बन्दको प्रभाव आंशिक

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमाथि सरकारले लगाएको प्रतिबन्धको विरोधमा गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । ।

काठमाडौं उपत्यका लगायत देशभर शैक्षिक संस्थाहरुमा पनि बन्दको प्रभाव परेको छ । कलेज तथा विद्यालय नखुलेपछि पठनपाठन प्रभावित भएको छ । तर, कहीँ पनि बन्दकर्ता सडकमा देखिएका छैनन् । बन्द र ठाउँ–ठाउँमा भेटिएका शंकास्पद वस्तुले जनतामा त्रास पैदा गराएको छ ।

काठमाडौं उपत्यकामा बिहानैबाट निजी सवारी साधन निर्वाध चलिरहेका छन् । तर, सार्वजनिक सवारी साधनमा भने यसको प्रभाव परेको छ । सार्वजनिक सवारी कम चल्दा यात्रुले सास्ती खेप्नु परेको छ ।

आजै पोखराका दुई स्थानमा शंकास्पद बस्तु देखिएपछि सुरक्षा सतर्कता बढाइएको छ । सभागृहचोक र भण्डारढिकको खेलमैदान नजिकै अज्ञात समूहले शंकास्पद वस्तु फेला परेको थियो ।

यस्तै गोरखा सदरमुकामका दुई स्थानमा बिहानै शंकास्पद वस्तु भेटिएका छन् । गोरखा नगरपालिका ६ क्याम्पसरोड र बाह्रकिलोमा कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

रौतहटको चन्द्रपुर र व्रिन्दावन नगरपालिकाको सीमा क्षेत्रमा पर्ने हर्षाह चोकमा पनि शंकास्पद वस्तु भेटिएको छ । बम रहेको आशंका गरिएपनि प्रेसर कुकरभित्र कागजका टुक्राहरु राखिएको भेटिएको हो

बुटवलको कालिकाचौकमा पनि बिहान शंकास्पद वस्तु भेटिएको छ । रुपन्देही स्थित सिद्धार्थ राजमार्गको बुटवल बेलहिया खण्डको कालिकाचौकको ट्राफिक ब्रेकरमाथि शंकास्पद वस्तु भेटिएको हो ।

त्यसैगरी, मकवानपुरको हेटौँडा औद्यागिक क्षेत्रको गेटमा पनि शंकास्पद बस्तु फेला परेको र सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेर डिस्पोज प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया