सामाजिक सञ्जालबाटै महिला बेचबिखन

काठमाडौं । सामाजिक सञ्जालको व्यापकतासँगै मानव बेचबिखन पनि नयाँ स्वरूपमा बढेको तथ्य सार्वजनिक भएको छ । बेचबखिन प्रभावित महिलाहरूको संस्था शक्ति समूहले विभिन्न जिल्लामा चलाएका कार्यक्रम र उद्दारका घटनाले सामाजिक सञ्जालका कारण किशोरी र महिलाहरू जोखिममा परेको पाइएको हो ।

राजधानीमा बुधवार आयोजित शक्ति समूहको सामाजिक लेखा परीक्षण कार्यक्रममा वार्षिक प्रतिवेदन पेश गर्दै शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारले बेचबिखनको परम्परागत शैली फेरिएको बताइन् । एक वर्षभरि भएका उद्धार तथा मुद्दा दर्ताको विवरण पेश गदै उनले मानव बेचबिखनमा सामाजिक सञ्जालको दुरूपयोग उच्च जोखिममा रहेको जानकारी दिइन् ।

सामाजिक सञ्जालमा विभिन्न उमेर समूहका महिलालाई दलालहरूले सम्पर्क गर्ने र बिभिन्न आश्वासन दिएर जोखिममा पार्ने गरेका धेरै घटना शक्ति समूहमा आइपुगेको संस्थाले जनाएको छ । प्रहरीमा गएर समाधान नभएपछि पीडितका परिवार शक्ति समूह लगायत संस्थाहरूको सम्पर्कमा पुग्ने गरेका छन् ।

दनुवारले वार्षिक विवरण पेश गर्दै भनिन्–सामाजिक सन्जालको सदुपयोग गर्न नसक्दा यसले बेचबिखन जस्तो अपराध निम्त्याइरहेको छ । पछिल्लो समय आन्तरिक तथा बाह्यक बेचबिखन तथा यौन शोषणका घटनाहरूको अध्ययन गर्दा सामाजिक सन्जालको दुरूपयोग मुख्य कारण देखियो ।

पहिले जस्तो भारतका कोठीमा लगेर यौनकार्यमा लगाउने बेचबिखनको शैलीमा परिवर्तन आएको शक्ति समूहले जनाएको छ । मनोरन्जन क्षेत्रहरू बेचबिखनको ट्रान्जिट बनिरहेको र आन्तरिक बेचबिन तथा आधुनिक दासताले गर्दा मानव बेचबिखन विरुद्धको लडाई पेचिलो बन्दै गएको बेचबिखन बिरुद्धकी अभियन्ता चरिमाया तामाङले बताइन् ।

शक्ति समूहका अनुसार विवाहको नाममा कोरिया, चीन, मलेसिया लगायतका देशमा नेपाली युवतीको बेचबखिन भइरहेको छ ।
त्यस्तै बैदेशिक रोजगारीका नाममा पनि बेचबखिनको नयाँ शैली देखा परेको शक्ति समूहकी अध्यक्ष बालकुमारी दर्लामी मगरले जानकारी दिइन् ।

उनका अनुसार प्रबिधिको विकाससँगै बेचबिखन विरुद्धको लडाई पनि कठिन बनिरहेको छ । सामाजिक लेखा परीक्षण कार्यक्रममा शक्ति समूहले यो वर्ष मानव बेचबिखनका १६ जना दलाल विरुद्ध मुद्दा दायर गरिएको जानकारी दिइएको थियो । त्यस्तै ३७ जना महिला बालवालिकालाई उद्दार गरिएकोमा अधिकांश पोखराका छन् ।

शक्ति समूहको सुरक्षित आवासमा करीव डेढ सय बेचबिखन प्रभावित महिलालाई आश्रय दिइएको विवरणमा उल्लेख छ । हरेक वर्ष दातृ निकाय,सरकारी प्रतिनिधि,जनप्रतिनिधि र सन्चारकर्मी सहितको उपस्थितिमा शक्ति समूहले सामाजिक लेखा परीक्षण गर्ने गरेको छ ।

शक्ति समूहले बेचबिखन प्रभावित र उद्दार गरिएका महिलालाई आयआर्जन हुने शीपमूलक तालिम दिने गरेको दनुवारले बताइन् । शक्ति समूह बेचबिखन प्रभावित महिलाहरूलेनै स्थापना गरेको विश्वकै पहिलो संस्था हो ।

सुनिता दनुवार र चरिमाया तामाङ लगायतका प्रभावित महिलाको अगुवाईमा २० वर्षअघि स्थापित यो संस्थाले बेचबिखन विरद्धको अभियानमा अन्तर्राष्ट्रिय पुरस्कारहरू पाएको छ । शक्ति चरिमाया र सुनिता दुवैजनाले अमेरिकी सरकारको टिप हिरो अवार्ड पाइसकेका छन् ।

प्रतिक्रिया