्वास्थ्य ऐनको प्रावधानलाई कार्यान्वयन गर्न ७ सय ५३ ओटै पालिकासहित प्रदेश कार्यालयमा स्तनपान कक्ष स्थापना गर्न अनुरोध÷परिपत्र गर्ने तयारी गर्दैछ ।
स्वास्थ्य सेवा विभाग परिसरमा गतवर्ष स्तनपान कक्ष स्थापना गरिएको थियो । सो कक्षमा दुईजना महिलासम्मले आफ्ना शिशुलाई स्तनपान गराई सुताउन सक्नेछन् । परिवार स्वास्थ्य महाशाखा पोषण शाखाका प्रमुख केदार पराजुलीका अनुसार प्रजनन स्वास्थ्य ऐनलाई कार्यान्वय गर्न सबै पालिकामा स्तनपान कक्ष स्थापना गर्न मन्त्रालयले अनुरोध÷परिपत्र गर्न लागेको जानकारी दिए ।
उक्त ऐनमा सरकारी संरचनामा अनिवार्यरूपमा स्तनपान कक्ष व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ । पछिल्लो समय स्वास्थ्य मन्त्रालय मातहतका स्वास्थ्य संस्था, अस्पतालले समेत धमाधम स्तनपान कक्ष स्थापना गरिरहेका छन् । अन्य मन्त्रालयमा यसको सेवासुविधा छैन भने नयाँ बानेश्वरस्थित प्रतिनिधिसभा भवन र सिंहदरबारस्थित सचिवालयको भवनमा पनि छैन ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिक विमानस्थलमा ‘स्तनपान कर्नर’ रहेको छ । तर, यात्रुहरूले देख्ने ठाउँमा नहुँदा धेरैले सुविधा उपयोग गर्न पाउँदैनन् । सन् २०१६ को तथ्यांकअनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने ५५ प्रतिशत मात्रै रहेका छन् । सर्वेक्षणले स्तनपान गराउनुअघि १० जनामध्ये तीनजना शिशुलाई घ्यू, मह, चिनी चटाउने गरेको देखाएको थियो । शल्यक्रिया गरेर जन्माइएका शिशुलाई भने आमाको दूधलाई प्रतिस्थापना गर्ने अन्य कुरा खुवाइने गरेको देखिएको छ ।
आमाको दूधलाई प्रतिस्थापना गर्ने वस्तु बिक्रीवितरण गर्न सरकारले प्रतिबन्ध लगाएको छ । सो सम्बन्धी ऐन २०४९ र नियमावली २०५१ जारी भएको थियो । तर ऐन तथा नियमावलीको प्रभावकारी कार्यान्वयन भएको छैन । नेपालमा आमाको दूधलाई प्रतिस्थापना गर्ने वस्तु कति बिक्रीवितरण हुन्छ भन्ने अध्ययन भएको छैन ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र हेलन केलर इन्टरनेसनलले गरेको एक अध्ययनका अनुसार काठमाडौं उपत्यकाभित्र रहेका अस्पतालमा नै स्तनपानको अवस्था गतिलो छैन । काठमाडौं उपत्यकाका अस्पतालहरूमा स्तनपानको अवस्था हेर्दा एकदमै दयनीय देखिन्छ ।
अध्ययनका अनुसार मुलुकको उपचारको केन्द्र, अस्पतालै अस्पतालले भरिएको काठमाडौंमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने दर केबल ४१ प्रतिशत मात्रै छ । तीन दिनपछि नै आमाले बट्टाको दूध शिशुलाई खुवाउन थालेको सो अध्ययनले देखाएको थियो ।
त्यस्तै शिशु जन्मनासाथ आमाको नांगो छातीमा टसाएर राख्ने दर जम्मा ९ प्रतिशत छ । शिशु र आमाबीचको भावनात्मक सम्बन्धलाई बढाउन, शिशुको स्वास्थ्य प्रबद्र्धन गर्न यसले सहयोग गर्ने हेलन केलरका स्वास्थ्य विज्ञ डा. अतुल उपाध्याय बताउँछन् ।
‘स्तनपान सबैभन्दा पुरानो र पहिलो खोप हो’, उनले भने, ‘जन्मेको एक घण्टाभित्रदेखि ६ महिनासम्म स्तनपान मात्रै र दुई वर्षदेखि स्तनपानका साथमा अन्य खानेकुरा खुवाउँदा आमा र शिशु दुवैको स्वास्थ्य राम्रो हुन्छ ।’
स्तनपानले के फाइदा हुन्छ ?
स्तनपान शिशुका लागि स्वास्थ्यमा वृद्धि विकास, सम्पूर्ण आहारा, पानीको स्रोत हो । आमाको दूधमा पाइने तत्वले शिशुलाई रोगसँग लड्ने क्षमताको विकास गर्छ ।
शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेँलो बिगौति दूधमा रोगसँग लड्ने एक प्रकारको प्रतिरोधात्मक तत्व रहेको हुन्छ जसले शिशुलाई संक्रामक रोग लाग्नबाट बचाउँछ । शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरू आमाको दूधमा नै पर्याप्त मात्रामा पाइने हुँदा जन्मेको ६ महिनासम्म निरन्तर पूर्ण स्तनपान गराउनुपर्दछ ।
त्यस्तै शिशुलाई जन्मनासाथ छातीमा टाँसेर राख्दा पाठेघर खुम्चिने प्रक्रियालाई तीव्र पार्छ । यसले सालनाल निक्लन र रक्तस्रावसमेत बन्द हुने र आमाको तनावसमेत कम हुने महाशाखाका अधिकृत मुकुन्दराज गौतमले बताए ।
आमाको दूधमा रोग नाशक तत्व तथा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलाम तत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछ ।
बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन् र शरीरले ती विशेष रोगका कीटाणुको विरुद्ध प्रतिरोधात्मक तत्वहरू बनाउँछ । यो तत्व ‘थोरासिक डक्ट’ भनिने एक विशेष नलीबाट सिधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाको पेटमा पुग्दछ ।
प्रतिक्रिया