पर्यटकको आकर्षण बन्दै तनहुँको मानहुँकोट

दमौली । तनहुँको सदरमुकाम दमौली नजीकै रहेको मानहुँकोट कुनै समय बत्तीमुनिको अँध्यारोको रुपमा परिचित थियो । दमौलीबाट करीब आठ किलोमिटर दूरीमा रहेको यस ठाउँ पुग्न केही वर्ष अघिसम्म पैदल बाहेक अरु विकल्प थिएन । पैदलमार्ग हुँदै मानहुँकोटसम्म पुग्न दुई घण्टा भन्दा बढी समय लाग्थ्यो ।

सदरमुकामबाट नजीकै रहेर पनि ओझेलमा पर्दैआएको मानहुँकोट अहिले भने पर्यटकको आकर्षण बन्दै गएको छ । अहिले मानहुँकोट पुग्ने पर्यटकलाई पैदल हिँड्नुपर्दैन । सवारीसाधनबाट करीब २५, ३० मिनेटमै पुग्न सकिने भएको छ । एक किलोमिटर बाटो कालोपत्र भइसकेको यस ठाउँमा कालोपत्र गर्ने काम भइरहेको छ ।

आर्थिक वर्ष २०७५, ७६ मा अलैचेबाट मानहुँकोटसम्म नै सडक कालोपत्र गर्ने तयारी भइरहेको छ । केन्द्र सरकारको दश करोड बजेटबाट सडक कालोपत्र गर्न बाटो निर्माणको काम थालिएको हो ।

मानहुँकोटबाट दमौली बजार छर्लङ्ग देखिन्छ । यसले गर्दा पछिल्लो समयमा यहाँ पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । मानहुँकोटमा अन्य दिनभन्दा शनिबार र सार्वजनिक बिदाको दिन अत्यधिक भीड हुने गरेको छ ।

दमौली बजार र हिमालका शृङ्खलाहरु मनमोहक देखिने भएकाले आफू बेला बेलामा यहाँ आउने गरेको बताउँछन् व्यास नगरपालिका १ का शैलेश हड्खले । उनले भनेर “मानहुँकोट दृश्यावलोकनका लागि निकै मनमोहक छ । दमौली बजार आसपासका क्षेत्र कुहिरोले घेरेको हेर्दा निकै आनन्द लाग्छ ।

जाडो मौसममा न्यानो घाम र बिहान सूर्योदय र बेलुकाको अस्ताउँदो सूर्य नजीकबाट नियाल्न पाउँदा आनन्द लाग्ने गरेको रिसिङ गाउँपालिका १ की बसन्ती आलेले बताईन् । उनका अनुसार मानहुँकोटबाट देखिने हिमाल तथा समथर फाँट, नदीनालाले निकै मनमोहक बनाउँछ ।

विशेष गरेर आन्तरिक पर्यटकको रोजाइको केन्द्रको रुपमा विकास हुँदै गएको मानहुँकोट तनहुँको पर्यटकीय सम्भावना बोकेको पर्यटकीय स्थल समेत रहेको व्यास नगरपालिका वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले बताए । दृश्यावलोकनको लागि महत्वपूर्ण गन्तव्यको रुपमा रहेको मानहुँकोटको प्रचारप्रसार हुन सकेकै कारण यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको श्रेष्ठको भनाई छ ।

व्यास नगरपालिका ५ र म्याग्दे गाउँपालिका १ लाई समेटेको यो मगर समुदायको बसोबास रहेको क्षेत्र छ । मगर समु्दायको संस्कृति यो ठाउँको अर्को आकर्षण हो ।

मानहुँकोटबाट माछापुछ्रे, अन्नपूर्ण लगायतका हिमशृङ्खला साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ । मानहुँकोट प्राकृतिक सुन्दरताले धनी भएपनि पर्याप्त पूर्वाधार निर्माण नहुँदा अझै सोचे जति विकास हुन नसकेको बताउँछन् स्थानीय गोपीराम थापा ।

मानहुँकोटको प्रचारप्रसारका लागि चण्डीपूर्णिमाको अवसरमा कौराहा उत्सव गर्ने गरिएको छ । समुद्री सतहदेखि एक हजार १०० मिटर उचाइमा रहेको मानहुँकोटमा शनिबार र विदाको दिनमा ५०० भन्दा बढी पर्यटक पुग्ने गरेका छन् ।

मानहुँकोटको विकासका लागि व्यास नगरपालिकाले पूर्वाधार निर्माणमा समेत ध्यान दिएको छ । नगरपालिकाले मानहुँकोटको गुरुयोजना निर्माण गरी यसको विकासका लागि काम थालेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

उनका अनुसार मानहुँकोटको पर्यटन प्रवद्र्धनका लागि भ्युटावर बनाउने तयारी गरिएको छ । यसका लागि नगरपालिकाले ३० लाख बजेट समेत विनियोजन गरिसकेको छ ।

भ्युटावर बनेपछि यहाँबाट मादी र सेती नदीमा बनाइने ड्याम, विभिन्न हिमशृङ्खला, तनहुँ, कास्की, नवलपरासी, गोरखा लगायतका जिल्लाका मनोरम दृश्यको साथै फाँटहरू सजिलै देख्न सकिन्छ । नगरपालिकाले मानहुँकोटमा केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययनसमेत थालेको छ ।

खानेपानी प्रमुख समस्या

मानहुँकोटको मुख्य समस्या भनेको खानेपानीको हो । खानेपानीको अभावले गर्दा यहाँको पर्यटन विकासमा बाधा पुगेको महशुस गरिएको स्थानीय रेवती आलेमगरले बताईन् ।

यहाँका स्थानीय बासिन्दालाई खानेपानीको जोहो गर्न बिहानैदेखि एक घण्टा हिँड्नुपर्ने बाध्यता छ । खानेपानीकै समस्याका कारण यहाँका केही स्थानीय बासिन्दाले आफ्नो थातथलो समेत छोडिसकेका छन् ।

नगरपालिकाले भने मानहुँकोटमा लिफ्ट प्रविधि मार्फत् खानेपानी योजना सञ्चालन गर्न लागिएको जनाएको छ । नगर प्रमुख न्यौपानेले बताए ।

प्रतिक्रिया