बजेट अभावमा सडक अलपत्र

सल्यान । बजेटको अभाव भएको भन्दै सल्यानको सल्लीबजारदेखि रुकुम चौरजहारी सडक खण्डको पाँच किमी बाटोको स्तरवृद्धिको काम अलपत्र परेको छ ।

सडक डिभिजन कार्यालय दाङले हेर्दै आएको सो सडक कर्णाली प्रदेश तथा सुर्खेत डिभिजनलाई हस्तान्तरण गरेपछि बजेट अभावमा काम अलपत्र परेको हो । काम भएको पैसासमेत भुक्तानी नपाउँदा ठेकेदारलाई काम गर्न कठिनाइ भएको छ ।

सडक हस्तान्तरण गरियो तर टेन्डर भएको रकम नपठाउँदा काममा बाधा आएको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । निर्माण कम्पनीले काम गरिरहेको उक्त सडकको एक करोड बढी रकम भुक्तानी नपाउँदा ठेकेदारले काम रोकेका हुन् । सल्लीबजारदेखि बन्गाड कुपिण्डे–५ को त्रिवेणी बजार नजिकै सम्मका लागि भनेर सिग्मा गाल्वा कन्ट्रक्सनले ११ करोडमा कामको जिम्मा लिएको थियो ।

सडक डिभिजन कार्यालय दाङ र कन्ट्रक्सनका नरहरी थपलियाबीच ३३ महिनामा काम सम्पन्न गर्ने भनेर ०७४ साउन महिनामा सम्झौता भएको थियो । तर, गाल्वा कन्ट्रक्सनका नरहरी थपलियाले ४९ लाख पेस्की बुझेर कामको जिम्मा दोस्रो व्यक्ति रामबहादुर विष्टलाई दिएको स्थानीयको भनाइ रहेको छ ।

पेस्की एउटाले र काम अर्कोले गर्नुपर्दा डबल कटिङ, नाली, जाली ह्युमपाइपको कामसमेत १६ महिना बितिसक्यो अझै सकिएको छैन । वर्षात्मा हिलो र हिउँदे समयमा धुलाको सास्ती खेपिरहेका स्थानीयलाई सडक निर्माण ढिलाइले आवतजावतमा समस्या थपेको छ । काम हेर्ने सडक डिभिजन कार्याल दाङले भने कामको ताकेताप्रति चासो नदिएको देखिन्छ ।

चौरजहारी सडक खण्डमा काम गर्ने निर्माण व्यवसायीहरू भने आधा काम गर्र्दै भाग्ने गरेका छन् । उक्त सडक खण्डमा पाँच वर्षअघि सुरु भएका कामसमेत अलपत्र अवस्थामा छन् । सडक डिभिजन कार्यालय दाङले सो सडकमा कामको जिम्मा लिने तर पूरा काम नगर्ने निर्माण कम्पनीलाई कारबाहीको सट्टा उल्टै पुनः काम थमाउने गरेको छ ।

कामको जिम्मा लगेका ठेकेदार रामबहादुर विष्ट र सिग्मा गाल्वाका कन्ट्रक्सनका नरहरि थपलिया भने सम्पर्कविहीन भएको सडकमा काम गर्ने मजदुरहरूले बताउने गरेका छन् । सरकारी नीति बजेट एकातिर, कामको जिम्मा अर्कोतिर र ठेक्काको सम्झौता गर्ने, काम गर्ने दुवै सम्पर्कविहीन रहेकाले यो कामसमेत अलपत्र पर्ने निश्चित देखिन्छ ।

प्रतिक्रिया