काठमाडौं । राज्य तथा विद्रोही पक्षद्वारा बेपत्ता पारिएका नागरिकलाई सार्वजनिक गर्न परिवारजनले सरकारसँग माग गरिएको छ । आइतबार साँझ माइतीघर मण्डलामा स्याङजा पक्वादि (हाल गल्याङ) का बेपत्ता शिक्षक हरिप्रसाद खनालका परिवारले आफ्ना अभिभावकसहित सम्पूर्ण बेपत्ता नागरिकको स्थिति सार्वजनिक गर्न माग गरे ।
१७ वर्षदेखि बेपत्ता हालको गल्याङ्–९ मा रहेको जानकी माविका नेपाली शिक्षक खनाल सशस्त्र द्वन्द्वकालमा राज्य पक्षबाट बेपत्ता पारिएका थिए । उनै खनालको स्थिति सार्वजनिक गर्न आइतबार साँझ माइतीघर मण्डलामा दीप प्रज्ज्वलन तथा स्मृतिसभा गरियो ।
उनलाई सुरक्षाफौजले ०५९ असार २९ गते घरबाट नियन्त्रणमा लिई बेपत्ता पारेको थियो । खनाललाई बेपत्ता पारेको १७ वर्षसम्म पनि उनको बारेमा राज्य पक्षले कुनै जानकारी नदिएको भन्दै परिवार र आफन्तजनको अग्रसरता कार्यक्रम आयोजना गरिएको हो ।
सशस्त्रद्वन्द्व कालमा राज्य तथा विद्रोही पक्षद्वारा बेपत्ता पारिएका नागरिकको अवस्था राज्यले अहिलेसम्म सार्वजनिक गरेको छैन । खनाल परिवारले काठमाडौंमा नागरिक समाज, विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता, कानुनी व्यवसायी, पत्रकार लगायतको उपस्थितिमा दीप प्रज्ज्वलन तथा बेपत्ता परिवारको अवस्था सार्वजनिक गर्न माग गरेको हुन् ।
कार्यक्रममा बेपत्ता परिवार समाजका केन्द्रीय अध्यक्ष एवं वरिष्ठ अधिवक्ता एकराज भण्डारी, बेपत्ता परिवार राष्ट्रिय सञ्जालका अध्यक्ष रामकुमार भण्डारी, बेपत्ता खनालका छोरा केशवराज खनाललगायतले बेपत्ताको नागरिकको अवस्था सार्वजनिक गर्न माग गरे ।
२०११ साल माघ २१ गते जन्मिएका खनाललाई २०५९ असार २९ गते बिहान सुरक्षाफौजको टोलीले विना पक्राउपुर्जी घरमा बसिरहेको अवस्थामा गिरफ्तार गरी हालसम्म बेपत्ता परेको परिवारले जनाएको छ । खनालका छोरा केशवराज खनालले देशका नागरिकको अभिभावक राज्यकै सुरक्षाअंग सशस्त्र प्रहरीले कब्जामा लिएर सर्वसाधारणलाई बेपत्ता पारिनु अत्यन्तै दुःखद कुरा भएको बताए ।
उनले भने, ‘लोकतन्त्र र गणतन्त्रका लागि भएको संर्घषका क्रममा राज्यले गिरफ्तार गरी बेपत्ता पारिएका नागरिकबारे सरकार बेखबरजस्तै हुनु र हालसम्म पनि ती नागरिकको अवस्थाका बारेमा जवाफदेही नहुनु परिवारका लागि अत्यन्त दुःखदायी र पीडादायी अवस्था हो ।’
उनले अपराधीलाई कानुनी दायरामा ल्याउन माग पनि गरे । केशवले देशका तमाम सचेत नागरिक, शिक्षक, प्राध्यापक, प्रशासक राजनीतिज्ञ, विभिन्न दलका कार्यकर्ता तथा शुभचिन्तक, सुरक्षाकर्मी, न्यायकर्मी, सञ्चारकर्मी, लेखक, साहित्यकार, पत्रकार, संगीतकार, नाट्यकर्मी, सिनेमाकर्मी सबैले आ–आफ्नो क्षेत्रबाट बेपत्ता पारिएका नागरिकका परिवारका सदस्यका पीडा र आत्मारोदनलाई आत्मसात् गरी आवाज उठाइदिन आग्रह गरे ।
प्रतिक्रिया