काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गंगालाल अस्पतालको स्थापनाले मुटुरोग उपचार क्षेत्रमा शिकारीयुगको अन्त्य भएको बताएका छन् । शनिबार गंगालाल अस्पतालको नवनिर्मित ओपिडी भवन एवं विस्तारित आकस्मिक सेवाको उद्घाटन गर्दै ओलीले पहिले–पहिले रोगको निदान नभई मानिसहरू मर्ने गरेको र त्यसलाई शिकारी लागेको भन्ने गरिएको प्रसंग निकालेका थिए ।
उनले अब त्यस्तो अवस्था नरहेको सुनाए । उनले आफू सानो हुँदा धेरै मानिसहरूको मृत्यु हुने गरेको र त्यसलाई शिकारी लागेको, शिकारीले बाण हानेको भन्ने गरिएको बताए । ओलीले अस्पतालले कसैलाई भेदभाव नराखी उपचार गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘अस्पतालले देश वा नागरिकताका आधारमा होइन सबैलाई सबैलाई समान भावले उपचार गर्नेछ, आएका सबैलाई हामीले मानवजातीको रूपमा उपचार गर्नुपर्दछ ।’
उनले हालसम्म गंगालालबाट १७ हजारको ओपनहार्ट सर्जरी भएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘यहीँबाट नयाँ जीवन पाएकाहरू धेरै छन् । मुटुसँगै आँखा, प्लास्टिक सर्जरी, मृगौला प्रत्यारोपणका क्षेत्रमा नेपालले उल्लेख्य प्रगति हासिल गरेको छ ।’
उनले मानवजातिले अनुसन्धान तथा प्रयोगशाला प्रयोगमा विकास गरेका कारण विश्वभर स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि भएको बताए । उनले भगवान माथिको विश्वास तथा भगवानमा भर परेको भए आज स्वास्थ्य क्षेत्रमा जटिल प्रकारको रोगको उन्मूलन तथा औषधिको विकास सम्भव नहुने बताए ।
कार्यक्रममा उनले आफू अस्वस्थ रहेको तर भाषण भने लामो गरेको स्वीकार गर्दै नक्कले बिरामी भन्ने भान हुने हो कि भन्दै ठट्टा गरेका थिए । ‘कसले पत्याउने ? स्वास्थ्य राम्रो नभएर आउँदिन भनेर सुतिरहेको थिएँ । आउँनैपर्छ भनेर जोड गरेपछि आएको हुँ । बोल्दै जाँदा लामो भयो, यो नक्कली बिरामी हो कि क्या हो भन्ने पर्ला । म अस्थायी बिरामी हुँ । यो नक्कली चाहिँ होइन ।’ ‘मेरो दायाँपट्टीको बुद्धिबंगारो हिजो आफँै खुस्कियो, छामेर हेरेँ रगत पनि आएको थिएन जरा पनि रहेनछ । मेरो हजुर आमा एक सय १ वर्षको हुँदासम्म मकै चपाउँनुहुन्थ्यो ।’
यता अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले नयाँ ४ तले भवन ५२ करोडको लागतमा बनेको बताए । उनले बनेको नयाँ भवन निर्धारित समयमा नै पूरा भएको भन्दै अब बिरामीले आकस्मिक तथा बहिरंग सेवा सहज रूपमा लिन सक्ने बताए ।
एक अर्को प्रसंगमा उनले आफ्नो कार्यकाल १५ दिनमात्रै बाँकी रहेको भन्दै आगामी कार्यकालका लागि आफूभन्दा योग्य व्यक्तिलाई निर्देशक बनाउन सरकारसँग आग्रह गरे । निर्देशक शर्माले २४ वर्षअघि ९ बेडबाट सुरु भएको अस्पताल हाल मुटुरोगका सम्पूर्ण उपचार सम्भव हुने अन्तर्राष्ट्रिय अस्पताल भएको सुनाए । उनले अस्पतालले हालसम्म १७ लाखलाई ओपिडी सेवा, ७० हजार प्रोस्युजुअर, १७ हजार ओपन हार्डसर्जरी र २३ हजार मुटुका शल्यक्रिया गरेको समेत जानकारी दिए ।
नवनिर्मित भवनबाट ३४ बेडको विस्तारित आकस्मिक कक्ष, ओपिडीसहित अन्य थुप्रै सेवा विस्तार गर्ने उनले बताए । कार्यक्रममा उपप्रधान एवमं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, स्वास्थ्य सचिव रामप्रसाद थपलियालगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया