कृति चर्चा : धारिला मानिसहरूको अभिव्यक्ति

                                              तेजविलास अधिकारी

१. परिचय
नेपाली काव्य आन्दोलनमा विचारका यात्रालाई अन्तरघुलन गर्ने युवा स्रष्टा हुन्, केशव सिलवाल । सिलवालको जन्म २०३० सालमा ललितपुरको लेलेमा भएको हो । आफ्नो औपचारिक शिक्षालाई अगाडि बढाउने क्रमसँगै उनले समाजको विविध पक्ष र पाटोलाई प्रस्तुतिको सामल बनाएका छन् । कवि सिलवाल समाजशास्त्रीसमेत भएकाले उनका कवितामा समाजको विषम, शोषण तथा भेदपूर्ण पक्षलाई देखाइएको छ । कवि सिलवालको दोस्रो कविता संग्रहका रूपमा धारिला मानिसहरू (२०६६ ः कविता संग्रह) बजारमा आएको हो । यसअघि २०६३ मा नै ‘बर्जित अवशेष’ कविता संग्रह आइसकेको अवस्थामा कविको लेखनगत पक्षमा के–कति कुराहरू थपिए, परिष्कार भए सो कुराको प्रतिविम्बन समेत यस कविता संग्रहको शक्ति र सीमाभित्रबाट केलाउन सकिन्छ तथापि यस कविता संग्रहभित्रका कविताहरूको वैचारिक उपस्थितिलाई हेर्ने चेष्टा गरिन्छ ।

२. उदाहरण र चर्चा
‘धारिला मानिसहरू’ कविता संग्रहभित्र छोटा र मध्यम गरी जम्मा त्रिचालीस ओटा कविताहरू संकलित रहेका छन् । कविताका शीर्षक पठनमा नै अधिकांश शीर्षकले एउटा प्रगतिशील कविको विषय र शीर्षकको छनोट हो भन्ने देखाउँछन् ।
लगाई दिउँला म आफ्ना छोराछोरीलाई पनि
स्याउलाकै लुगा
तर, मेरा छालाको
दौरा–सुरुवाल लगाउने अधिकार
कसैलाई छैन (डा. चेपाङ पृ. २)
डा.चेपाङ कवितामा कविले एउटा आदिवासीको अन्तरभावलाई वैचारिक आलोकमा प्रस्तुत गर्न पुगेका छन् । कविको विचारमा वर्गीय समाजलाई अन्य तरिकाबाट बुझेर अगाडि बढ्नु अन्याय गर्नु हो भन्ने रहेको छ । रिठ्ठाले नुहाउने र गिठ्ठा खाने हामी नेपालीका आदिम स्वभावलाई मान्दै र अगाडि बढाउँदै आएका चेपाङहरू अधिकारका निम्ति जुर्मुराउन थालेका तथ्यसमेत प्रस्तुत गरिएको यस कवितामा समानताका निम्ति विचार सम्प्रेषण गरिएको छ ।
मेरो हतियार शीर्षकमा कविले माक्र्सवादी विचार नै प्रगतिशील समाजको स्थापना गर्ने आधार हो भन्दै विचार एउटा यस्तो हतियार हो जसले लाखौँ करोडौँको मुक्ति सम्भव छ ।
मेरो सबैभन्दा ठूलो हतियार हो
विचार
जुन मेरो मृत्युपछि पनि
निरन्तर लडिरहेछ तिमीसँग
(मेरो हतियार पृ. १)
कवि कतै भाव सञ्चारका क्रममा विचारको उच्च उदात्त स्वरूप प्रस्तुत गर्छन् भने कतै आगामी यात्राको आदेखसमेत तयार गर्न पुग्छन् ।
म कालिकोट
कृपया नकुल्च मेरो मागपत्र
मैले त केवल
चामल मागेको छु चामल
भोको पेट भर्ने चामल (मागपत्र पृ. १८)
कविले नेपालको कर्णालीलाई शासकले गरेको हेला होचोलाई काव्यात्मक भाषामा अत्यन्त चोटिलो ढंगले प्रहार गरेका छन् । कविको आक्रोश अत्यन्त चोटिलो र गम्भीर प्रस्तुतिले अझै भावमय बनेका छन् । उनले कर्णालीवासीको सिंगो आक्रोशलाई प्रस्तुत गर्नेक्रममा यति धेरै आत्मसाथीकरण गरेका छन् कि साँच्चै सिंगो कर्णाली यही भनिरहेछ,
खोजेँ मैले तिम्रो कालो संविधानको
कुन कुन दफामा छौँ हामीहरू ?
तर, कतै उल्लिखित छैनौँ हामीहरू
तिम्रो संविधान तिमीसँगै राख
र दिनदिनै गीता पाठ गरेझैँ
तिमी नै पढ
(मागपत्र पृ. १९)
जसरी धर्मभीरुहरूले गीता पाठलाई जीवन र जगत्को उन्नतिका निम्ति नभएर ठगीखाने माध्यम वा विषय बनाएका छन् त्यसैगरी, कविले नियम, कानुन तथा संविधानलाई सत्ता टिकाउने र बोली बिकाउने खेल सम्झिएको तथ्य यहाँ स्पष्ट आएको छ । अब बिस्तारै कालिकोट उठ्दैछ दमन वा हेलाले त कहाँ मानिस वा भूगोल हार्छ र त्यो त नवीन चेतना लिएर पुनः जाग्छ र लाग्छ गन्तव्यतिर कविको यस्तै अभिव्यक्ति यो कवितामा रहेको छ ।
‘सत्ताको जिभ्रो’ शीर्षकको कवितामा कविले दुनियाँको रगत चुस्ने सत्ताको चाल वा स्वभावप्रति कटाक्ष गरेका छन् ।
सत्ताको गाला
सहिदको रगत दलेर
किन खेलिरहेको हुन्छ होली ?
(सत्ताको जिभ्रो पृ. २१)
थोरै बोल्दा झन् धेरै अर्थ लाग्छ भन्ने कथ्य कौशल र लेख्य सरलता र सरसताको उदाहरण धेरै स्थानमा देख्न सकिन्छ ।

३. वर्गीय विचार प्रस्तुतिका बान्कीहरू
कवि केशव सिलवालका कविताहरूले जे–जस्ता विषयलाई समाजभित्रबाट टिपेको भए तापनि उनका कविताहरूको मूल स्वर वर्गीय समाजको कारणबाट सिर्जना भएका समस्याहरू नै हुन् ।
‘सुनको शौचालय’ ले दिएको ध्वन्यात्मक अर्थ, ती हुँडारहरूले दिएको शासकीय प्रवृत्ति, जंगेपिलरको कथाले गरेको ऐतिहासिक आलेखन, रक्तिम झण्डा, प्रिय जलजला, राता अक्षरहरू, प्रत्याक्रमण आदि कविताले दिएको वर्गयुद्ध, वर्गमुक्ति र विश्वमा प्रगतिवादीहरूको विजययात्राजस्ता प्रस्तुतिले सिंगो कविता संग्रहलाई विचार र यथार्थको संगम बनाइदिएको छ । उनका कविताहरू कतै आशाको रश्मि बनेर उदाएका छन् त कतै आक्रोशको बाढी भएका छन् । असमानताप्रति आक्रोश भाव आउनु स्वभाविक तथा संगति लाखौँ जनताको यात्राले सुदूर भविष्य अत्यन्त सबल हुन सक्ने आशको सञ्चारसमेत गरेको छ ।
सुतिरहेका छन् विधायकहरू
बिरामी हुनुहुन्छ प्रधानमन्त्री
कार्यक्रममा छन् मन्त्रीहरू
यो हल्ला गर्ने समय होइन
के म हल्ला नगरी बस्नसक्छु ?

जो कसैले भनून्
यो चिसोलाई तातो
जोसुकैले भनून्
यो रातलाई दिनको उज्यालो
विद्रोह छ मेरो यो चिसोप्रति
विद्रोह छ मेरो यो रातप्रति
(अभिशप्त समयविरुद्ध पृ. ६२)
हो यसरी नै छुट्टिएका छन् कवि केशवका वर्गीय आवाज र पक्षधरता कविको यो कविता नै यस्तो मार्मिक प्रस्तुति हो लाग्छ यसले बहुमतका नाममा शक्ति र संविधानको निम्ति बाधा हाल्दा सुतेर बस्न नसक्ने तथ्य उजागर गरेका छन् ।

४. निष्कर्ष
समग्र कविताको पठनबोध तथा केही कविताभित्रको बनोट र बुनोट पक्षलाई हेर्दा केशव सिलवाल गद्यमा कविता लेख्ने एक स्थापित कवि हुन् । उनको गद्य प्रस्तुति पद्य जडान र रटानभन्दा निकैमाथि रहेको छ । थोरैमा धेरै भन्न सक्ने खुबी बोकेका कवि सिलवालले कविता संग्रहको प्रकाशनमा उचित सुझबुझ पु¥याएको देखिन्छ । त्यसो त प्रकाशकको छनौट वा सल्लाहले समेत कविलाई साँच्चै शिल्पी र रचना साँच्चैको सुन्दर विचारको प्रस्तुति बन्न पुगेको छ ।

अघिल्लो कविता संग्रहभन्दा वैचारिक पक्ष खारिनु समसामयिक राजनीतिलाई विम्बका रूपमा जुरुक्कै बोकेर कवितामा हाल्न सक्नु र पौराणिक मूल्य र मान्यतामा वैज्ञानिक खोजको आँट गर्नु उनको काव्ययात्राको उपलब्धि मान्न सकिन्छ । वैचारिक पक्षलाई प्रस्तुत गर्ने क्रममा कतै कविताले लघुकथाको झल्को कतै छोटो आयाम भए पनि सिंगो युगको चर्चा गरेको देख्दा कवि छनोट गरी थोरै लेख्ने तर त्यसलाई सौन्दर्य शास्त्रीय आँखाले हेर्ने साधकसमेत हुन् । प्रतिध्रुवीय लेखकहरूलाई पनि लोभ्याउन सक्ने उनको काव्यकलाले ‘धारिला मानिसहरू’लाई स्वभाविक रूपमा उँचो मूल्य प्रदान गरेको देखिन्छ । फूल छनोट र मालाको बुनाइ दुवै मिलेको देखिएकाले नेपाली समाजको प्रगतिशील विचारको संवहनमा यसले महत्वपूर्ण स्थान राख्न सक्ने देखिन्छ ।

प्रतिक्रिया