फ्रान्समा सात हप्तादेखि जारी सरकारविरोधी प्रदर्शन नरोकिएपछि प्रधानमन्त्री एडवार फिलिपले अनधिकृत प्रदर्शनमा सहभागी हुने मानिसहरूलाई दण्डित गर्ने योजनाअघि सारेका छन् । पेरिसमा नोभेम्बर महिनादेखि प्रत्येक हप्ता हुने गरेको सरकार विरोधी प्रदर्शनले गत साता पनि निरन्तरता पायो । प्रदर्शनमा सहभागी हुने अधिकांश व्यक्तिहरूले पहेँलो भेस्ट लगाउने गरेका छन् । यसपालि प्रदर्शनकारीहरूले प्रदर्शनका क्रममा एउटा सरकारी कार्यालयको प्रवेशद्वारमा तोडफोडसमेत गरे ।
अनधिकृत प्रदर्शनहरू रोक्न र प्रदर्शनमा अनुहार छोपेर सहभागी हुन प्रतिबन्ध लगाउन सरकारले कानुन बनाउन लागेको फिलिपले बताए । उनले आउने सप्ताहन्तमा हुने सम्भाव्य प्रदर्शन रोक्न ८० हजार सुरक्षाफौज परिचालन गरिनेसमेत बताएका छन् । आखिर फ्रान्सेलीहरू किन विद्रोह गरिरहन चाहन्छन् ? पहेँलो भेस्टधारीको आन्दोलन किन चलिरहेको छ ? भन्ने बारेमा पेरिस निवासी फ्रान्सेली मानवशास्त्री मरी लकम्टी टिलौनको विचार यस्तो छ ।
फ्रान्सको राजधानी पेरिसमा जारी रहेको ‘एलो भेस्ट मुभ्मेन्ट’ नोभेम्बर २०१८ मा सुरु भएको हो । सुरक्षाका लागि लगाइने पहेँलो भेस्टलाई प्रदर्शनकारीहरूले प्रयोग गरेको हुँदा उक्त आन्दोलनको नामसमेत पहेँलो भेस्ट आन्दोलन रहन गयो । जसको अग्रपंक्तिमा न कुनै पार्टी छ न त कुनै नेता नै । आन्दोलनकारीका लागि सामाजिक सञ्जालले सञ्चारमाध्यमको भूमिका खेलेको छ र यसले विशेषतः ग्रामीण फ्रान्सेलीहरूलाई परिचालित गरेको छ ।
उनीहरूको विचारमा न्यून ज्यालादर, सरकारले लगाएको अत्यधिक कर र धनीहरूलाई दिइएको कर सुविधाका कारण सर्वसाधारण पीडित भएका छन् । दोस्रो राज्यकोषमा पारदर्शिता नभएको र शासनमा नागरिकहरूको प्रत्यक्ष सहभागिता नभएको भन्दै उनीहरू असन्तुष्ट छन् ।
अहिले जारी आन्दोलनको उत्पत्तिबारे जान्न सन् २०१७ मा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनतर्फ फर्कनुपर्ने हुन्छ । उक्त निर्वाचन हुन लाग्दा फ्रान्सका दुई ठूला दल (सोसलिस्ट पार्टी र रिपब्लिकन पार्टी) कमजोर अवस्थामा थिए ।
सोसलिस्ट पार्टीलाई उसले नेतृत्व गरेको अघिल्लो सरकारले कमाएको अलोकप्रियताले सताएको थियो र चुनावको ठीक अघि उसको निवर्तमान राष्ट्रपतीय उम्मेदवारले गरेका भ्रष्टाचारहरू खुलासा भएका कारण रिपब्लिकन पार्टी अप्ठ्यारोमा परेको थियो । त्यसकारण निर्वाचनको परिणाम दक्षिणपन्थी पार्टीका उम्मेदवार र एम्मानुएल म्याक्रोबीच गर्नुपर्ने चयनबाट प्रभावित थियो ।
म्याक्रोको जित त भयो तर असाध्यै धेरै मानिसहरू मतदानमा सहभागी नभएकाले उनको जित धमिलिएको थियो । कुल २० प्रतिशत मानिसहरूले भने फ्रन्ट नेसनलको बाटोमा तगारो बन्नकै निम्ति र केही अन्यले भने आर्थिक सुदृढीकरणको आशामा म्याक्रोलाई मत दिएका थिए । यस्तै सत्तामा आएपछि पहिलो वर्षमा सरकारले थुप्रै अलोकप्रिय निर्णयहरू गर्यो ।
तीमध्ये सम्पत्तिकर उन्मूलन, सहायक सडकमा साबिकबाट घटाएर कायम गरिएको प्रतिघण्टा ८० किलोमिटर को गति, पेन्सनमा लगाइएको अतिरिक्त कर लगायतका थिए । फ्रान्सेली राष्ट्रपतिले फ्रान्सेलीहरूप्रति आपत्तिजनक टिप्पणीसमेत गरे । निर्वाचन सकिएको एक वर्षपछि राष्ट्रपति कार्यालयमा कार्यरत सुरक्षा अधिकारीहरू मध्येका एकमाथि नामांकन गरिएको ‘बेनेला अफेयर’ ले मानिसहरूलाई थप क्रुद्ध बनायो ।
त्यसलगत्तै एक लोकप्रिय दार्शनिकमाथि राष्ट्रपति म्याक्रोले आफूप्रतिको सद्भावनाको फाइदा उठाएको विषयमा निन्दा गरेपछि उनीमाथि प्रतिबन्ध लगाइयो जसले पनि जनतालाई थप चिढ्याउने काम गर्यो ।
लगत्तै अक्टोबरमा प्रधानमन्त्री जेरार्ड कोलम्बले राजीनामा गरे । त्यसको केही दिनपछि पर्यावरण मामिलाका लोकप्रिय मन्त्री निकोलस हुलोटले पनि राजीनामा गरे । उनले सरकारले आफूलाई सहयोग नगरेको आरोप लगाएका थिए । हाल फ्रान्समा बेरोजगारी नघटेको तर मुद्रास्फीति भने दुई प्रतिशतले बढेको बताइन्छ ।
सरकारी कर्मचारीहरूको तलब रोकिएपछि र आंशिक रूपमा पेन्सन रोकिएपछि फ्रान्सेलीहरूको क्रयशक्ति थप बिग्रिएको थियो । सरकारले विश्वव्यापी तापमानवृद्धिका कारण ऊर्जा खासगरी डिजेलमा कर बढाएको छ ।
पहेँलो भेस्टधारीहरूले आफूहरूलाई संसारको भन्दा महिनाको अन्त्यमा के खाने भन्ने चिन्ता रहेको र गाडी प्रयोग गर्नुको विकल्प आफूहरूसँग नरहेको बताउने गरेका छन् । अक्टोबर महिनाको अन्त्यतिर र नोभेम्बर महिनाको बीचतिर गरिएको एउटा विरोध अपिलमा १० लाखभन्दा बढी मानिसहरूले समर्थन व्यक्त गरेका छन् ।
राष्ट्रपतिले राष्ट्रिय ढुकुटीलाई के गरिरहेका छन् भन्ने प्रश्न गरिएको एक महिलाले राखेको भिडियो इन्टरनेटमा निकै चर्चित हुन पुग्यो ।
सरकारको विरोधमा नोभेम्बर १७ शनिबारका दिन सुरु गरिएको सडक, चोक र नाका अवरुद्ध गर्ने काम सामाजिक सञ्जाल फेसबुकका विभिन्न समूहमा फैलिएको थियो । त्यस दिन सम्पन्न भएको विरोधप्रदर्शनको कार्यक्रम नै पहेँलो भेस्ट आन्दोलनको पहिलो दृश्य बन्न पुग्यो । त्यसपछिका केही साताका हरेक शनिवार प्रदर्शनकारीहरूले पेरिसका धनी मानिसहरू बस्ने क्षेत्रहरूमा आक्रमण गरे ।
हिंसात्मक बन्दै गएका दोस्रो र तेस्रो दृश्य सरकारलाई हल्लाउन सफल भए । आन्दोलन यति धेरै हिंसात्मक थियो कि सरकारले प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न बख्तरबन्द गाडीहरूको समेत प्रयोग गर्नु पर्यो । चौथो प्रदर्शनको क्रममा सरकारले १७ सयभन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गर्यो ।
हिंसात्मक आन्दोलनका कार्यक्रमहरू नरोकिएपछि र उक्त आन्दोलन राष्ट्रपतिनिकट व्यक्तिहरूप्रति लक्षित हुन थालेको चार शनिबारपछि म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गरे उनको सम्बोधनलाई दुई करोड जनताले हेरेका थिए । उक्त भाषणमा म्याक्रोले पहिला दुःख व्यक्त गर्नमा खर्चे भने त्यसपछि आफ्ना केही योजनाहरू सार्वजनिक गरे ।
त्यसमा पहिले जस्तै सबैभन्दा थोरै निवृत्तिभरण बुझ्नेहरूलाई करमा छुट दिने, गरिबहरूका लागि क्रिसमस बोनसमा कर छुट दिने र अवसर नपाएकाहरूलाई राहत बढाउने योजना समाविष्ट थिए ।
राष्ट्रपतिको घोषणामा एउटा विषय भने नयाँ थियो । उनको प्रस्तावमा नागरिकहरूको सक्रियतामा जनमत संग्रह भनिएको छ जसले सहभागितामूलक प्रजातन्त्रको ढोका खोल्न नागरिकहरूबीच एउटा महत्तवपूर्ण बहस गराउन सक्छ । पहेँलो भेस्टधारीहरूको पनि यही माग छ । त्यसपछि डिसेम्बर १५ तारिखका दिन भएको पाँचौँ प्रदर्शनमा सहभागीहरू केही कम भए ।
के यसको मतलब राष्ट्रपति म्याक्रोले गरेको प्रस्तावले आन्दोलनकारीहरूलाई थामथुम पार्न सफल भएको हो ? वा स्ट्रास्बर्गमा डिसेम्बर १३ मा भएको आतंकवादी आक्रमणपछि प्रदर्शनकारीहरूलाई प्रदर्शन नगर्न गरिएको आग्रह मानिसहरूले सुने ? वा क्रिसमस पर्व आएकोले त्यसो भएको हो ? के त्यो आन्दोलन फ्रान्सेली सीमाभन्दा बाहिर जाला ? तर के कुरा निश्चित हो भने यस आन्दोलनले पहेँलो रङको नयाँ प्रतीक बनाएको छ, जसलाई ‘सजिलै देख्न’ सकिन्छ । त्यसैले यो पहेँलो भेस्टका अनेक गुण छन् । भेस्ट लगाएरै ठूलो संख्यामा मानिसहरू अभियानमा जुट्न सक्छन् अथवा अभियानको समर्थनमा आफ्नो कारको अगाडि यस्तो भेस्ट टास्न सक्छन् ।
‘जक्रेरी’ समेत भनेर चिनिने किसान आन्दोलनले १७८९ को फ्रान्सेली क्रान्तिको सम्झना दिलाउँछ । उक्त क्रान्तिले फ्रान्समा राजतन्त्रको अन्त्य गरेको थियो । सो क्रान्तिजस्तै हालको आन्दोलनले नयाँ किसिमको अभिजात वर्ग, विश्व अर्थतन्त्र र राजनीतिक रूपमा कुलीन वर्गको विरोध गर्दछ । हालको आन्दोलनले फ्रान्सेली क्रान्तिको सम्झना किन पनि गराउँछ भने पेरिस कम्युनबाट आरम्भ भएको माक्र्ससेली क्रान्तिविपरीत यसलाई न त कुनै श्रमिक वर्गले नेतृत्व गरेका छन, न त कुनै पार्टी वा मजदुर संगठनले पर्यवेक्षण ।
त्यो अभिजात वर्ग विश्वव्यापी रूपमा आर्थिक र राजनीतिक सम्भ्रान्त वर्ग हो जसले पुरानो पुरानो शासनकाल सम्झाउँछ, जसको सञ्जाल प्रभाव युरोपभरि छरिएर रहेको छ । आन्दोलनले पुराना क्रान्तिहरूको सम्झना पनि गरेको छ । (एलो भेस्टको फेसबुकमा १७८९–२०१९ उल्लेख गरिएको छ ।) पेरिस निवासी फ्रान्सेली मानवशास्त्री मरी लकम्टी टिलौन नेपालका बारेमा पनि वेला–वेला अध्ययन र अनुसन्धान गर्छिन् । यो उनको निजी विचार हो । (एजेन्सीको सहयोगमा)
प्रतिक्रिया