प्राविधिकहरुको आन्दोलनले उपभोक्ता मर्कामा

काभ्रे २१, फागुन । आर्थिक वर्ष सकिन चार महिना मात्रै बाँकी हुँदा समेत खर्च हुन नसकेको विकास बजेट पछिल्लो समय प्राविधिकहरुको आन्दोलनका कारण थप अन्योलग्रस्त बनेको छ ।

स्थानीय विकास मन्त्रालयले फागुन १ गते जिल्ला विकास समिति, महानगर, उपमहानगर र नगरपालिकाको कार्यालयहरुमा उपभोक्ता समितिको तर्फवाट ब्यहोर्ने लागत सहभागितामा प्राकृतिक प्रकोप बाहेक अन्य तवरवाट उपभोक्ता समितिबाट सम्पन्न भएका आयोजना सम्पन्न भएको दुई वर्ष भित्र कुनै त्रुटी देखिएमा सम्वन्धित प्राविधिक कर्मचारीले आफ्नो खर्चमा मर्मत सम्भार गर्नु पर्ने निर्णय सहितको परिपत्र गरेको थियो ।

जनप्रतिनिधि विहिन अवस्थामा कर्मचारीलाई जवाफदेहि बनाइ राज्यको रकम दुरुपयोग हुन नदिन यो निर्णय गरिएको भनिए पनि प्राविधिकहरुले असहमति जनाउँदै आन्दोलन सुरु गरेपछि निर्णय कार्यान्वयन हुन सकेको छैन । गाउँ विकास समितिबाट योजनाका पत्रहरु लिएर आएको भए पनि प्राविधिकहरुको आन्दोलनका कारण सदरमुकाम बस्न बाध्य भएका छन् ।

फागुन ११ गते देखि आन्दोलन सुरु गरेका प्राविधिकहरुले आइतबार पनि कुनै काम नगरेको जिल्ला प्राविधिक कार्यालय काभ्रेका प्रमुख भरतप्रसाद अर्यालले जानकारी दिए ।

प्रतिक्रिया