सांस्कृतिक सम्पदाको संरक्षणबाट पुण्य काम: राष्ट्रपति भण्डारी

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण संवद्र्धन गर्दै मानव हितका लागि धेरै काम गर्न सकिने बताएकी छन् ।

हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा निर्मित लिफ्टको आज उद्घाटन गर्दै सम्पदाको संरक्षणले देशको दिगो विकासका साथै भावी पुस्ताको भविष्य निर्माण र पुण्य आर्जन हुने उनले बताइन् ।

धर्मको महत्वपूर्ण पक्ष सेवा भएको चर्चा गर्दै उनले सेवाभावबाट अभिप्रेरित हुँदै बिन्ध्यवासिनी क्षेत्र विकास समितिको सक्रियतामा मन्दिर दर्शनका लागि इच्छुक तर भौतिक एवम् शारीरिक रुपमा मन्दिरमा पुग्न नसक्ने भक्तजनलाई लक्षित गरी लिफ्ट निर्माण गरेकोप्रति धन्यवाद व्यक्त गरिन् ।

सुन्दर प्रकृति र विविधताले भरिपूर्ण पर्यटकीय नगरी पोखराको बिन्ध्यवासिनी मन्दिर ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको पवित्र अनुपमस्थल भएको राष्ट्रपति भण्डारीले बताइन् ।

राष्ट्रपति भण्डारीलाई मायाको चिनो
पोखरास्थित प्रसिद्ध विन्ध्यवासिनी मन्दिर परिसरमा नवनिर्मित लिफ्टको समुदघाटन समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई मायाको चिनो प्रदान गर्दै विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेश श्रेष्ठ ।

स्वतः स्फूर्त जागरण, श्रद्धा एवम् आस्थाको भावनाले हाम्रो इतिहास एवम् सांस्कृतिक धरोहरको संरक्षण जनस्तरबाट हुँदै आएको उल्लेख गर्दै उनले बिन्ध्यवासिनीमा धार्मिक क्षेत्र विकास समिति गठनपश्चात् समितिका माध्यमबाट गरिएका संरक्षण र विकासका कामको प्रशंसा गरिन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले लिफ्ट निर्माणमा सहयोग गर्ने हुण्डाई मोटर कम्पनी दक्षिण कोरियाका प्रतिनिधि उपप्रमुख जोनसोन र लक्ष्मी ग्रुप नेपालका निर्देशक सुनील श्रेष्ठलाई सम्मान गरिन् ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले धर्मबाट अनुशासन हुने र अनुशासन विधि भएको चर्चा गर्दै विधिबाट शासन हुनुपर्नेमा जोड दिए । उनले ज्येष्ठ नागरिक शारीरिक रुपमा अशक्तलाई लक्षित गरी लिफ्ट निर्माण गरिनु महत्वपूर्ण कार्य भएको बताए ।

लिफ्ट निर्माणमा सहयोगी श्रेष्ठ सम्मानित
राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार पोखरास्थित प्रसिद्ध विन्ध्यवासिनी मन्दिर परिसरमा नवनिर्मित लिफ्टको समुदघाटन समारोहमा लिफ्ट निर्माणमा सहयोग गर्ने लक्ष्मी ग्रुपका निर्देशक सुनिल श्रेष्ठलाई सम्मान गर्दै ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश प्रकृति र संस्कृतिले सम्पन्न भएको चर्चा गर्दै त्रिवेणीदेखि देवघाट हुँदै मुक्तिनाथसम्मका धार्मिक सांस्कृतिक एवम् पर्यटकीयस्थललाई समृद्धिसँग जोड्नुपर्ने बताए । प्रदेशमा धार्मिक, सांस्कृतिक भावनाका साथै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै प्रदेशको समृद्धिसँग जोड्नु आवश्यक रहेको उनले बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विश्वका १० महत्वपूर्ण प्राकृतिक शहरमध्येको पोखरालाई पर्यटकीय महानगरपालिका बनाउन माग गरिएको बताउँदै राष्ट्रपतिमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए । मन्दिरको व्यवस्थापनका साथै स्रोत पहिचान र परिचालनमा बिन्ध्यवासिनी क्षेत्र विकास समितिले चालेको कदमको उनले प्रशंसा गरे ।

बिन्ध्यवासिनी क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले २४० वर्षको इतिहास बोकेको बिन्ध्यवासिनी मन्दिर यस क्षेत्रको अत्यन्त श्रद्धा एवम् विश्वासयुक्त धार्मिकस्थल भएको बताए । कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले निर्माण गरेको यस मन्दिरको संरक्षण र विकासका लागि २०४६ सालमा समिति गठन भई समितिमार्फत काम भइरहेको उनले जानकारी गराए ।

मन्दिरलाई पूर्वाधारयुक्त बनाउने गरी काम अघि बढिरहेको बताउँदै उनले परिसरमा विभिन्न भौतिक निर्माणका साथै बिन्ध्यवासिनी एम्बुलेन्स सेवा, गुरुकुल, ज्येष्ठ नागरिक मिलन केन्द्र आदि सञ्चालनमा आइरहेको जानकारीसमेत दिए ।

प्रतिक्रिया