काठमाडौं । खराब कार्यसम्पादनको आरोप लागेको विशेष अदालतका तीन जना न्यायाधीश एकैचोटी सरुवा भएका छन् । भ्रष्टचारको मुद्दा हेर्नेगरी गठन भएको विशेष अदालतका तीन न्यायाधीशमाथि न्यायपरिषद्मा उजुरी परेपछि सरुवा भएको हो ।
विवादमा आएको व्यक्तिलाई उक्त स्थानमा राख्दा थप विवाद हुने भएपछि अन्य उच्च अदालतमा सरुवा गरिएको परिषद् स्रोतले बताएको छ
विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायण पोखरेल सरुवामा परेका हुन् । उनिहरुमध्ये ढकाल र बागचन्दलाई जुम्लामा सरुवा गरिएको छ । यस्तै, पोखरेललाई राजविराज पठाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने अधिकांश भ्रष्टचारको मुद्दामा प्रत्यक्ष र अप्रत्यक्ष संलग्नता देखिएकाले सरुवा गरेको परिषद् स्रोतले जानकारी दिएको छ ।
न्यायपरिषद्को सहमतिमा प्रधानन्यायाधीश राणाले विशेष अदालतका तीन जना न्यायाधीशलाई सरुवा गरेका न्याय परिषद्ले जनाएको छ । न्याय सम्पादनका क्रममा बिचौलियासँग भेटेको, मुद्दाका पक्षसँग सम्पर्कमा रहेको जस्ता उजुरी परेपछि प्रधानन्यायाधीश राणाले तीन जनालाई सरुवा गरेका हुन् । विवादमा आएको व्यक्तिलाई उक्त स्थानमा राख्दा थप विवाद हुने भएपछि अन्य उच्च अदालतमा सरुवा गरिएको परिषद् स्रोतले बताएको छ ।
केही दिनअघि एक पूर्वमन्त्रीका विरुद्ध परेको मुद्दामा विशेष न्यायाधीशका प्रतिनिधि र ती पूर्वमन्त्रीबीच गोप्य भेटघाट भएको समाचार बाहिरिएको थियो । त्यसअघि केही न्यायाधीशविरुद्ध परिषद्मा लिखित उजुरीसमेत परेपछि प्रधानन्यायाधिश राणाले सुक्ष्म अनुसन्धान थालेका थिए । न्यायक्षेत्रका व्यक्तिहरूले भने यसलाई सरुवा नभनी कारबाही भएको बताएका छन् । सुगम क्षेत्रमा रहेका न्यायाधीशलाई एकैचोटी दुर्गम क्षेत्रमा सरुवा गर्नु कारबाहीसरह हो । ‘भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्ने विशेष अदालतका न्यायाधीशलाई जुम्ला पठाउनु कारबाहीसरह हो,’ न्याय क्षेत्रका एक जानकार भन्छन् ।
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीका कार्यकालमा उनीहरू विषेश अदालतमा न्यायाधीश नियुक्त भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने गरेका भ्रष्टचारसम्बन्धी मुद्दामा कम विगोमा आरोपीहरू छुट्दै आएका थिए । यस विषयमा अख्तियार पनि विशेषसँग असन्तुष्ट हुँदै आएको थियो ।
पछिल्लोपटक संघीय समाजवादी फोरम नेपालका सांसद हरिनारायणप्रसाद साह रौनियार (निलम्बित) र उनका छोरा सुमित १ करोड ७५ लाख धरौटी बुझाएर रिहा भएका थिए । विशेष अदालतमा दर्ता भएको भ्रष्टाचार मुद्दामा आइतबार हाजिर भएका रौनियार बाबुछोरा प्राइम बैंक धरौटी बराबर ग्यारेन्टी बसेपछि रिहा भएका हुन् । विशेष अदालतका न्यायाधीश द्वारिकामान जोशी, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले दुवैसँग जनही एक करोड ७५ लाख धरौटी माग गरेको थियो । सो आदेश दिने पोखरेल भोलिपल्टै सरुवामा परेका हुन् ।
परिषद् स्रोतका अनुसार विशेष अदालतका अन्य न्यायाधीशहरू पनि अहिले निगरानीमा रहेका छन् । उनीहरूका फैसला र आदेशको सुक्ष्म निगरानी र अनुसन्धान भइरहेको छ । ती पुरा हुनेवित्तिकै कारबाही वा सरुवा के हुने विषयमा परिषद्ले निर्णय लिने बताइएको छ । न्यायापरिषद्ले जुम्ला इजलासका न्यायाधीश तेजबहादुर कार्कीलाई भने पोखरा उच्च अदालत सरूवा गरेको छ ।
यसअघि प्रधानन्यायाधीश राणाले ३८ क्विन्टल सुन तस्करीसम्बन्धी मुद्दामा कैफियत गरेको भन्दै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीशसहित अन्य न्यायाधीश छानबिनमा रहेका छन् । तीन जना जिल्ला न्यायाधीशहरू पनि परिषद्को छानबिनमा परेका छन् ।प्रधानन्यायाधीशको नेतृत्व लगत्तै राणाले आक्रामक रूपमा न्यायालय सुधार गर्ने भन्दै सरुवा र छानबिनलाई तीव्रता दिइरहेका छन् ।
विशेषमा कर फस्र्योट आयोगका सदस्य सचिव चुडामणि शर्मा, पप्पु कन्स्ट्रक्सन, पोलिमर नोट प्रकरण, राप्रपा नेता विक्रम पाण्डेलगायतका ठूला भ्रष्टाचार काण्डका मुद्दा विचाराधीन रहेको अवस्थामा प्रधानन्यायाधीश राणाले विशेषका न्यायाधीशहरूको सरुवा गरेका हुन् । हरेक दुई वर्षमा न्यायाधीशहरूको सरुवा हुने व्यवस्था रहे पनि राणा प्रधानन्यायाधीश भएपछि सरुवामा खरोमा उत्रिएका छन् ।
प्रतिक्रिया