काठमाडाैं। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज सामुदायिकबाट व्यक्तिको नाममा सारिएको भन्दै छानबिन हुने भएको छ ।
व्यवस्थापिका संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले कलेजमा भएको अनियमितताबारे तत्काल छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो ।
समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले उपसमितिले पेस गरेको अध्ययन प्रतिवेदनको आधारमा कलेजमा भएको अनियमितताबारे तत्काल छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको समिति सदस्य तथा छानबिन उपसमितिका संयोजक योगेश भट्टराईले बताए ।
प्रतिवेदनलाई अनुमोदन गर्दै सो कलेजमा भएको अनियमितताबारे छानबिन गर्न तत्काल मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरी कामकारबाही अघि बढाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिइएको भट्टराईले बताए । छानबिन समितिमा स्थानीय जिल्ला प्रशासन कार्यालयका एक जना प्रतिनिधिलाई अनिवार्य समावेश गर्न पनि सरकारलाई निर्देश गरिएको छ ।
समितिका सदस्य भट्टराई, उमेश श्रेष्ठ र हितबहादुर तामाङ सदस्य रहेको उपसमितिले छानबिन गरेको थियो । सो कलेजमा व्यापक अनियमितता भएको निष्कर्षसहितको प्रतिवेदन बैठकमा पेस गरेको थियो ।
उपसमितिले तयार पारेको प्रतिवेदनमा सो कलेजमा करोडौंको भ्रष्टाचार देखिएको उल्लेख गरिएको छ । कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपानेले करोडौं आफूखुसी खर्च गर्न पाउने गरी निर्णय गरिएको उल्लेख गर्दै उपसमितिमा संयोजक भट्टराईले त्यसको छानबिन गर्न शिक्षा मन्त्रालयलाई समिति नै गठन गर्न निर्देशन दिन समितिलाई सिफारिस गर्नु परेको स्पष्ट पारे ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन पाएको उक्त कलेज अहिले मध्यपश्चिम विश्वविद्यालयसग सम्बन्धन लिने तयारीमा रहेका थियो । गैरनाफामुखी भनि दर्ता गरेको उक्त कलेज अहिले नाफामा भएपछि कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता समेत गर्न खोजिएको थियो ।
नेपाल इन्जिनियरिङ कलेज भक्तपुर जिल्ला प्रशासन कार्यालयमा ०६० साल भदौं ४ गते सामाजिक संस्थाको रूपमा दर्ता नं. ५५२ मा दर्ता गरिएको उपसमितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । तर तत्कालीन अध्यक्ष न्यौपानेले सो कलेज प्रशासनलाई थाहा नै नदिई निजी कम्पनीको रूपमा दर्ता गरेपछि विवाद सुरु भएको हो ।
०७४ साल वैशाख २५ गते कलेजका तत्कालीन अध्यक्ष न्यौपानेले सो कलेज निजी कम्पनीको रूपमा दर्ता गरेपछि विद्यार्थी र स्थानीयको विरोधमा कम्पनीको रूपमा गरिएको दर्ता खारेज गर्ने सहमति भएपनि सो कलेजमा हाल समानान्तर सञ्चालक समिति रहँदै आएको छ ।
तत्कालिन चाँगुनारायण गा.वि.स.ले १ सय ७४ रोपनी सार्वजनिक जग्गा दिएको र सो मा कलेजले केही संरचना निर्माण पनि गरेको छ । संचालक समितिका सदस्य न्यौपाने र सूर्यबहादुर केसी एकातिर एंव हरिप्रसाद पाण्डे तथा दिपक भट्टराई गरी दुई समूहमा सञ्चालक समितिहरू कायम रहेका छन् ।
प्रतिवेदनमा नेपाल इन्जिनियरिङ कलेजलाई सामुदायिकबाट व्यक्तिगत कलेजमा रूपान्तरण गरिएको जनाइएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त सामुदायिक कलेजलाई कलेजका अध्यक्ष न्यौपाने लगायतको समूहले निजी कम्पनीको रूपमा दर्ता गरेका हुन् ।
प्रतिक्रिया