काठमाडौं, २४ असार । पार्टी कार्यालयको स्वामित्वलाई लिएर कार्यकर्तावीच झडप भईरहेका समयमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यवीच भेटबार्ता भएको छ ।
एमाओवादी अध्यक्ष दाहालको लाजिम्पाटस्थित निवासमा आज भएको भेटबार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, दुई पार्टीवीचको समबन्ध, बजेटलगायतका विषयमा कुराकानी भएको एमाओवादीका स्थायी समिति सदस्य कृष्णबहादुर महराले जनकारी दिए ।
पार्टी मुख्यालय कोटेश्वरका बारेमा समेत दुई अध्यक्षवीच छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय भोगचलन कस्ले गर्ने भन्ने बारेमा पछि निर्णय गरिने छ ।
‘एकअर्काप्रति आक्रमण नगर्ने सहमति भएको छ,’ भेटका बारेमा जानकारी दिदै नेता महराले भने, ‘पार्टी विभाजन हुनुहुँदैन थियो, भई हाल्यो, मित्रवत तरिकाले जाने सहमति दुई पक्षवीच भएको छ ।’
उनले शीर्ष भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, दुवै माओवादीवीचको सहकार्य तथा सम्वाद लगायतमा पनि कुराकानी भएको जानकारी दिए ।
पार्टी कार्यालयलाई लिएर चितवनमा भएको झडप पछि दुबै माओवादी एकअर्काप्रति आक्रामक देखिएका समयमा शीर्ष नेतृत्ववीच भेट भएको हो । सैद्धान्तिक विषयमा अन्तर्संघर्ष चर्किएपछि असार–४ गते एकीकृत माओवादी विभाजन भएको थियो ।
भेटमा एमाओवादीका स्थायी समिति सदस्य कृष्णबहादुर महरा, नेकपा–माओवादीका सचिव देव गुरुङलगायतका नेताहरुको पनि सहभागिता रहेको थियो ।
प्रतिक्रिया