न्युजिल्यान्डको मस्जिदमा आक्रमण : १७ मिनेटमा ४९ जनाको मृत्यु

एजेन्सी, क्राइस्टचर्च । न्युजिल्यान्डको क्राइस्टचर्चस्थित रहेका दुई मस्जिदमा भएको गोलाबारीमा ४९ जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् । चार जना बन्दुकधारीले दुई मस्जिदमा प्रवेश गरेर न्युजिल्यान्डकै इतिहासको सबैभन्दा खराब आतंकवादी घटना घटाएका हुन् ।

शुक्रबारको प्रार्थनाका लागि मस्जिद गएका धर्मावलम्बी लक्षित आक्रमणमा संलग्न एक महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री जासिन्डा आर्डर्नले लिनवूड मस्जिद र अनि डीन्स एभेन्यु मस्जिदमा आक्रमण भएको बताइन् । यो अभूतपूर्व घटना भएको बताउँदै आर्डर्नले यसलाई आतंकवादी आक्रमणको संज्ञा दिइन् ।

हिरासतमा राखिएका चारजना व्यक्ति आतंकवादी निगरानी सूचीमा थिएनन् । आक्रमणको योजना लामो समयदेखि बुनिएको स्पष्ट भएको प्रधानमन्त्री आर्डर्नले बताइन् ।

तीनजनालाई आक्रमणकै सिलसिलामा पक्राउ गरिएको थियो भने अर्का एकलाई छुट्टै पक्राउ गरिएको थियो । प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले पहिला पुरुषले प्रार्थना गर्ने कक्षमा पसेर अन्धाधुन्द गोली प्रहार गरेका थिए ।

त्यसपछि महिलाले प्रार्थना गर्ने कक्षमा प्रवेश गरेका थिए । उनीहरूले कसैको टाउकोमा कसैको शरीरमा ताकेर गोली हानेका थिए । गोली प्रहारको घटना हुनुअघि नै आक्रमणकारीले मुख्यद्धार बन्द गरेकाले हताहती हुनेको संख्या बढेको प्रहरीले जानकारी दिएको छ ।

प्रधानमन्त्री आर्डर्नले आरोपितहरूका बारेमा थप विवरण दिन नसक्ने बताइन् । आरोपितहरूको गाडीमा दुईवटा बम जडान गरिएको थियो तर त्यसलाई पछि निष्क्रिय पारिएको थियो । देशको राष्ट्रिय सुरक्षामा जोखिमस्तर उच्च बनाइएको छ । डिफेन्स फोर्सले क्राइस्टचर्चमा थप प्रहरी पठाएको छ ।

सामाजिक सञ्जालमा लाइभ
आक्रमणकारीले आक्रमण गर्दै गरेको लाइभ भिडियो सामाजिक सञ्जालमा प्रशारण गरेका थिए । अस्ट्रेलिया प्रहरीले गोली चलाउने व्यक्ति ब्रेन्टन टारान्ट भनी पहिचान गरेको छ । उनी अस्ट्रेलियामा जन्मेका २८ वर्षीय गोरा मानिस हुन् । उनको ट्विटर अकाउन्ट ब्लक गरिएको छ ।

बन्दूकधारीले एक अनलाइन लिंक दिएर आफ्नो लामो ‘मेनिफेस्टो’ दिएका छन् । प्रहरी कमिस्नर माइक बुशले गोलीकाण्डको फूटेज सामाजिक सञ्जालमा राखिएको विषयमा आफूलाई जानकारी आएको र त्यसलाई हटाउन सबै काम गरिरहेको बताए । ‘यस्ता कुरा सार्वजनिक स्थानमा राखिन योग्य छैनन् ।’ फेसबुकका अस्ट्रेलिया र न्युजिल्यान्ड नीति निर्देशक मिया गार्लिकले क्राइस्टचर्च गोलीकाण्डका भिडियो हटाइएको बताएकी छन् ।

प्रत्यक्षदर्शीले ती बन्दुकधारीले क्राइस्टचर्चस्थित अल नुर मस्जिदमा ५० सट गोली हानेको र उनीसँग सेमी–अटोमेटिक सटगन र राइफलसमेत भएको बताएका छन् । यो भिडियो फुटेज चलाउन खोज्ने वेबसाइट बन्द गर्ने काम भइरहेको स्पार्कका व्यवस्थापकीय निर्देशक सिमोन मोउट्टरले बताए । भिडियो हेल्मेटमा राखिएको क्यमेराबाट खिचिएको हो । त्यसमा बन्दूकधारी मस्जिदको अगाडिको ढोकामा पसेर गोली चलाएको देखिन्छ । उनी मस्जिदभित्र तीन मिनेट रहेको अनि थप गोलीगट्ठा लिनका लागि गाडीमा फर्किएको र पछि फेरि मस्जिद पसेर फेरि गोली चलाएको देखिन्छ । कुल १७ मिनेटको भिडियोको अन्त्यमा बन्दुकधारी तीव्र गतिमा गाडीमा हुँइकिइएको देखिन्छ ।

आक्रमणकारीका आदर्श ट्रम्प
आक्रमणकारी ब्रेन्टन ट्यारेन्टले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आदर्श मान्ने गरेको खुलेको छ । अस्ट्रेलियामा बसोबास गर्ने ट्यारेन्टले हत्याकाण्ड मच्चाउनुअघि एक मेनिफेस्टो लेखेर युरोपेली नागरिकमाथि भएका आतंकवादी आक्रमणमा मरेका गोराहरूको बदला लिएको बताएका थिए । अनि गोराहरूको वर्चस्व कायम गर्नका लागि आप्रवासीहरूलाई बाहिर निकाल्नुपर्ने उनको तर्क छ ।

बेलायती पत्रिका द सनका अनुसार, आक्रमणकारी ट्यारेन्टले आफ्नो मेनिफेस्टो द ग्रेट रिप्लेसमेन्टमा डोनाल्ड ट्रम्पले नयाँ तरिकाले गोराहरूको पहिचान दिलाएको र उनी गोराहरूको साझा उद्देश्यको प्रतीकका रूपमा रहेको लेखेका छन् ।

आक्रमणकारीको मेनिफेस्टोअनुसार, युरोपेली मानिसको संख्या प्रत्येक दिन घट्नुका साथै उनीहरू बूढा र कमजोर भइरहेका छन् । उनीहरूले कम्तीमा दुई सन्तान नजन्माए समूल नाश निश्चित छ । बाहिरबाट आएका मानिसले निकै सन्तान जन्माइरहेकाले एक दिन उनीहरूले गोराको भूमि खोस्नेछन् ।

घटनाको विश्वभरबाट भत्र्सना
न्युजिल्यान्डकै राष्ट्र प्रमुखसमेत रहेकी रानी एलिजावेथ द्वितीयले घटनाबाट आफुलाई गहिरो दुःख लागेको बताइन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाप्रति दुःख व्यक्त गर्दै सो घटनालाई भयानक नरसंहारको संज्ञा दिएका छन् । ट्रम्पले ट्वीटरमा लेखेका छन्,‘यस दुःखद घडीमा न्युजिल्यान्डका जनता र मृतकका आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।’ रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले न्युजिल्यान्डमा भएको घटना थाहा पाएर आफुलाई ज्यादै दुःख लागेको बताएका छन् । यसैगरी, क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले पनि न्युजिल्यान्डको दुईवटा मस्जिदमा भएको आक्रमणमा परी ४९ जना भन्दा बढीको निधन भएकोप्रति दुःख व्यक्त गरेका छन् । विश्वभरका अन्य देशले पनि घटनाको निन्दा र भत्र्सना गरेका छन् ।

प्रतिक्रिया