मुनलाई प्योङयाङमा स्वागत


सिओल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाका नेता किम जोङ–उन सवार कार्गेडलाई मंगलबार प्योङयाङका सडकका दुवै किनारामा रंगीबिरंगी भेषभूषामा सजिएका हजारौँ सर्वसाधारणले भव्य स्वागत गरेका छन् । उत्तर कोरियाली नेतासँगको तीनदिने शिखर बैठकका लागि दक्षिण कोरियाका राष्ट्रपति मंगलबार सीधा उडानबाट प्योङयाङ पुगेका हुन् ।

नेता किमले प्योङयाङ अन्तर्राष्ट्रिय विमानस्थलमा दक्षिण कोरियाली समकक्षीलाई स्वागत गरेका थिए । दक्षिण कोरियाली नेतालाई स्वागत गर्न किम आफैँ विमानस्थल पुगेका थिए ।  सडक किनारामा कोरियाली नेतालाई स्वागत गर्न उभिएका सर्वसाधारणले उत्तर कोरियाली झन्डाका साथै कोरियाली एकीकरणको संकेतमूलक झन्डा फहराएका थिए ।

दक्षिण कोरियाको झन्डा भने यहाँ फहराइएको थिएन । माथिल्लो भाग खुला रहेको मोटरकारबाट दुवै नेताले सर्वसाधारणको अभिवादनलाई स्वागत गरेका थिए । दक्षिण कोरियाली राष्ट्रपति मुनको यो तीनदिने औपचारिक भ्रमण हो । यसअघि, सन् २००० मा किम दाए–जङ र २००७ मा रोह मू–ह्युनले उत्तर कोरियाको भ्रमण गरेका थिए ।

उत्तर कोरियाली समाचार संस्था केसिएनएले दुवै नेताबीचको शिखर बैठक इतिहासमै नयाँ उचाइमा पुगेको अन्तर–कोरियाली सम्बन्धलाई थप तीव्र पार्न महत्वपूर्ण अवसर हुने बताएको छ ।  यसअघि, सीमावर्ती असैनिक क्षेत्रमा यसै वर्षको अप्रिल र मे महिनामा दुईपटक दुई कोरियाली नेताको भेटवार्ता भइसकेको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिकै प्रयासमा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठक भएको थियो । उक्त बैठकमा कोरियाली द्वीपलाई पूर्ण निःशस्त्रीकरण गर्न उत्तर कोरियाले प्रतिबद्धता जनाएको थियो । तर, पछिल्ला दिनमा उत्तर कोरियाले प्रतिबद्धता पूरा नगरेको भन्दै अमेरिकाले थप वार्ता र भेटघाटमा कमी ल्याएको छ ।

संयुक्तराज्य अमेरिकाले हाल उत्तर कोरियामाथि आणविक निःशस्त्रीकरणको यथार्थ विवरण उपलब्ध गराउन दबाब दिई आएको छ । उत्तर कोरियाले भने सन् १९५०–५३ को कोरियाली युद्ध औपचारिक रूपमा अन्त्य भएको घोषणा गर्नुपर्ने बताउँदै आएको छ ।

अमेरिकी नेतृत्वको आर्थिक नाकाबन्दीका कारण चरम संकट झेलिरहेको उत्तर कोरियाले आणविक निःशस्त्रीकरण गर्ने विषय मात्र स्वीकार्य नहुने जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाली नेताले उत्तरसँग यसअघि भएका सहमतिको पूर्ण कार्यान्वयनका सम्बन्धमा थप विचारविमर्श गर्ने अपेक्षा गरेका थिए ।

प्रतिक्रिया