कलेज डान्स च्याम्प हुने

काठमाडौं : ड्रिम फ्याक्ट्री इन्टरटेनमेन्ट गु्रपले विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरूमध्येबाट उत्कृष्ट नृत्यप्रतिभा छनोट गर्ने भएको छ । अध्ययनका अलावा विद्यार्थीमा नृत्यसीपको विकास गराई उत्कृष्ट डान्सर उत्पादन गर्ने उद्देश्यले कलेज डान्स च्याम्प प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार भक्तपुर, ललितपुर र काठमाडौं गरी तीन स्थानबाट अडिसनका आधारमा उत्कृष्ट १ सय विद्यार्थी छनोट गरिनेछन् । यी तीन स्थानबाट देशभरिका कलेज–विद्यार्थीले अडिसन दिन पाउनेछन् । तीमध्ये पनि उत्कृष्ट २० छनोट गरी प्रस्तुतिका आधारमा प्रत्येक हप्ता ४ प्रतिस्पर्धी हटाउँदै लगिनेछ । बाँकी रहने उत्कृष्ट छ जनाबीच फाइनल स्पर्धा गराई एक जना शीर्ष विजेता छनोट गरिने आयोजकको कार्यतालिकामा उल्लेख छ ।
यसअनुसार प्रतियोगी छनोट गर्न भक्तपुरको अरनिको सभाभवनमा साउन १४ र १५ गते अडिसन हुनेछ भने ललितपुरको अडिसन पाटन संयुक्त क्याम्पसमा साउन १७ र १८ गते हुनेछ । काठमाडौंमा चाहिँ साउन २० र २१ गते कालिकास्थानस्थित सर्वनाम थिएटरमा अडिसनको व्यवस्था मिलाइएको छ । आयोजककी प्रबन्धनिर्देशक दशमी सुनुवारका अनुसार विजेता विद्यार्थीलाई रू. ५०,०००/– नगदसहित विभिन्न पुरस्कार र एउटा म्युजिकभिडियोमा काम गर्ने अवसर उपलब्ध गराइनेछ । (सौस)

प्रतिक्रिया