काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत आर्थिक वर्ष ०७५/०७६ को बजेट आफ्ना कर्मचारीको तलब भत्तामा नै खर्च भएको देखाएको छ । गत आर्थिक वर्षमा नेपालको कूल बजेटको ५६ अर्ब ४१ करोड ९७ लाख स्वास्थ्यमा छुट्याएको थियो । उक्त रकममध्ये ५६ अर्र्ब १४ करोड ८८ लाख ८५ हजार ४ सय ४० कर्मचारीकै तलबमा गएको मन्त्रालयले देखाएको हो ।
त्यस्तै बाँकी रहेको स्वास्थ्यको कूल बजेटको २७ करोड ८ लाख १४ हजार ५ सय ६० रुपैयाँ मात्रै विकासका काममा खर्च भएको देखिएको छ । त्यस्तै नेपालको कूल बजेटको जम्मा ४ दशमलव ४८ प्रतिशत स्वास्थ्यमा छुट्याएको र त्यसको ४ प्रतिशत कर्मचारीको तलबभत्तामै सकिएको हो । नेपालको कूल बजेटको शून्य दशमलव ४८ प्रतिशत स्वास्थ्यको विकासका मुख्य–मुख्य विषयमा खर्च भएको देखाएको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त विकास खर्चले भएको उपलब्धिहरू सार्वजनिक गरेको हो ।
कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्यको बजेट ४ दशमलव ४८ प्रतिशत छुट्याइएको भएपनि तर ४ प्रतिशतै बजेट स्वास्थ्यकै कर्मचारीको तलबमा जाने गरेको बताए । उनले शून्य दशमलव ४८ प्रतिशत बजेटले भएको यो उपलब्धिलाई एकदमै ठूलो मान्नुपर्ने उनले बताए । उनले स्वास्थ्यको बजेट कूल बजेटमा कम्तिमा १० प्रतिशत हुनुपर्ने र यसका लागि आफूले पहल गरिरहेको समेत उनले सुनाए । मन्त्री यादवले चालू आर्थिक वर्षका लागि छुट्याइएको बजेटले पनि स्वास्थ्यको आवश्यकता पूरा गर्न नसक्ने बताए ।
‘अत्याधुनिक प्रयोगशाला, स्टोर तथा तालिम केन्द्रहरू बनाउनुपर्ने छ, अस्पताल तथा उपकरणहरू थप्नुपर्ने छ, ठूलो संख्यामा जनशक्ति थप्नुपर्ने छ,’ मन्त्री यादवले भने, ‘यी अत्यावश्यक कामका लागि विनियोजित बजेटले पुग्दैन ।’ उनले थपे, ‘सरकारले देश विकास गर्न, समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार गर्न स्वास्थ्य र शिक्षामा बजेट कन्जुस्याईं नगरी छुट्टाउनुपर्छ । एक व्यक्तिको उदाहरण दिँदै भने, एउटा रोगी व्यक्ति कारमा चढेरै हिडे पनि त्यो रोगी हो, तर निरोगी व्यक्ति बाटोमा गोडाले हिँडेको छ भने पनि ऊ निरोगी छ, त्यो पो खुसी हो त ।’ त्यस्तै सम्मेलनमा मन्त्री यादवले स्वास्थ्यको विभिन्न मुख्य–मुख्य विषयका ५९ मुख्य उपलब्धि भएको बताए ।
मन्त्रालयले नीति, रणनीति, ऐन, नियम, मापदण्ड, निर्देशिका र कार्यविधिअन्तर्गत १७ वटा, स्वास्थ्य संस्था तथा निकायहरू हस्तान्तरणमा २, योजना तर्जुमा, अनुगमन, मूल्यांकन र समन्वयमा ७, सेवा प्रवाहमा १०, विपद् व्यवस्थापन पूर्वतयारी तथा प्रतिकार्यमा ६, अध्ययन, अनुसन्धान र सर्वेक्षणमा ३, भौतिक पूर्वाधारमा ३ र विशेषज्ञ चिकित्सक परिचालनमा १, आर्थिक वर्ष ०७५/०७६ नीति तथा कार्यक्रमहरूको समग्र प्रगति अवस्था, आगामी कार्यदिशा ९ गरी ५९ वटा मुख्य उपलब्धि सार्वजनिक गरेको हो ।
समग्रमा ७९ प्रतिशत कार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ । नीतिअन्तर्गत तय गरिएका ६५ वटा कार्यक्रममध्ये ५१ वटा सम्पन्न भएको मन्त्रालयले दाबी गरेको छ । त्यसैगरी, १० वटा कार्यक्रम सम्पन्न नभइसके पनि प्रगतिको क्रममा रहेको तथा ४ वटा कार्यक्रम सुरु हुन नसकेको जनाएको छ । कार्यक्रममा स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले संघीय संरचनाअनुसार काम अगाडि बढाउने क्रममा केही काममा ढिलाइ हुन पुगेको बताइन् । उनले अघि बढ्न नसकेका ४ वटा कार्यक्रममा पनि मन्त्रालयले प्रारम्भिक कामहरू गरेको तर प्राविधिकरूपमा समस्या देखिँदा प्रगति हुन नसकेको बताइन् । सुरु हुन नसकेको भक्तपुर वीर अस्पतालको भवन निर्माणको कामका पनि आवश्यक प्रयास भएको डा. चौधरीले बताइन् ।
उनका अनुसार भक्तपुरमा वीरको भवन निर्माणको काममा चाइना सरकारले डिपिआर बनाएर त्यहाँ भवन बनाउन सम्भव नभएको बताएकाले काम अघि बढ्न नसकेको हो । उनले भनिन्, ‘डिपिआर बनाउने जिम्मा पाएको चाइना सरकारले डिपिआर तयार ग¥यो, तर उसले अध्ययनपछि त्यहाँ भवन निर्माण गर्न सम्भव नभएको प्रतिवेदन दियो । त्यहाँ अस्पतालको भवन मात्र बनाएर मानिसलाई आवत–जावत गर्न कठिन हुने भएकाले कि अस्पताल सार्नुपर्ने अन्यथा बस्ती विकास सहित अन्य पूर्वाधारको पनि एकीकृत निर्माण गर्नुपर्ने देखिएपछि काम अघि नबढेको हो ।’ अस्पताल भवन निर्माणका लागि वैकल्पिक जग्गाको खोजीकार्य समेत भइरहेको उनले सुनाइन् । त्यस्तै, सबै स्थानीय तहमा चिकित्सक पु¥याउने कार्यक्रम पनि यस वर्ष अघि बढ्न नसकेको हो । सबै स्थानीय तहले संरचना नै तयार गरिनसक्दा यस कार्यक्रममा प्रगति हुन नसकेको उनले सुनाइन् । मन्त्रालयका अर्का सचिव रामप्रसाद थपलियाले कर्मचारी समायोजनको काम छिट्टै नै टुंग्याउने तर्फ लागिरहेको बताए ।
प्रतिक्रिया