आनन्दप्रसाद पोखरेल स्वतन्त्रताको आन्दोलन विश्वव्यापीरूपमा अगाडि बढिरहेको थियो । राष्ट्रहरू एकपछि अर्काे स्वाधिन राष्ट्रको रूपमा विकशित हुँदै थिए । उपनिवेशवादको विरोधमा नयाँ चेतले स्थान पाइरहेको थियो । साम्राज्यवादले एकपछि अर्काे घुँडा टेक्दै थियो । आन्दोलन स्वाधिनता, सार्वभौम सत्ताको संरक्षण, क्षेत्रीय अखण्डता मूल नाराको साथ मुलकबाट सबैखाले शोषण दमन उत्पीडनको अन्त्य गर्ने महान अभियान पनि चलिरहेको थियो ।
अर्थात् स्वतन्त्रता, समानता स्थापनाको लागि विश्व जुर्मुराइरहेको थियो । यति नै बेला हाम्रो छिमेकी देश चीन, भारत पनि साम्राज्यवादी शोषण र उपनिवेशको विरुद्धमा हतीयार बन्द युद्धद्वारा आँधीबेहरीसँग जुध्दै थिए । भारत स्वाधिन र स्वतन्त्र राष्ट्रको रूपमा आफूलाई उभ्याउन ब्रिटिस साम्राज्यबाट मुक्ति चाहन्थ्यो । चीनमा विश्व साम्राज्यवादी मुलुकको थिचोमिचो र आक्रमणबाट मुक्ति चाहन्थ्यो ।
यसको लागि कम्युनिस्ट चेतनाको साथ सामन्तवाद, दलालनोकशाही पुँजीवाद र साम्राज्यवादी ताकतलाई सधैँको लागि अन्त्य गर्दै जनवादी गणतन्त्र चीन निर्माण गर्ने मुक्ति आन्दोलनले गति लिई विजयउन्मुख थियो । विश्वमा सर्वहारा वर्ग माक्र्सवाद लेलिनवादको झण्डामुनि गोलबन्द बन्दै थिए । विभिन्न राष्ट्रहरू कम्युनिस्ट पार्टीको नेतृत्वमा मुक्ति आन्दोलन चलाइरहेका थिए ।
कतिपय राष्ट्रहरू स्वतन्त्र राष्ट्रको झण्डा बोक्दै “विश्व सर्वहारा वर्ग एक हौँ”, “सबैखाले शोषणबाट राष्ट्रलाई मुक्त गरौँ”, जनवादी शासन स्थापना गराैँ भन्ने विश्व कम्युनिस्टहरूले अंगिकार गरेको नाराले विश्वका शोषित पीडित जनता एकपछि अर्काे कम्युनिस्ट पार्टीको नेतृत्वमा संगठित हुँदै प्रतिक्रियावादी व्यवस्थामा धावा बोल्दै थिए । भारतले सन १९४७ मा स्वतन्त्रता प्राप्त ग¥यो । चीन सन् १९४९ मा मुक्त भयो ।
यही उज्यालो प्रकाशमा नेपालका सचेत युवाहरू नेपाललाई निरंकुश जहानियाँ राणाशासन र ब्रिटिस इन्डियाको संयुक्त शासनबाट मुक्ति चाहन्थे । स्वतन्त्रता चाहन्थे । देशको परिवर्तन चाहन्थे । देशमा व्याप्त सामन्ती शोषण, दमन, थिचोमिचो र सबै खाले बन्धनबाट नेपाललाई मुक्त गर्दै जनवादी नेपालको निर्माण गर्न कसम खाएर पुष्पलाल श्रेष्टको नेतृत्वमा ९ वैशाख ०६ सालमा लेलिन जन्म जयन्तीको अवसर पारेर ५ जना युवाहरूको उपस्थितिमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।
९ वैशाख, २०७५ साल अर्थात् अप्रिल २२ कम्युनिस्ट पार्टी स्थापना भएको ६८ वर्ष पूरा भएर ६९ वर्षमा प्रवेश गर्दै थियो । स्थापना कालको चेतनाको आधारमा विश्लेषण गर्ने हो भने मुलुकमा राजतन्त्रको विरुद्धमा निरंकुशताको विरुद्ध स्वतन्त्रता र स्वाधिनताको पक्षमा जनताको राजनीतिक, आर्थिक अधिकार र जिविकाको पक्षमा आवाज बुलन्द गर्नु थियो । आमूल परिवर्तन गर्नु थियो । माक्र्सवाद लेलिनवाद र माओत्सेतुङको शिक्षालाई मुलुकव्यापी बनाई जनचेतताको उभार ल्याउनु थियो ।
विचार, संगठन र संघर्षलाई संगठित र नेतृत्व प्रदान गर्नु थियो । सोही समयमा देशमा प्रजातन्त्रको स्थापनाको लागि गरिने आन्दोलन पनि संगठित हुँदै थियो । नेपाली जनताको बढ्दो जनचेतना र संगठित तागतको विरुद्धमा राणाशासनले विदेशी शक्तिसँगको सम्बन्धलाई कसिलो बनाउने र आन्तरिक रूपमा दमन गर्ने नीति अंगिकार गरेको थियो । मुलुकभित्र २००४ सालमा निरंकुश जहानियाँ शासनको विरुद्धमा लोकतान्त्रको पक्षमा आन्दोलन गर्ने नाममा नेपाली कांग्रेसमा युवाहरू संगठित हुँदै थिए ।
यस्ता आन्दोलनले नयाँ उभार मुलुकभित्र देखिँदै थियो । त्यसमा पनि कम्युनिस्ट चेतनाको साथ स्थापना भएको कम्युनिस्ट पार्टीले विचार संगठन र संघर्षमा उचाई प्राप्त गर्दै जनवादी नेपालको स्थापना प्रमुख लक्ष्यका साथ नेतृत्व गरिरहेको थियो ।
यति नै बेला भारतले स्वतन्त्रता प्राप्त गर्नु ।
चीनमा मुक्ति आन्दोलनले विजय हासिल गर्नु र देशभित्र राजनीतिक स्वतन्त्रता, प्रजातन्त्रको जिविकाको लागि राणा विरोधी आन्दोलनले एकपछि अर्काे संगठित आधार तयार हुनु राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति क्रमस अनुकुल हुँदै जानुले नेपालका राजा र राणाको सत्तामा आन्तरिक असन्तुष्टी बढ्नु, नेपाली कांग्रेसमा संगठित युवाहरूको सशस्त्र आन्दोलनको आह्वान गर्नेजस्ता आधारभूत कारणले नेपालको परिवर्ननको उभारले उचाई प्राप्त गर्दै थियो ।
स्थितिअनुकुल बन्दै थियो । जनताहरू राणाशाहीको विरुद्धमा शान्तिपूर्ण र सशस्त्र संघर्षले उचाइ प्राप्त गरेको बेलामा राजा त्रिभुवनले सपरिवार राणाको विरुद्धमा राजकाज छोडेर डिल्ली प्रस्थान गरेपछि नेपालको आन्तरिक सत्तामा चरम संकट पैदा गर्यो । राणाहरू धर्मराए । भारत जानबाट छुटेको बालक ज्ञानेन्द्रलाई श्री ५ कायम गरी राजा त्रिभुवनलाई गद्दीच्यूत गरेको घोषणा गर्यो । राणाहरूले राजकाज चलाउने धृष्टता गरे, त्यसले झन् अन्दोलनको लागि नयाँ उर्जा प्राप्त गर्यो ।
आन्दोलनकारीहरूले राजा त्रिभुवन र भारतीय सहयोगसमेत पाउने स्थिति बन्यो । आन्दोलनको नेतृत्व नेपाली कांग्रेसको मुठ्ठीमा गयो । नेपाली कांग्रेसको नेता बिपीको वैचारिक सामिप्यता भारतीय समाजवादी आन्दोलनको पक्षधर भारतीय कांग्रेस पार्टीको नजिक थियो । उसलाई पनि छिमेकी राष्ट्र नेपालमा आफूअनुकुल सरकार चाहिने र ब्रिटिसहरूले प्राप्त गरेको विशेषाधिकार आफ्नो हातमा लिन चाहन्थ्यो ।
राणहरूको सत्ताको स्रोत ब्रिटिस सामज्यवादीको समर्थनमा थियो । त्यसैले भरखरै स्वाधिन भएको भारत छिमेकमा आफ्नो वैचारिक नेतृत्व स्थापना गर्न चाहन्थ्यो । त्यसैले, कमजोर भएका राणा र शरणमा आएका राजा र भारतीय लोकतान्त्रिक आन्दोलनबाट दिक्षीत कांग्रेसलाई एक ठाउँमा ल्याउन भारतीय शासक गुटलाई कुनै अप्ठेरो भएन ।
त्यसमा पनि १०३ वर्षीय राणाशासनको अन्त्यको हुटहुँटी र कांग्रेसको छिट्टै सत्तासिन हुने महत्वाकांक्षालाई राम्ररी बुझेको र ढिलो गरे आन्दोलनको नेतृत्व कम्युनिस्टहरूमा जानसक्ने खतरा समेतलाई दृष्टिगत गरी दिल्लीमा राजा, राणा र कांग्रेसको त्रिपक्षीय वार्तामा भारतले राखेको प्रस्तावलाई स्वीकार गर्न लगाई सन् १९५०को असमान सन्धीसहित नेपालमा जहानियाँ राणा शासनको अन्त्य गरेको घोषणा गर्दै त्रिपक्षीय सम्झौताको सरकार निर्माण गरी राणा शासनको अन्त्य गरियो ।
००७ सालमा प्रजातन्त्र आएको घोषणा गरिएको थियो । भर्खर स्थापना भएको कम्युनिस्ट पार्टीले भारतमा भएको त्रिपक्षीय दिल्ली सम्झौताको विरोध गर्यो । नेपालमा आमूल परिवर्तनको नारासहित आन्दोलन जारी राख्ने नेपाली शोषित पीडित जनतालाई आह्वान गर्यो । दिल्ली सम्झौता भारतपरस्त्र भन्दै नेपालका नयाँ शासक र शासनको विरुद्ध आन्दोलनमा लाग्ने र मुक्ति प्राप्त नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गर्यो ।
भर्खरै स्थापना भएको कम्युनिस्ट पार्टीले एकैचोटी सामन्तवादी दलाल नोकरशाही पुँजीवादी, भारतीय विस्तारवादी र साम्राज्यवादी तागतविरुद्ध एकैचोटी लड्नुपर्ने नयाँ परिस्थितिको सिर्जना भयो । सबै प्रतिकुलता र दमनको बाबजुद नेपाल कम्युनिस्ट पार्टीले नयाँ आन्दोलनको दृष्टिकोणसहित संघर्ष जारी राख्यो । ठूला ठूला विरोधका कार्यक्रम देशव्यापी सञ्चालन गर्यो । जनता दिल्ली सम्झौता र भारतको विरुद्धमा मुलकव्यापी आन्दोलित भए ।
घरेलु प्रतिक्रियावादीहरूको संयुक्त नेतृत्वले आन्दोलनलाई दमन गर्न नसकिने भएपछि भारतीय सेना नेपालमा भित्र्याउने र नेपाली जनतामाथि दमन गर्ने भारतीय योजनालाई तत्कालिन सरकारले लाहाछाप लगायो । सत्तामा भारतीय पकड मजबुत राख्ने योजनाका साथ भारतीय सेना नेपालमा जुनसुकै नाममा भए पनि प्रवेश गराइयो । ००८ सालमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइयो ।
राणाको ठाउँमा राजशाहीको सत्तामा हात बलियो बनाउन नेपाली कांग्रेस भारतीय इशारा र राजाको सल्लाहमा चल्ने पार्टी बन्यो । कम्युनिस्ट पार्टीले स्थापनाको दुई वर्षमा नै नेपालको परिर्वतनको आन्दोलन र राष्ट्रिय सार्वभौमिकता र स्वतन्त्रता लोकतन्त्र र जीविकाको लागि आन्दोलनको नेतृत्वसहित नयाँ उचाइ प्राप्त गर्यो । आज कम्युनिस्ट पार्टीको स्थापना भएको ६९ वर्ष भएको छ ।
कम्युनिस्ट आन्दोलनको ७ दशको इतिहासमा नेपालको राजनीतिक सत्ता परिवर्तनको साथै आर्थिक सामाजिक परिवर्तनमा ठूलो योगदान छ । सामन्ती निरंकुशताको अन्त्यको लागि निर्णायक आन्दोलन गर्दै कतिपय अवस्थामा नेपाली कांग्रेससँग पनि सहकार्य र संयुक्त मोर्चा निमार्ण गरी प्रमुख शत्रुका विरुद्ध आन्दोलन केन्द्रित गर्न संयुक्तमोर्चा निमार्ण गरी आन्दोलन सफल भएका थुप्रै उदाहरण छन् ।
त्यसमध्यको सफल संयुक्त आन्दोलन ०४६ को पञ्चायतलाई ढाल्ने आन्दोलन र ०६२÷६३को राजतन्त्रलाई ढाल्ने आन्दोलन हुन । यो संयुक्त आन्दोलनको परिणति र शान्तिपूर्ण आन्दोलनको उपलब्धी थियो । तथापी माओवादीहरूले ०५२ देखि सशस्त्र जनयुद्ध पनि सञ्चालन गरेका थिए । तर आन्दोलनको सफलतामा पुग्नको लागि उनीहरूले हतियार बिसायर शान्तिपूर्ण आन्दोलनमा आउनुपरेको थियो ।
शान्तिपूर्ण जनआन्दोलनको विकास र सफलता कमरेड मदन भण्डारीले अगाडि सारेको जनताको बहुदलीय जनवादी सिद्धान्त थियो । यहि सिद्धान्तको आधारमा ०६२÷६३ को शान्तिपूर्ण जनआन्दोलन संविधान सभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बन्न सफल भयो । अहिले संविधान कार्यान्वयनको क्रममा तीनै तहको निर्वाचन सम्पन्न भई सात प्रदेशमध्ये ६ वटा प्रदेशका कम्युनिस्टको नेतृत्वमा सरकार बनेको छ भने केन्द्रमा पनि दुई तिहाइको समर्थनमा कम्युनिस्टको सरकार बनेको छ ।
नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त वाम गठबन्धन अहिले पार्टी एकताको चरणमा छ । बिडम्वना पार्टी एकताको संघारमा रहेका नेकपा एमाले र माओवादी केन्द्रको लेलिन जयन्ती तथा पार्टी स्थापना दिवको अवसरमा पार्टी एकता संयोजन समितिद्वारा आयोजित ९ वैशाखको राष्ट्रिय सभागृहको कार्यक्रम वामपन्थी आन्दोलनको इतिहासमा र एकताको अभियानमा नकारात्मक सन्देश प्रवाह गरेको छ । कम्युनिस्टहरू संगठन र संघर्ष गर्न सक्छन् । परिवर्तन र संघर्षका लागि एक पनि हुन सक्छन् ।
तर उपलब्धिको रक्षा त्यसको विकास र संवद्र्धन गर्न असक्षम छन भन्ने जनताको भनाइलाई बल पुर्याएको छ । शत्रुहरू खुसी भएका छन् । सामान्य व्यवहारिक त्रुटीहरूलाई सहन नसक्ने चेत अहिले पनि प्रकटरूपमा देखिएको छ । यसलाई आत्मसमीक्षा गरी कम्युनिस्ट आन्दोलनको वस्तुनिष्ठ समालोचना गर्दै उपलब्धी रक्षाको लागि पूर्वाग्रह छोडेर अगाडि बढ्नुभन्दा अर्काे विकल्प जनताले एमाले र माओवादी केन्द्रलाई दिएका छैनन् र यो सुविधा पाउँदैनन् पनि ।
त्यसैले २१ औँ शताब्दीको विश्व कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नुपर्ने चेतका साथ नेपाली कम्युस्टिहरूले शान्तिपूर्ण परिवर्तनको सिद्धान्तलाई संस्थागत गर्नुपर्दछ । जनताको सत्ता प्राप्ति सशस्त्र संघर्षबाट मात्र हुन्छ भन्ने मान्यतालाई नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासले खण्डित गरेको छ । शान्तिपूर्ण जनआन्दोलनको सिद्धान्तलाई स्थापित गरेको छ । सदनमार्फत कम्युनिस्टहरूले संविधान संशोधन गरी शोषित पीडित सर्वहारा जनताको नेतृत्वमा शासन सत्तालाई बलियो बनाउँदै जान सक्ने अवसर प्राप्त गरेको छ ।
त्यसको लागि यतिखेर कम्युनिस्ट सरकारले समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा अगाडि सारेको छ । यो नारालाई सफल बनाउन तत्कालै पार्टी एकता गरी घोषित कार्यक्रमलाई सफल बनाउन सके कम्युनिस्ट आन्दोलन र सहिदप्रतिको सम्मान र कमरेड पुष्पलाल र लेलिनप्रतिकोे सच्चा श्रद्धाञ्जली हुने छ । नेपाली जनताको मुलुकमा कम्युनिस्ट पार्टीको सत्तामार्फत सामाजिक न्याय प्राप्त हुने युगीन सपना साकार हुनेछ ।
प्रतिक्रिया