मापदण्डविपरीत मासु पसल सञ्चालन

सुर्खेत, १० असार । सुर्खेतमा राँगा र बंगुर मासु पसल मापदण्डविपरीत सञ्चालित छन् । वीरेन्द्रनगरमा सञ्चालित अधिकांश राँगा तथा बंगुरका मासु पसल सडक छेउछाउमै सञ्चालन गरिएको छ । ती पसलले सञ्चालनका लागि निर्माण गरिएको कुनै पनि मादपण्ड पूरा गरेका छैनन् ।

नगरपालिका र आसपासका क्षेत्रमा हाल करिब दुई दर्जन राँगा तथा बंगुर पसल सञ्चालनमा रहेका छन् । राँगा पिपिरामा बध गरी वीरेन्द्रनगरका विभिन्न स्थानबाट र बंगुर बाटो किनारमै बध गरी बिक्री वितरण गर्ने गरिएको छ । मासु पसलले सरसफाइमा ध्यान नदिँदा दुर्गन्ध फैलिएको छ । राँगा र बंगुर मासु पसल अव्यवस्थित रूपमा सञ्चालन भइरहेका छन् । तर, यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायले ध्यान दिएको छैन ।
वीरेन्द्रनगर नगरपालिकाका योजना अनुगमन तथा प्रशासन अधिकृत प्रकाश पौडेलले अधिकांश मासु पसलले सरसफाइमा ध्यान नदिएको भेटिएको बताए । ती मासु पसलको व्यवस्थापन पक्ष कमजोर हुँदा अझै पनि स्वस्थ मासु उपभोग गर्नबाट उपभोक्ता वञ्चित भएको पौडेल बताउँछन् ।
मासु व्यवसायी संघ सुर्खेतका अध्यक्ष श्याम नेपालीले नगरपालिकाको कमजोरीकै कारण मासु व्यवसाय व्यवस्थित हुन नसकेको बताए । मासु बिक्रीवितरणका लागि छुट्याइएको स्थान अन्य प्रयोजनमा ल्याइएको भन्दै उनले तत्काल सो स्थान व्यवसायीलाई उपलब्ध गराउन माग गरे ।
अध्यक्ष नेपालीले खसी बधशाला मासु व्यवसायीले नै सञ्चालन गर्न पाउनुपर्ने बताए । उनले सहकारीलाई बधशालाको जिम्मा दिँदा मासु व्यवसायीले पैसा दिएर पनि उचित सेवा–सुविधा नपाएको गुनासो गरे । श्रीदेवी सहकारीसँगको सम्झौता खारेज गरी नगरपालिकाले तत्काल बधशाला सञ्चालनको जिम्मा मासु व्यवसायीलाई नै दिनुपर्ने उनले माग गरे ।

खसी बधशाला पुन:सञ्चालन
दुई महिनादेखि बन्द वीरेन्द्रनगर खसी बधशाला पुन:सञ्चालनमा आएको छ । यसअघि वीरेन्द्रनगर नगरपालिका र केही मासु व्यवसायीले सहयोग नगरेको भन्दै बधशाला सञ्चालनको जिम्मा लिएको श्रीदेवी बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन भएको ४ महिनामै बधशाला बन्द गरेको थियो । तर, नगरपालिकासँगको सहमतिपछि पुन: सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया