“चौथो लिंगी”बारे अन्तरक्रिया

काठमाडौं :  ‘मैले कुनै–कुनै कथा लेख्दा त चालीस–पचास पटकसम्म पुनर्लेखन गरेको छु । पहिले लेख्छु र चित्त नबुझेसम्म लेखिरहने गर्छु । लेखकलाई नै चित्त बुझेन भने पाठकलाई त झन् के बुझ्ला र जस्तो लाग्छ,’ आफ्नो तेस्रो लघुकथासंग्रह ‘चौथो लिंगी’ बारे बोल्दै थिए कथाकार सुमन सौरभ । उनको पुस्तकबारे शनिबार राजधानीमा अन्तक्र्रिया हुँदै थियो ।
पैंतालीस वर्षीय सुमनका यसअघि आधुनिक लोकथाहरू
(२०५२) र पराइ विचार (२०६५) नामक दुई लघुकथासंग्रह प्रकाशित छन् । ‘लघुकथा समाज’को आयोजनामा भएको कार्यक्रममा वरिष्ठ कथाशिल्पी परशु प्रधान र समालोचक प्रा. राजेन्द्र सुवेदीले साझा प्रकाशनले छापेको ६८ पृष्ठ लामो ‘चौथो लिंगी’ पुस्तकमा संगृहीत ४३  लघुकथाका बान्की, सीप र शैलीबारे बोलेका थिए । ‘छुच्चा समालोचक’ सुवेदीले कथाकार सौरभलाई विज्ञान पढ्न र कथामा ‘म’ पात्र बनाएर लेख्न सुझाव दिए ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ ले अध्यक्षता गरेको कार्यक्रममा ध्रुव मधिकर्मी,  किशोर पहाडी, डा. रवीन्द्र समीर, कृष्ण शाह यात्री, मणि लोहनी र तुलसीहरि कोइरालाले कथाकार सुमनको शिल्प  समकालीनभन्दा पृथक् रहेको भन्दै प्रशंसा गरे । टिप्पणीकार सबैले अब लघुकथालाई विश्वविद्यालयको कोर्समा सामेल गरिनुपर्ने बेला भइसकेको बताए । यसै अवसरमा लघुकथा समाजले प्रकाशन आरम्भ गरेको ‘नेपाली लघुकथा’ नामक पत्रिका वितरण गरिएको थियो ।
कार्यक्रम समाप्तिपछि सािहत्यकार, कथाकार र पत्रकारको टोलीले पुराना साहित्यकार तथा लघुकथा लेखक गोरखबहादुर सिंहलाई भेटेको थियो । ६३ वर्षीय सिंह पछिल्ला केही महिनादेखि मिर्गाैलारोगले पीडित छन् । उनको नियमित डायलोसिस चलिरहेको छ । (सौस)

प्रतिक्रिया