काठमाडौं महानगरलाई छुट्टै ऐन चाहिन्छ

विद्यासुन्दर शाक्य, प्रमुख, काठमाडौं महानगरपालिका

स्थानीय निर्वाचन हुँदै गर्दा मुलुककै राजधानीसमेत रहेको काठमाडौं महानगर चर्चाको शिखरमा थियो । चर्चा हुनुको मुख्य कुरा तत्कालीन नेकपा (एमाले) का उम्मेदवारको सय दिनमा पूरा गर्ने एक सय एक कामको सूचीले हंगामा पिटेको थियो । उनको प्रतिवद्धतामा जनाताले पनि छाप लगाएका कारण निर्वाचन जिते पनि । अहिले उनले कार्यभार सम्हालेको करिव दुई वर्ष पूरा हुन लागेको छ । ती प्रतिवद्धता कति पूरा भए त ? किन हुन सकेनन् त ? यस्तै विषयमा आधारित रहेर काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यसँग सौर्यकर्मी सञ्जिता आचार्यले गरेको कुराकानीको सम्पादित अंशः

काठमाडौं महाननगरको कार्यभार सम्माल्नुभएको करिब दुई वर्ष बित्न लाग्यो । योे अवधिको समीक्षा कसरी गर्न चाहनुहुन्छ ?
-म जनप्रतिनिधि भएर आएसँगै महानगरपालिकामा धेरै परिवर्तन भएको छ । निर्वाचित भएर आउँदा जुन अवस्थामा कार्यभार सम्हालेका थियाैँ त्यसलाई तुलना गर्ने हो भने धेरै काम सम्पन्न गरिसकेका छौँ । तर, यति नै सबै हो भन्न सकिने अवस्था छैन । हामीले देखेको सपना यति मात्र होइन । ती परिकल्पना पूरा गर्न अझै धेरै काम गर्न बाँकी छ । बाहिरी वातावरणमा देखिँदा सबै काम महानगरले गर्छ भन्ने छ तर त्यसो हुन सकेको छैन । विभिन्न तत्वहरू क्रियाशील छ ।

ज्येष्ठ नागरिकलाई सम्मान, प्रोत्साहन भत्ता मासिक १२ हजार दिँदै आएका छौँ । साझा बसमा यात्रा गर्दा निःशुल्क गरिदिएका छौँ । अपांगता भएका व्यक्तिलाई निःशुल्क यातायतको व्यवस्था गरेका छौँ । २४ ओटा नयाँ बस आउँदै छ कहाँकहाँ राख्ने भन्ने छलफलमा छौँ

आमसर्वसाधारणको भनाइ के छ भने सबै महानगरले गर्नै पर्छ । वास्तवमा त्यो हुनैपर्ने हो तर हुन सकेको छैन । देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकालाई सञ्चालन गर्नका निम्ति छुट्टै कानुनको व्यवस्था हुनुपर्छ । अरू नगरपालिका जुन ऐनबाट सञ्चालित छन् सोही ऐनले महानगर चल्न बाध्य भएको छ । अन्य नगरपालिका र महानगरमा कुनै फरक भएको छैन । संघीय राजधानी भएकाले सरकारको हेर्र्नेे नजर परिवर्तन हुन आवश्यक छ ।

पूर्वाधार विकास, सम्पदा पुनर्निर्माण, सरसफाइजस्ता विषयमा काम गर्दै आएका छौँ । केही त्यसवेला बोलेका कुरा जस्तो कि भवन निर्माण मापदण्ड परिमार्जन गर्याैँ । सार्वजनिक जग्गा संरक्षण गर्यौँ, सम्पदा संरक्षण गर्न लागिरहेका छौँ । पूर्वाधारको विषयलाई हेर्दा हाम्रो क्षेत्राधिकारभित्र पर्ने आठ मिटरभन्दा साना बाटोमा धेरै काम गसिकेका छौँ । ठूला बाटोमा पनि सडक विभाग, मेलम्ची खानेपानीसँग सम्झौता गरी काम गर्न खोजिरहेका छौँ ।

आफ्नो कामबाटभन्दा पनि अर्काको कामबाट आलोचित भएका छौँ । आफ्नो कामबाट महानगरवासीमा कुनै गुनासो छैन । अरूले नगरेको कामको अपजस महानगरले भोग्दै आउनुपरेको छ । आठ मिटरभन्दा ठूला सडक महानगरको जिम्मेवारीमा पर्दैन । तर, त्यसको काम नहुँदा हामीले अपजस खेप्नुपरेको छ । अहिले त जोरपाटीको बाटो, थानकोटमा बाटो बिगँ्रदा पनि गाली महानगरले नै खानुपरेको छ । आफ्नो मातहका कामको समीक्षा हुन जरुरी छ ।

हामीलाई काम गर्न दिने हो भने सम्पन्न भइसक्थ्यो । महानगरपालिकाको भवन जग हालिसकेको थियो । रानीपोखरी सम्पन्न भइसक्थ्यो । पैसा हामीले राखेका थियाैँ । जति खर्च लागे पनि गर्न तयार थियौँ ।

प्रत्येक वडाका आफ्नै भवन निर्माण गर्न लागेका छौँ । छिमेकी नगर समृद्ध बनाउन १० वटा नगरपालिकालाई एक करोडका दरले दिएका छौँ । धेरै काम गरिसकेका छौँ हिजो कति हो त महानगरको कार्यक्षेत्र भन्ने बुझ्न नसक्दा समस्या थियो । आज सो समस्या छैन । खानेपानी, ढल महानगरको मातहतमा रहनुपर्छ ।

हाल आफ्नो मातहतमा रहेका र काम गर्दै आएकमा त विवादित भएकोे छ भने अझै अरू थप्दा झन विवादित हुन्छुजस्तो लाग्दैन ?
-कहाँ आलोचित भएका छौँ खोइ ? रानीपोखरीमा हाम्रो कारणले आलोचित भएको होइन । हामीसँग पैसा छ, हामी काम गर्न चाहन्छाैँ, काम गर्न नदिएको त हो नि ! त्यसमा हाम्रो के दोष छ ? काम गर्न चाहन्छाैँ, बजेट विनियोजन गरेका छौँ, तर अवरोध गराई काम गर्न नदिएको त हो । जसले काम गर्न नदिई अवरोध गर्यो त्यसले नैै नैतिक जिम्मेवारी लिनुपर्ने होइन ? हामीले जस्तो सम्पदा बनाउन खोजेको कसले छ ? विरोध गर्न सजिलो छ तर काम गर्न गाह्रो छ ।

हामीलाई काम गर्न दिने हो भने सम्पन्न भइसक्थ्यो । महानगरपालिकाको भवन जग हालिसकेको थियो । रानीपोखरी सम्पन्न भइसक्थ्यो । पैसा हामीले राखेका थियाैँ । जति खर्च लागे पनि गर्न तयार थियौँ ।

सम्पदा क्षेत्रमा क्रंक्रिट प्रयोग भयो भन्दै टिप्पणी भएको थियो नि ?
-(क्रंक्रिट प्रयोग के मैले गरेको हुँ र ? ०७२ सालमा तयार भएको ड्रइङ डिजाइन हो । त्यो ड्रइङ डिजाइनअनुसार काम अगाडि बढ्यो । त्यसवेला सरकारमा को थियो त ? त्यसले नैतिक जिम्मेवारी लिनु पर्दैन ?

तपार्इं मेयर भएपश्चात् काठमाडौं महानगरपालिकाले के पायो अर्थात के दिन सक्नुभयो ?
-धेरै काम भएकाले यति नै भयो भन्न सकिन्न । मैले बोलेका मध्ये अधिकांश काम पूरा गरिसकेको छु । कुनै काम सुरु भएको छ । भने कुनै कामले निरन्तरता पाइरहेको छ । कुनै निरन्तरता दिने खालका हुन्छन् भने कुनै एकपटक गरेपछि सकिने खालका हुन्छन् । विकास निर्माणका काम एकपटक गरेपछि सकिन्छ भने सरसफाइको काम निरन्तर गरिहनुपर्ने हुन्छ ।

हिजोका दिनमा भन्दा निकै परिवर्तन भइसकेको छ । काठमाडौंमा आँखा खोलेर हिँड्न सक्ने अवस्था र्सिजना भएको छ । फोहोर व्यवस्थापनको काम भयो । चुनौतीका बाबजुत पनि काम गरिहेका छौँ । पानीपरेको वेला गाडी जान नसकेर रोकिनेभन्दा अरू कुनै समयका रोकिएको छैन । जाम व्यवस्थापन गर्न ‘पिक एन्ड ड्रप’ लागू गरेका छौँ । धेरै व्यक्ति खुसी छन् । केहीको आपत्ति छ, त्यसमा पनि सम्बोधन गर्दै अगाडि बढ्ने छौँ । ब्रुमर खरिदको प्रक्रियामा छ ।

चुनावमा उठाएका १ सय १ काम मध्ये कति काम गर्न सक्नुभयो ?
-कति काम भयो भनेर अंकमा तुलना गर्नुभन्दा पनि व्यवहार हेर्न जरुरी छ । हिजो र आजमा आएको परिवर्तत हेर्न जरुरी छ । ज्येष्ठ नागरिकलाई सम्मान, प्रोत्साहन भत्ता मासिक १२ हजार दिँदै आएका छौँ । साझा बसमा यात्रा गर्दा निःशुल्क गरिदिएका छौँ । अपांगता भएका व्यक्तिलाई निःशुल्क यातायतको व्यवस्था गरेका छौँ । २४ ओटा नयाँ बस आउँदै छ कहाँकहाँ राख्ने भन्ने छलफलमा छौँ । विद्युतीय बसमा जाँदै छौँ । त्यसपछि मोनोरेलमा जानेछौँ ।

काठमाडौंमा घर भत्काएर सडक विस्तार गर्न सकिने अवस्था छैन । यसलाई माथिल्लो सरकारले पनि बुझ्नुपर्ने भनेको अब काठमाडौंमा घर, सवारी साधन धेरै भए सडक त्यति नै छ । जग्गा त्यति नै छ । त्यसलाई विस्तार गर्न सकिँदैन । त्यसलाई व्यवस्थापन गरेर संघीय सरकारले सवारी बढाउनु भएन । मलाई लाग्छ हामी आइसकेपछि धेरै काम गरिसकेका छौँ । अरू वडामा कार्यालय बनाउन थालिसके तर आफ्नै भवन छैन । मुद्दा खेपिरहनु परेको छ । जहाँ मुद्दा छैन सबैतिर काम भइरहेको छ ।

काठमाडौंमा मोनोरेल सञ्चालन गर्ने पनि चुनावी एजेन्डा नै हो, अबको कति वर्षमा काठमाडौंमा मोनोरेल चढ्न पाइन्छ ?
-डिपिआरको चरणमा छ । त्यसको रिपोर्ट आएपछि खरिद प्रक्रियामा अगाडि बढ्नुपर्छ । खरिद प्रक्रियामा अगाडि बढ्दा केही समय लाग्न सक्छ । कानुनअनुसार ऐननियमअनुसार गर्दा केही समय लाग्न सक्छ । रिपोर्टका लागि एक वर्षको समय दिइएको छ । सो रिपोर्ट आएसँगै कानुनअनुसार अगाडि बढ्छौँ ।

तपाईंको पहिलो योजना महानगरको कार्यालय व्यवस्थित बनाउने रहेको थियो, हाल नौ ठाउँमा कार्यालय छरिएको छ । सेवाग्राही सास्ती खेपिरहेका छन् नि ?
-वास्तवमा तपाईंले भनेका कुरा साँचो हो । सेवाग्राहीले दुःख भोगिरहेका छन् । तर, त्यसमा हाम्रो कुनै कमजोरी छैन किनभने काठमाडौं महानगरपालिकाको मेयरलाई असफल बनाउन भएको चलखेलका कारण यस्तो भएको हो । जग राखिसकेका थियौँ । काम गर्न नदिने नियतका साथ यस्तो चलखेल भयो । आफ्नै भवनमा मुद्दा खेपिरहेका छौँ । त्यसैले गर्दा बन्न नसकेको हो । काम गर्न मुद्दाका कारण महानगर भवन अलपत्र परेको छ । यसले गर्दा १५ देखि २० करोड नोक्सान भइसकेको छ । त्यो हाम्रो मात्र नोक्सानी होइन उपत्यकावासीको हो, सरकारको हो । मुद्दा टुंगिने बित्तिकै यसको निर्माणमा तीव्रता दिनेछाैँ ।

धेरै काम गरिसक्याँै भन्नुभयो तर महानगरमा निर्माण गर्ने भनिएको सार्वजनिक शौचालय नै निमार्ण हुन सकेको छैन नि ?
तपाईंले उठाउनुभएको कुरा ठिकै हो । हामी त्यसमा सचेत छौँ । सार्वजनिक शौचालय बनाउने विषयमा उपमेयरको नेत्रृत्वमा कमिटी बनेको छ । ठाउँ पहिचान गरी कुन मोडलमा काम गर्न सकिन्छ कहाँकहाँ बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

तपाईंको कार्यकाल सकिँदा महानगरलाई कस्तो बनाएर छोड्नु हुन्छ ?
महानगरलाई सुन्दर सहर बनाएर जानेछौँ । सांस्कृतिक सहरको रूपमा सुन्दर बनाउनेछौँ । यहाँका मूर्तअमूर्त संस्कृतिलाई जोगाएर राख्नेछौँ । संरक्षण मात्र नभई प्रवद्र्धन गर्ने कुरामा पनि कतै चुक्ने छैनौँ । मन्दिर छ भन्दैमा पूजा मात्र गर्ने होइन संरक्षण, प्रवद्र्धन र पर्यटन वृद्धी गर्नका निमित्त उचित कदम अगाडि बढाउनेछाैँ । यस सहरलाई पर्यटनसँग जोडेर अगाडि बढाउनेछौँ । विशेष गरी धार्मिक पर्यटकसँग जोड्छौँ । आन्तरिक तथा बाह्य पर्यटक दुबैलाई एक-दुई दिन काठमाडौंमा घुमफिरमा बिताउन सक्ने वातावरण सिजना गर्ने छौँ । धुलोमुक्त, सरसफाइमा राम्रो, काठमाडौं सुरक्षित बनाउन नेपाल प्रहरीसँग समन्वय गर्दै अगाडि बढ्नेछौँ । सिसी क्यामरा थप्ने काम गर्ने काम गरेर सुरक्षित बनाएर जाने लक्ष्य रहेको छ ।

प्रतिक्रिया