विदेशी कम्पनीमा बिमा नगर्न आह्वान गर्दै होर्डिङ बोर्ड

काठमाडौं, २७ असार । बिमा समितिले विदेशी बिमा कम्पनीमा बिमा नगर्न अनुरोध गर्दै सीमावर्ती नाकामा होर्डिङ बोर्ड लगाउने भएको छ । सर्वसाधारणलाई विदेशी बिमा कम्पनीमा बिमा गर्नु अवैध रहेको जानकारी दिने उद्देश्यले होर्डिङ बोर्ड लगाउन लागेको बिमा समितिका कार्यकारी निर्देशक विनोद अर्यालले बताए ।
नेपालको बिमा कानुनअनुसार विदेशी बिमा कम्पनीमा बिमा गर्नु अपराध हो तर जनचेतना अभावका कारण सीमावर्ती क्षेत्रका नेपालीले भारतीय बिमा कम्पनीमा बिमा गरिरहेका छन् । भारतीय बिमा कम्पनीमा नेपालीले बिमा गर्दा नेपालको ठूलो रकम भारत पलायन भएको नेपाली बिमा कम्पनीले बताउँदै आए पनि के कति रकम बिमाका रूपमा भारत गयो भन्ने तथ्यांक भने बिमा समितिलगायत कुनै सरकारी निकायसँग छैन । केही समय अगाडि राष्ट्र बैंकले गरेको अध्ययनमा पनि तीन महिनामा ६८ करोड रुपियाँ बैंकिङ च्यानलमार्फत नै भारत गएको उल्लेख छ ।
नेपालको पुँजी पलायन अवैध रूपले प्रिमियमका रूपमा भारतमा रकम जानुलाई पनि लिने गरिन्छ । नेपालमा तरलता अभावको समयमा पनि अवैध रूपले प्रिमियमको रूपमा नेपालीले भारत पैसा पठाउने गरेकाले नेपाली बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलनमा कमी आउने गरेको तर्क विज्ञहरूले गर्ने गरेका थिए । भारतीय बिमा कम्पनीमा नेपालीले बिमा गर्नु अवैध भए पनि अर्बौं रकम प्रिमियमका रूपमा भारत गएको बिमाविज्ञ बताउँछन् ।
नेपाल लाइफ इन्स्योरेन्सका महाप्रबन्धक विवेक झाले भारतमा जीवन बिमा गर्नु नेपालका तुलनामा अत्यन्त सरल भएकाले पनि सीमावर्ती क्षेत्रका नेपाली भारतीय बिमा कम्पनीमा बिमा गर्न आकर्षित भएको बताए । भारतमा ट्रेनमा यात्रा गर्दागर्दै पनि एक फर्म भरेको भरमा बिमा हुने गरेको छ भने नेपालको परिप्रेक्ष्यमा स्वास्थ्य परीक्षणलगायत अरू विविध फर्म भर्नुपर्ने झन्झट रहेको छ ।
भारतीय बिमा कम्पनीमा विदेशीको बिमा गर्नु अवैधानिक भए पनि नेपालीलाई ‘भारत यात्रामा रहेको’ भन्ने उल्लेख भएको फर्म भराएर जीवन बिमाकै रूपमा प्रिमियम उठाउने गरेको उनले बताए । भारतस्थित बिमा कम्पनीले नेपाललाई नै लक्षित गरेर बिमा एजेन्ट नियुक्त गर्ने गरेको समेत उनले जानकारी दिए । ‘ती एजेन्ट काठमाडौंको सोल्टी होटलमा बसेर भारतीय बिमा कम्पनीको बजारीकरण गर्दछन् । यसबाट तिनीहरूले नेपालबाट कति रकम प्रिमियम बाहिर लैजान्छन् भन्ने स्पष्ट हुन्छ,’ उनले भने । उनको अनुमानमा सीमा क्षेत्रबाट भन्दा काठमाडौंलगायतका नेपालका ठूला सहरबाटै ठूलो रकम प्रिमियमका रूपमा बाहिर जाने गरेको छ । ‘यहाँको रकम भारतीय सेयर बजारमा लगानी गरी बढी प्रतिफल दिने भनेर पनि बिमा गरिएको छ’, उनले भने, ‘तर बजार घटेपछि लगानी पनि नउठ्ने अवस्थामा धेरै बिमित पुगेका छन् ।’
नेपालमा कुल नौ जीवन बिमा कम्पनी छन् । बिमा गर्नेको संख्या कुल जनसंख्याको ५ प्रतिशत रहेको समितिको अनुमान छ । त्यसमा पनि डुप्लिकेसन हटाउने हो भने यो प्रतिशत अझ कम हुने विज्ञको दाबी छ ।

प्रतिक्रिया